फिल्मी बजारमा ‘इमोसनल फेमेली ड्रामा’ को लहर, ‘पूर्ण बहादुर’ र ‘परान’को ट्रेन्ड पछ्याउँदै ‘मिरमिरे’

फिल्मी बजारमा ‘इमोसनल फेमेली ड्रामा’ को लहर, ‘पूर्ण बहादुर’ र ‘परान’को ट्रेन्ड पछ्याउँदै ‘मिरमिरे’

काठमाडौं : नेपाली चलचित्र बजारमा अहिले ‘इमोसनल फेमेली ड्रामा’ को लहर चलेको छ।

बाबु-छोराको सम्बन्ध र संवेदनालाई केन्द्रमा राखेर निर्माण भएका ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हात पारे।

‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपालबाट मात्रै झण्डै ५० करोडको ग्रस कलेक्सन गर्दै रेकर्ड बनायो भने ‘परान’ले पनि परदेशिने छोरा र गाउँको बाबुको कथा देखाएर १९ करोडको कलेक्सन गरिसकेको छ।

यही इमोसनल ट्रेन्डलाई पछ्याउँदै अब अर्को चलचित्र ‘मिरमिरे’ दर्शकमाझ आउने तयारीमा छ। तर, यसपटक कथा बाबु-छोराको होइन, बाबु-छोरीको हो।

माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मिरमिरे’ले आमाले छाडेर गएपछि एक्लो बाबुले छोरी हुर्काउन गरेको संघर्षको कथा बोकेको छ।

सानी छोरीको स्याहारसुसार, स्कुल, घरधन्दा र आफ्नो जागिर- यी सबै जिम्मेवारीको चेपुवामा परेको एक बाबुको कर्तव्य र त्यागलाई चलचित्रले मूल विषय बनाएको छ।

निर्माण पक्षका अनुसार सन्तानप्रतिको अभिभावकको प्रेम र त्याग नै यो चलचित्रको मुख्य अस्त्र हो। दर्शकले ‘पूर्ण बहादुर’ र ‘परान’ मा बगाएको आँसु र दिएको प्रेम ‘मिरमिरे’ मा पनि दोहोरिनेमा निर्माण टिम विश्वस्त छ।

चलचित्रका निर्देशक यम शेर्पा भन्छन्, ‘हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ। त्यो माया र त्यागलाई पर्दामा कसरी उतार्ने भन्ने चुनौती हामीले स्वीकारेका छौँ। बाबुले छोरीका लागि गरेको त्याग हाम्रो चलचित्रको मर्म हो। यो हरेक घरको कथा भएकाले दर्शकले आफूलाई पात्रसँग जोड्न सक्नुहुनेछ।’

यार्सा फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल कलाकार शाइसा गौचन लगायतका कलाकारहरूको अभिनय यसमा देख्न सकिन्छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता तथा वितरक रोहित कट्टेल हुन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यो चलचित्रले माघे संक्रान्तिमा रिलिज गर्ने तयारी छ।

मंसिर २४, २०८२ बुधबार १२:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।