एनपिएलमा जुवा खेलाएको आरोपमा नौ भारतीय विरुद्ध मुद्धा, मैदानमा जुवा प्रचार गर्ने क्यान उन्मुक्त
काठमाडौं : नेपाल प्रिमियर लिगको खेलमा आधारित भएर १७ लाख बराबरको अनलाइन जुवा खेलाएको दाबी गर्दै नौ जना भारतीय नागरिक विरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
भारतबाट नेपाल आएर सामाखुसीमा बसेर एनपिएलको खेल भएको समयमा मैदानमा गएर अनलाइन जुवा खेल्ने र खेलाउने काम गरेको आरोपमा प्रहरीले राजा यदुला, महेशबाबु लगायत नौ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।
प्रहरी अनुसन्धानमा उनीहरूले एनपिएलमा आधारित अनलाइन जुवा खेलाउन प्रतिव्यक्ति नौ हजारको टिकट किनेर टीयू क्रिकेट मैदानमा गएर एनपिएलमा आधारित अनलाइन जुवा खेल्ने र खेलाउने काम गरेको अभियोग पत्रमा दाबी गरिएको छ।
पक्राउ परेका अभियुक्तहरूले बयानमा आफू भारतमा हुँदा विभिन्न अनलाइन बेटिङ साइटमा जुवा खेल्ने गरेको र नेपाल आएको बेलामा एनपिएल भइरहेको थाहा पाएपछि नियमित टिकट नपाएर नौ हजारको सिजनल पास किनेर मैदानमा खेल हेर्न गएको दाबी गरेका छन्।
उनीहरूले भारतमा अनलाइन जुवा वैध रहेको तर नेपालमा अवैध रहेकोबारे आफूहरूलाई कुनै जानकारी नभएको दाबी गरेका छन्।
यता प्रहरीले एनपिएलमा आधारित जुवा खेलेको अनि खेलाएको भन्दै पक्राउ परेका ब्यक्तीहरुविद्ध अदालतमा मुद्दा दायर भए पनि एनपिएलको आयोजक क्रिकेट एसोसिएसन अफ नेपालले मैदानमा भने डाफान्युजको आवरणमा डाफाबेटको प्रचार गरिरहेको छ।
सरोगेट विज्ञापनमार्फत अनलाइन जुवाको प्रवर्धन गरेको भन्दै विज्ञापन बोर्डले स्पष्टीकरण सोधेर हटाउन निर्देशन दिए पनि आयोजकले अस्वीकार गरेपछि सो विज्ञापन हटाउन र कारबाहीका लागि बोर्डले गृह मन्त्रालयमा पत्र पठाउने तयारी गरेको छ।
उकेराले एनपिएल सुरु भएदेखि नै क्रिकेटको लोकप्रिय मैदानको दुरुपयोग गर्दै क्यानले युवाहरूमाझ अनलाइन जुवाको प्रचार गरेकोबारे समाचार प्रकाशित गर्दै आए पनि नियामक निकायहरू भने निष्क्रिय बसे। एनपिएल लिग चरण सकिएर मंगलबारबाट क्वालिफायर सुरु भइसकेको छ। तर अनलाइन जुवा र रक्सीको सरोगेट विज्ञापनबारे नियामक निकायले कुनै कारबाही गरेको छैन।
मंसिर २३, २०८२ मंगलबार २०:०७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।