एनपिएलको फाइनलमा पुग्न विराटनगरले पायो एक सय ५६ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई जितको लागि एक सय ५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर पश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो।
सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन्। त्यस्तै आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे। त्यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे।
यता बलिङ तर्फका विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एक एक विकेट लिए। यस खेल जित्ने टोली यही मङ्सिर २७ गते हुने फाइनल खेलमा प्रवेश गर्नेछ।
त्यस्तै पराजित हुने टोलीले भने इलिमिनेटर खेल्ने मौका पाउनेछ। विराटनगर अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
मंसिर २३, २०८२ मंगलबार १८:४२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।