शहीदको सम्झनामा दीप प्रज्वलन, बलिदान खेर जान नदिने प्रतिबद्धता

शहीदको सम्झनामा दीप प्रज्वलन, बलिदान खेर जान नदिने प्रतिबद्धता

काठमाडौं : जेनजी आन्दोलनको तीन महिना पूरा भएको अवसरमा आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा मंगलबार दीप प्रज्वलन गरिएको छ। शहीद परिवारले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि दीप प्रज्वलन गरी शहीदहरूको सम्झना गरेका हुन्। 

दीप प्रज्वलन कार्यक्रममा सहभागी भई गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। वर्तमान सरकार शहीदको सम्मान र न्यायका लागि पूर्णरूपमा संवेदनशील उल्लेख गर्दै उनले वर्तमान सरकारलाई आशंका नगर्न आग्रह गरे।

उनले भने, 'गृह मन्त्रालयको गेटमा, गृहमन्त्रीको कार्यकक्ष र प्रधानमन्त्री कार्यालयमा शहीदहरूको नामावली राखेका छौं। सबै जिप्रकामा तीन दिन भित्र सम्पूर्ण सहिदको नामावली राख्न निर्देशन दिएका छौं।' मन्त्री अर्यालले शहीदहरूको सम्मानमा सालिक निर्माणको तयारी समेत भइरहेको जानकारी दिए।

आन्दोलनका क्रममा दमन गर्ने र दोषी ठहरिनेहरूलाई कारबाहीको दायरामा ल्याउन सरकार कठोर रूपमा प्रस्तुत हुने उनले स्पष्ट पारे। दोषीलाई उम्किन नदिने चेतावनी दिँदै भने, 'दोषीलाई व्यवस्थितरुपमा कारबाही गर्छौं। नेपालको कानुन र आवश्यक परे अन्तर्राष्ट्रिय कानुनअनुसार पनि कारबाही गर्छौं।'  

मंसिर २३, २०८२ मंगलबार २०:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।