हार्दिकको आक्रामक ब्याटिङपछि बलर चम्किँदा भारतको फराकिलो जित, दक्षिण अफ्रिका १०१ रनले पराजित
एजेन्सी : अलराउन्डर हार्दिक पाण्ड्याको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा १०१ रनको फराकिलो जित हात पारेको छ।
मंगलबार राति कटकस्थित बाराबती स्टेडियममा भएको खेलमा भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १२.३ ओभरमै ७४ रनमा अलआउट भयो। यो जितसँगै ५ खेलको शृङ्खलामा भारतले १-० को अग्रता लिएको छ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो। भारतको सुरुवात राम्रो हुन सकेन। शुभमन गिल (४) र कप्तान सूर्यकुमार यादव (१२) सस्तैमा आउट भए।
तर, तल्लो क्रममा आएका हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। ‘प्लेयर अफ द म्याच’ घोषित पाण्ड्याले २८ बलमा ६ चौका र ४ छक्काको मद्दतमा अविजित ५९ रन बनाए। यस्तै, तिलक वर्माले २६ र अक्षर पटेलले २३ रनको योगदान दिए। अभिषेक शर्माले १७ रन जोडे।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले ३ विकेट लिए भने मार्को जानसेन र लुथो सिपाम्लाले विकेटविहीन रहे पनि कसिलो बलिङको प्रयास गरे।
जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिका भारतीय बलरसामु निरिह बन्यो। टोलीका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक २२ रन बनाए भने ट्रिस्टन स्टब्स र एडेन मार्करामले समान १४-१४ रन जोडे।
अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क छुन सकेनन्। डेभिड मिलर १ रन र क्विन्टन डि कक शून्यमै आउट भए।
भारतका लागि अर्शदीप सिंह, जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २-२ विकेट लिए। हार्दिक पाण्ड्या र शिवम दुबेले १-१ विकेट हात पारे।
जितसँगै सिरिजमा भारत १-० ले अगाडि छ।
मंसिर २४, २०८२ बुधबार ०८:१२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।