नख्खुमा लागेको 'वैकल्पिक'को लर्को

नख्खुमा लागेको 'वैकल्पिक'को लर्को

काठमाडौं : जेन-जी आन्दोलनमा प्रधानमन्त्री बनाउने भन्दै जेलबाट पार्टी सभापति रवि लामिछानेलाई निकाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको निर्णय पार्टी र रवि दुवैका लागि ब्याक फायर भयो।

भ्रष्टाचारविरुद्ध शुरू भएको आन्दोलन दोस्रो दिन ध्वंसमा बदलिएको मौकामा रविलाई जेलबाट बाहिर ल्याएर प्रधानमन्त्री बनाउने मुख्य रणनीतिकार कार्यवाहक सभापति डिपी अर्याल थिए।

प्रशासनदेखि प्रहरीका अधिकारीसम्मलाई फोन गरेर नख्खुबाट रविलाई बाहिर निकालेर जेन-जीको बलमा प्रधानमन्त्रीको दाबेदार बनाउन हरि ढकाल, ज्वाला संग्रौला जस्ताको बुँइ चढेर रवि हात हल्लाउँदै प्रसन्न मुद्रामा कारागारबाट बाहिरिए।

रवि कारागार फोडेर बाहिरिएका थिएनन्, जेल बाहिर समर्थक जम्मा पारेर जेल प्रशासनलाई अब जेलै फोडिन्छ भन्ने त्रासमा पारेर आफूले भने अनुसारको पत्र बनाउन लगाएर बाहिरिएका थिए।

रविलाई केही दिन जेल बाहिर राख्दा जेल जोगिन्छ भने पठाइदिउँ भनेर पत्रसहित परिवारको जिम्मा लगाएकै हो। भूकम्पको बेलामा कारागार भत्किएपछि बोलाएको बखत उपस्थित हुने सर्तमा कारागारका कैदी/बन्दी घर पठाइएकै हो। पछि जो फर्किए ती सहजै जेलमा बसे, जो फर्किएनन् तिनलाई समातियो।

तर बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै जेलबाट बाहिरिँदा बनाउन लगाएको पत्रको भाषा प्रशासनिक भन्दा राजनीतिक लेखाउँदै त्यही पत्रको आधारमा मुद्दा फिर्ताको चरणसम्म लैजान राखिएका शब्दले नै यो प्रकरणको बदमासी उजागर गर्यो।

नख्खुको साइड इफेक्टका कारण देशभरका कारागारबाट १५ हजार कैदी भागे,सामाजिक सञ्जालमा सहकारी ठगलाई जेलबाट निकाल्न जेन-जी आन्दोलन भएको हैन भन्दै अभियान शुरू भयो।

प्रधानमन्त्री त परको कुरा, जेन-जी पुस्ताले नै सहकारी ठग भन्दै रविलाई जेल फर्काउन अभियान थालेपछि उनी लुरूक्क नख्खु  फर्कन बाध्य भए।

जेल बाहिर आउने दोस्रो प्रयास
जेन-जी आन्दोलनपछि पुराना दल मात्र हैन रास्वपा पनि किनारामा पुग्यो। रविप्रति रहेको सेन्टिमेन्ट पातलियो। पार्टीका नेता मात्र हैन समर्थक पनि जेलकाण्डमा रक्षात्मक बन्न पुगेपछि कारागारमा रहेका रवि र बाहिरका नेताहरू पनि मौन बस्न बाध्य भए।

यहीबीचमा शिक्षा मन्त्रीसमेत भइसकेकी सुमना श्रेष्ठले पार्टी छाडिन्। यसले पार्टीलाई धक्का दिने नै भयो। जेन-जी आन्दोलनको माहोल क्यास गर्दै दल दर्ताको क्रम बढेपछि रास्वपाले पार्टी एकतादेखि जेन-जी पुस्ता भित्र्याउनसम्म पहल शुरू गरे। तर, जेन-जी पुस्ताका लिडरले वास्ता गरेनन्।

नागरिक सरकारमा ऊर्जामन्त्री बनेका कुलमान घिसिङ पार्टी गठनको प्रयासमा लागेपछि उनलाई रास्वपाको नेतृत्वमा स्थापित गर्ने प्रयास शुरू भयो। यसमा पृष्ठभूमिमा बालेन शाह नै सक्रिय भए। रविलाई संरक्षक र कुलमानलाई अध्यक्ष बनाउने गरी अगाडि बढेको छलफल ‘बालेन आए छाड्ने नत्र नछाड्ने’ निष्कर्षमा पुगेपछि कुलमान आफ्नै दल दर्तातिर लागे।

