एनपीएल एलिमिनेटर : अस्तित्व रक्षाका लागि काठमाडौं र लुम्बिनी भिड्दै, हार्ने टोली बाहिरिने

एनपीएल एलिमिनेटर : अस्तित्व रक्षाका लागि काठमाडौं र लुम्बिनी भिड्दै, हार्ने टोली बाहिरिने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटरको रोमाञ्चक भिडन्त हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने यो खेल आज अपराह्न ४ः०० बजे सुरु हुनेछ।

लिग चरणको समाप्तिमा काठमाडौं गोर्खाज तेस्रो र लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्।

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि दोस्रो मौकाको पर्खाइमा छ। पराजित हुने टोलीको भने उपाधि यात्रा आजैबाट टुंगिनेछ।

जारी सिजनको लिग चरणमा भएको भेटमा काठमाडौं गोर्खाजले लुम्बिनीमाथि दबाब बनाएको थियो।

गत नोभेम्बर २५ मा भएको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। विगत हेर्दा पछिल्ला दुई भेटमा काठमाडौंले नै जित हात पारेको छ।

लुम्बिनी लायन्सको मुख्य भरोसा कप्तान रोहित पौडेलमाथि छ। जारी लिगमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरिरहेका पौडेलले १० खेलमा ३०६ रन बनाउनुका साथै ९ विकेट लिएका छन्।

यस्तै, डार्सी सर्ट र बलर शेर मल्ल लुम्बिनीका लागि ‘ट्रम्प कार्ड’ साबित हुन सक्छन्।

काठमाडौंको बलिङ पक्ष निकै बलियो देखिएको छ। करण केसीले १० खेलमा १८ विकेट लिँदै विपक्षी ब्याटरहरूलाई हम्मे-हम्मे पारेका छन् भने साहब आलमले १४ विकेट लिएका छन्।

ब्याटिङतर्फ जोन सिम्पसन र जेरहार्ड इरास्मस लयमा छन्।

पछिल्ला ५ खेलको नतिजा हेर्दा काठमाडौं गोर्खाजले ४ जित र १ हार व्यहोरेको छ। उता लुम्बिनी लायन्स पनि आफ्नो जितको लय कायमै राख्न चाहन्छ।

डे-नाइट फर्म्याटमा हुने खेलमा टस र शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।

मंसिर २४, २०८२ बुधबार ०७:३६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।