स्क्रिप्ट छनोटमा चुक्दै आर्यन, लगातारको फ्लपपछि ‘झिँगे दाउ २’को आस

स्क्रिप्ट छनोटमा चुक्दै आर्यन, लगातारको फ्लपपछि ‘झिँगे दाउ २’को आस

काठमाडौं : कतिपय नेपाली कलाकारहरू आफूलाई अरूभन्दा अब्बल ठान्छन्। तर, अभिनय सिक्ने हुटहुटी उनीहरूमा देखिँदैन। यही उनीहरूको ठूलो समस्या हो। अभिनयमा विविधता खोज्नुको सट्टा एउटै ढर्रा पछ्याएर बारम्बार फिल्म पाइरहूँ भन्ने सोच उनीहरूमा हाबी देखिन्छ। कतिपयले त आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने हेक्का समेत राख्दैनन्। फिल्म चल्यो भने पारिश्रमिक ह्वात्तै बढाएर ३५-४० लाखको डिमाण्ड गर्ने, चलेन भने एक सिन होस् वा जे भूमिका आउँछ, त्यही स्वीकार्ने प्रवृत्ति देखिन्छ।

अभिनेता आर्यन सिग्देलमा यो कुरा अलि बढी नै लागू भएको पाइन्छ। ‘चकलेटी हिरो’को रूपमा परिचित अभिनेता सिग्देलको पछिल्लो फिल्मी यात्रा उकालो लाग्न सकेको छैन। डेब्यु फिल्म ‘किस्मत’बाटै उनको चर्चा चुलिएको थियो। रेखा थापाको अपोजिटमा अभिनय गर्दा उनको चर्चा मात्र बढेन, एकपछि अर्को लगातार फिल्ममा काम गर्ने अवसर पनि मिल्यो।

फिल्म ‘मौसम’, ‘मेरो एउटा साथी छ’ हुँदै दोहोरो भूमिका रहेको फिल्म ‘होमवर्क’सम्म आइपुग्दा उनले दर्जनौं फिल्ममा अभिनय गरिसकेका थिए। तर, ‘होमवर्क’मा दोहोरो भूमिकामा आफूलाई उभ्याउन खोज्दा उनी नराम्ररी पछारिए। त्यसपछि उनी उठ्नै सकेका छैनन् भन्दा फरक पर्दैन। यो फिल्म हलमा लाग्दासम्म नेपाली सिनेमामा रङ्गमञ्च (थिएटर) का कलाकारहरूले डेरा जमाइसकेका थिए। सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीदेखि निश्चल बस्नेतसम्मको पकडमा नेपाली सिनेमा गइसकेको थियो। दर्शकले आर्यनका परम्परागत फिल्म हेर्न छाडिसकेका थिए।

‘होमवर्क’ ले नराम्ररी पछारेपछि उनी केही समय मौन बसे र पछि ‘डिसेम्बर फल्स’मार्फत फर्किए। करिब ४ वर्षअघि निर्माण भएको यो फिल्मबाट उनको ‘कमब्याक’ हुने अनुमान थियो। तर, अन्ततः यो फिल्मले उनको ओरालो झरेको ग्राफलाई उकालो चढाउन सकेन, बरु झन् तल पुर्यायो। उक्त फिल्मले आर्यनलाई मात्र होइन, निर्मातालाई पनि ठूलो घाटा लगायो।

यद्यपि, उनले फिल्म ‘पुजार सार्की’मा अभिनय गर्ने मौका पाए, जहाँ उनको कामको प्रशंसा भयो। प्रदीप खड्का र पल शाहसँगै उनको भूमिकालाई दर्शकले रुचाए र फिल्मले राम्रै ग्रस कलेक्सन पनि गर्यो। यो फिल्मपछि उनले धमाधम केही फिल्ममा काम पाए।

तर, पछिल्लो समय उनी अभिनीत ‘कोशेढुङ्गा’ फेरि अर्को फ्लप साबित भयो। गाईफार्मको मालिक भएर पनि गोबर सोर्ने, दूध दुहुने र बेच्ने जस्ता भूमिकामा उनी देखिए। हिरोइनसँग रोमान्टिक भूमिकामा देखिँदै आएका उनी यसमा पनि कमजोर स्क्रिप्टका कारण चुके। आफ्नो भूमिका कस्तो छ भनेर चयन गर्न नजान्दा पछारिएका आर्यन माथि उठ्न संघर्षरत छन्। पछिल्लो समय उनलाई रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’का लागि पनि कुराकानी भएको थियो रे, तर कथा मन नपरेको भन्दै उनले अस्वीकार गरेको चर्चा छ।

अहिले अघिल्लो वर्षको हिट फिल्मको सूचीमा परेको ‘झिँगे दाउ’को सिक्वेल निर्माण थालिएको छ। यस फिल्मबाट आर्यन आफ्नो पुरानो दबदबा फर्काउने सोचमा रहेका छन्।

उनले मंगलबार बिहानै सामाजिक सञ्जालमा यस पटकको यात्रा अझ दह्रो, सफल र यादगार होस् भन्ने भाव व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘अब अर्को पाइला अगाडि बढेको छ। चलचित्र ‘झिँगे दाउ-२’का लागि प्रिय दाइ ज्ञानेन्द्र देउजासहित हामी सम्पूर्ण युनिटलाई हार्दिक शुभकामना। यस पटकको यात्रा अझ दह्रो, अझ सफल, अझ यादगार होस्।’

उनले भनेझैँ यो फिल्म चल्यो र दर्शकमाझ उनी पुरानै लयमा फर्किए भने त ठिकै छ। तर, फर्किएनन् भने उनी के गर्लान्? त्यसको जवाफ त फिल्म हलमा लागेपछि नै थाहा होला नि, होइन र ?

मंसिर २३, २०८२ मंगलबार १७:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।