विराटनगरले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेर अघि भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिए।
मंगलबारको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ। प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुनेछ। साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। अहिले एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच भिड्नेछन्।
पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्। लिग चरणको खेलमा सुदूरपश्चिमले खेलेको सातमध्ये ६ खेलमा जित तथा एक खेलमा पराजय भोगेको थियो। त्यस्तै समान सात खेल नै खेलेको विराटनगरले पाँच खेल जित हासिल गरेको थियो।
मंसिर २३, २०८२ मंगलबार १६:३६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।