एनपिएलमा म्याच फिक्सिङको जालो : जनकपुर बोल्ट्सका खेलाडीलाई लोभ्याउन युवतीको प्रयोग, दुसित होटल लबीमा ५ करोडको अफर

एनपिएलमा म्याच फिक्सिङको जालो : जनकपुर बोल्ट्सका खेलाडीलाई लोभ्याउन युवतीको प्रयोग, दुसित होटल लबीमा ५ करोडको अफर
यो एआइबाट बनाइएको काल्पनिक तस्बिर हो।

काठमाडौं : नेपाल प्रिमियर लिगका खेलहरूमा म्याच फिक्सिङ गराउन भारतबाट नेपाल आएका दुई जनाले जनकपुर बोल्ट्सका एक खेलाडीसँग होटल दुसित्मा मिटिङ गरेर म्याच फिक्सिङको अफर गरेको खुलेको छ। प्रहरीले प्रारम्भमा एक नो बलबापत एक करोडको अफर गरेको दाबी गरेको थियो। तर बयानमा नो बल नभई रन आउट हुनुपर्ने र प्रस्ताव पाँच करोडसम्मको रहेको उल्लेख छ।

जनकपुर बोल्ट्स एनपीएल सिजन १ को विजेता टोली हो। तर दोस्रो सिजनमा लिग चरणको सबैभन्दा अन्तिममा परेर बाहिरिसकेको छ।

जिल्ला अदालत काठमाडौँमा दर्ता भएको अभियोग पत्र अनुसार एनपीएलका खेलहरूमा म्याच फिक्स गराएर बेटिङ साइटमा जुवा खेल्ने रणनीति अनुसार नेपाल आएका भारतीय नागरिक दिलप्रित सिंह र नेपाली युवती रेविका सिंह ठकुरी मिलेर म्याच फिक्सिङ गराउन जनकपुर बोल्ट्सका एक खेलाडीसँग मिटिङ गरेर एक करोड अफर गरेको उल्लेख छ।

अभियोग पत्रमा उल्लेख भएअनुसार प्रारम्भमा उनीहरूले टीयू क्रिकेट मैदानमा गएर जनकपुर बोल्ट्सको खेल हेरेका थिए। उनीहरूले खेल हेरेपछि एक खेलाडीको चयन गरेर उनीसँग इन्स्टाग्रामबाट सम्बन्ध बनाएका थिए। सिंहले ती खेलाडीसँग सम्बन्ध बनाउन रेविकाको प्रयोग गरेका थिए। रेविकामार्फत ती खेलाडी सम्पर्कमा आएपछि प्रारम्भमा स्पोन्सरसिपबारे कुरा गर्ने भनेर प्रस्ताव गरेको र ती खेलाडी राजी भएपछि होटल दुसितको लबीमा भेटेर छलफल गरेको सिंहले बयानमा खुलाएका छन्।

सिंहका अनुसार उनीहरूले प्रारम्भमा ती खेलाडीलाई आफूहरूले भनेअनुसार रनआउट भएमा पाँच लाख रकम दिने प्रस्ताव गरेको तर उनले अस्वीकार गरेपछि एक करोडसम्म अफर गरेको खुलाएका छन्।

"हामीले भने अनुसार खेलाडी रनआउट भएमा सो बलमा अनलाइन बेटिङ साइटमा बाजी थाप्ने र त्यसवापत आउने रकमबाटै खेलाडीलाई पैसा दिने योजना बनाएका थियौँ," उनले बयानमा खुलाएका छन्, "त्यही रणनीति अनुसार रेविकाले खेलाडीसँग मिटिङ मिलाएपछि होटलको लबीमा बसेर छलफल गर्यौँ। तर ती खेलाडीले मानेनन्।"

बयानमा उल्लेख भएअनुसार सिंहले जुन बलमा रन आउट हुने हो त्यसको पूर्व सङ्केत दिनुपर्ने सर्त राखिएको थियो। तर ती खेलाडीले उनीहरूको सर्त अस्वीकार गरे। पाँच करोडसम्म दिन राजी भए पनि ती खेलाडीले स्वीकार नगरेको सिंहको बयानमा उल्लेख छ।

रेविका नेपालमा कक्षा १० सम्म पढेपछि भारतको चण्डीगढमा रहेकी दिदीको घरमा बस्न गएकी थिइन्। उनी भारतमा फार्मेसीमा काम गर्थिन्। भारत बसाइँकै क्रममा सिंहसँग एक परिचितमार्फत एक वर्ष अगाडि भेट भएको र उनले अनलाइन बेटिङबाट राम्रो आम्दानी हुने भनेर सिकाएको उनले बयानमा खुलाएकी छिन्। भारतमा बस्दा अनलाइन बेटिङमा केही रकम लगानी गरेको र नेपालमा एनपीएल हुने थाहा पाएपछि नेपाल आएर खेलाडीमार्फत म्याच फिक्स गराएर अनलाइन बेटिङमार्फत कमाइ गर्न नेपाल आएको उनको बयानमा उल्लेख छ।

उनले जनकपुर बोल्ट्सका ती खेलाडीको इन्स्टाग्राममा कात्तिक ३० मा 'के तिम्रो सम्पर्क नम्बर पठाउन सक्छौँ?' भन्दै सन्देश पठाएकी थिइन्। त्यसपछि उनले 'के हामी भेट्न सक्छौँ? हामी दुवैलाई फाइदा हुने प्रस्ताव छ' भनेर दोस्रो मेसेज पठाएकी थिइन्। उनको मेसेजको उत्तरमा ती खेलाडीले 'कस्तो प्रकारको स्पोन्सर हो?' भनेर सन्देश पठाए। पछि उनीहरू होटलमा भेट्न राजी भएको देखिन्छ। उनीहरूबीच मङ्सिर २ मा होटलमा भेट भएको थियो।

तर खेलाडीले प्रहरीलाई खबर गरिदिए

होटलको लबीमा भेट भएपछि सिंहले ती खेलाडीलाई आफू पनि भारतमा क्रिकेट खेलेको खेलाडी भन्दै परिचय दिएका थिए। प्रारम्भमा उनीहरूबीच एनपीएलबारे छलफल भएको थियो। विस्तारै सिंहले आफूले भनेअनुसार खेलेमा एक करोडदेखि पाँच करोडसम्म रकम दिनसक्ने भनेर लोभ्याउने प्रयास गरेका थिए।

उनले ती खेलाडीलाई रन आउट हुन प्रस्ताव गर्दै कसरी रन आउट हुने भनेर समेत सिकाएका थिए। उनले आफूहरू दर्शकदीर्घामा हुने र आफूखुसी रन आउट हुनु अगाडि सङ्केत दिनुपर्ने सर्त राखेका थिए। ती खेलाडीले आफूलाई स्पोन्सर भनेर प्रस्ताव राखेको र कस्तो खालको स्पोन्सर हो भन्ने बुझ्न भेट्न राजी भए पनि पछि उनीहरूले आफूखुसी रन आउट हुने प्रस्ताव राखेपछि अस्वीकार गरेर प्रहरीलाई जानकारी गराएको बयानमा खुलाएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिन अगाडि गरेको पत्रकार सम्मेलनमा पक्राउ परेका दुवै जनाको सम्बन्ध भारत र क्यानडामा रहेका अनलाइन सट्टा गराउने समूहसँग देखिएको दाबी गरेका थिए। तर अभियोग पत्रमा यसबारे कुनै विवरण उल्लेख छैन।

मंसिर २३, २०८२ मंगलबार २१:२८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।