१३ करोडको भ्रष्टाचार मुद्दामा पुर्पक्ष, ८ अर्बमा पाँच लाख धरौटी
काठमाडौं : आठ अर्ब भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दर्ता भएको मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटी लिएर मुक्त गर्न आदेश दिएको छ। विशेषले यही मुद्दामा प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख धरौटी माग गरेको छ।
विशेषका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासमा मंगलबार भएको थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई धरौटीमा छाड्न आदेश आएको हो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको मुद्दाको थुनछेक बहस मंगलबारबाट सुरु भएको हो।
अधिकारी यस अगाडि दायर भएको भक्तपुरको नलिञ्चोकको हेलिपोर्टमा १३ करोड भ्रष्टाचार भएको दाबी सहित दर्ता भएको मुद्दामा विशेषको आदेशमा पुर्पक्षका लागि थुनामा छन्। उनी डिल्लीबजार कारागारमा छन्।
मंसिर २३, २०८२ मंगलबार १९:११:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।