‘थ्री इडियट्स’को सिक्वेल बन्ने पक्का, फेरि देखिनेछ आमिर, माधवन र शरमनको जोडी
एजेन्सी : बलिउडको चर्चित फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने भएको छ। यस फिल्ममा आमिर खान, करिना कपुर खान, आर. माधवन र शरमन जोशी पुनः एकसाथ पर्दामा देखिनेछन्।
फिल्मको निर्देशन राजकुमार हिरानीले नै गर्नेछन् भने विधु विनोद चोपडा, राजकुमार हिरानी र आमिर खान मिलेर यसको निर्माण गर्ने पिंकभिल्लाको रिपोर्टमा उल्लेख छ।
रिपोर्टका अनुसार, ‘थ्री इडियट्स २’को सुटिङ सन् २०२६ को मध्यतिर सुरू हुनेछ। फिल्मको स्क्रिप्ट फाइनल भइसकेको समाचारमा उल्लेख गरिएको छ।
फिल्मको कथा जहाँ पहिलो भाग सकिएको थियो, त्यहीँबाट अगाडि बढ्नेछ। करिब १५ वर्षपछि पुराना साथीहरू फेरि भेट्नेछन् र एउटा नयाँ रोमाञ्चक यात्रा सुरु गर्नेछन्।
पहिलो फिल्ममा आमिर खानले ‘रान्चो’, आर. माधवनले ‘फरहान’ र शरमन जोशीले ‘राजु’को भूमिका निभाएका थिए।
रिपोर्टका अनुसार, निर्देशक राजकुमार हिरानी लामो समयदेखि यसको सिक्वेल बनाउने सोचमा थिए, तर उनले भर्खरै मात्र यसमा गम्भीर भएर काम सुरू गरेका हुन्।
हिरानी पहिलो फिल्मको स्तर र इज्जत जोगाउन सक्ने दमदार कथा नभेटेसम्म सिक्वेल बनाउन चाहँदैनथे। अहिले उनले चित्तबुझ्दो कथा तयार पारेका छन्।
यसैबीच, आमिर खान र राजकुमार हिरानीले दादा साहेब फाल्केमा आधारित बायोपिक फिल्म बनाउने योजनालाई हालका लागि रोकेका छन्। त्यसको स्क्रिप्टमा सन्तुष्ट नभएकाले उनीहरूले ‘थ्री इडियट्स’को सिक्वेललाई प्राथमिकता दिएका हुन्।
सन् २००९ मा रिलिज भएको ‘थ्री इडियट्स’ बक्स अफिसमा सुपरहिट भएको थियो। करिब ५५ करोडको बजेटमा बनेको यो फिल्मले विश्वभरबाट करिब ४०० करोड भारु कमाएको थियो।
मंसिर २४, २०८२ बुधबार १३:२४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।