फ्लप फिल्ममा खगेन्द्रको ‘ह्याट्रिक’, ‘हर्ष’ले पनि दियो धोका
काठमाडौं : अभिनेता खगेन्द्र लामिछाने अभिनयमा जति अब्बल मानिन्छन्, बक्स अफिसमा उनका फिल्मको नतिजा भने त्यति सुखद देखिँदैनन्। अभिनय कलाको तारिफ बटुले उनका फिल्मले दर्शक तान्न नसकेको देखिन्छ।
‘टलक जङ भर्सेस टुल्के’ र ‘पशुपति प्रसाद’ले उनलाई अभिनेताको रूपमा उचाइ त दियो, तर व्यावसायिक रूपमा उनका अधिकांश फिल्मले असफल रहे।
‘पानी फोटो’, ‘के घर के डेरा : घर नम्बर २’, ‘धनपति’, ‘जय भोले’ र ‘डमरुको डण्डी बियो’ जस्ता फिल्मले लगानी पनि सुरक्षित गर्न सकेनन्। ‘टलक जङ’ र ‘पशुपति प्रसाद’मा उनको कामको तारिफ भए पनि बाँकी फिल्म दर्शकको नोटिसमा समेत परेनन्, टिकट काट्ने त परको कुरा भयो।
यही मंसिर १२ गतेबाट प्रदर्शनमा आएको उनको पछिल्लो फिल्म ‘हर्ष’को नियति पनि फरक रहेन। फिल्म हलमा लाग्यो र उत्रियो, तर आम दर्शकले पत्तै पाएनन्। सञ्चारमाध्यममा ‘फिल्म रिलिज भयो’ भन्ने औपचारिकता बाहेक हलमा दर्शकको उपस्थिति शून्य प्रायः रह्यो। निर्माता तथा निर्देशकले समाचार आएकोमा चित्त बुझाउनु बाहेक फिल्मले कुनै हलचल ल्याउन सकेन।
हुन त, फिल्म असफल हुनुमा प्रचारप्रसारको कमी पनि प्रमुख कारण देखिन्छ। फिल्मको मुख्य भूमिकामा रहेका खगेन्द्र आफैँ प्रचारमा जसरी खटिनुपर्थ्यो, त्यो देखिएन। रिलिजको सङ्घारमा उनी आफ्नो फिल्म चलाउनु भन्दा चलचित्र निर्माता संघको चुनाव जित्ने ध्याउन्नमा थिए। अन्ततः उनी निर्माता संघको चुनाव त जिते, तर आफ्नै फिल्मलाई भने जिताउन सकेनन्।
‘हर्ष’ खगेन्द्र र वर्षा राउतका असफल फिल्महरूको सूचिमा थपिने अर्को नाम मात्र बन्यो। सोमबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले जम्मा २८ लाख ग्रस कलेक्सन गरेको छ। यो नतिजासँगै खगेन्द्रको फिल्मोग्राफीमा ‘फ्लप फिल्मको ह्याट्रिक’ पूरा भएको छ। ‘पानी फोटो’ देखि ‘हर्ष’ सम्म आइपुग्दा जसरी उनका फिल्महरू लगातार चिप्लिइरहेका छन्, यसले अब आउने उनका फिल्महरूको भविष्यमाथि पनि प्रश्न चिह्न खडा हुन सक्छ।
मंसिर २३, २०८२ मंगलबार १८:२९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।