कुलमान, बालेनसँग जोडिएपछि विस्तारै रास्वपा बौरिन थाल्यो। वैकल्पिक दलका रूपमा जेन-जी भन्दै नयाँ-नयाँ दल दर्ता भएसँगै यो पाराले पुराना दललाई चुनावमा हराउन सकिन्न भन्दै पुन: बालेनसहितको टिम वैकल्पिक शक्तिलाई एक गराउन सक्रिय भए।

२०७९ को निर्वाचनको परिणाम, परिचित नाम र चुनाव चिन्ह, एक हदसम्म विस्तार भएको संगठनका कारण टक्कर दिन रास्वपालाई अगाडि बढाउने उनीहरूको चाहना देखियो।

तर नयाँ सर्त आयो ‘रविलाई कारागार बाहिर निकाल्नु पर्छ।’

यस अगाडि रवि कारागारबाट बाहिर आए हर्ष बढाइँ हुने पूर्वानुमान उल्टो भएको भोगिसकेका र देखिसकेकाहरू तत्काल यो जोखिम मोल्न तयार भएनन्। यसका लागि पहिला माहौल बनाउने रणनीति बनाइयो।

यसमा सबैभन्दा उत्तम तुलसीपुर उच्च अदालतमा चलिरहेको रवि र छविलाल जोशीले दायर गरेको बिगो अनुसारको रकम बुझाएर थुनामुक्त हुने निवेदन नै सबैभन्दा सहज कानुनी बाटो हो।

बिगो कायम हुने फैसलामा हो। तर, यसको फैसला आएको छैन। नियमित कानुनी प्रक्रियामा गए अदालतबाट बिगो मागेर थुनामुक्त गर्न आदेश दिन सम्भव छैन।

त्यो माहोल बनाउन अदालतको सुनुवाइमा प्रभाव पारेर कानुनी रूपमा नमिले पनि दबाबमा आदेश ल्याउन माहोल बनाउन आवश्यक छ नै। त्यही माहोल बनाउन रास्वपाको डिपीसहितको सक्रियतामा नख्खुमा रवि भेटाउने र कारागार मुक्त गराउन दबाब बढाउन अहिले दोस्रो चरणको अभियान सक्रिय भएको छ।

त्यही अभियान अनुसार अहिले रास्वपाको कोर टिमले व्यक्ति छानी छानी नख्खु पठाएर रविलाई बाहिर नल्याए चुनाव सम्भव छैन भन्ने सन्देश फैलाउने कामले गति लिइरहेको छ।

रास्वपाका नेताबाट शुरू भएको यो नख्खु अभियानमा रवि निकट कलाकार, कांग्रेस नेता सुनिल शर्मा, जेन-जी लिडर सुधन गुरूङ हुँदै पूर्व न्यायाधीश बलराम केसीसम्म पुगेको छ।

यता माहोल निर्माणको अभियानसँगै अदालतबाट आफू अनुकूल आदेश ल्याउने प्रयास पनि जारी छ। विश्वस्त स्रोतका अनुसार यसको सहजीकरण पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेका छन्।

रवि सहकारी ठगीमा पोखराको प्रहरी हिरासतमै रहँदा अदालतबाट धरौटी निकाल्न कल्याण नै सक्रिय देखिएका थिए। सबैभन्दा जटिल नै पोखराको सूर्यदर्शन सहकारीको केस रहेको र त्यसमा धरौटी निस्किए अन्त पनि धरौटी आउने अनुमान मिल्यो।

तर, बुटवलको सुप्रिम सहकारीको हकमा मिलेन। जिल्लाबाट योजना अनुसार आदेश आए पनि उच्च अदालतले रविलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उल्टाएर पुर्पक्षका लागि थुनामा पठायो। रवि भैरहवा कारागार हुँदै नख्खु आइपुगे।

आफू अनुकूल इजलास नमिले नतोकिएको बिगोमा रविलाई कारागार बाहिर ल्याउन सम्भव छैन। त्यसैले अनुकूल इजलास पार्न रविकै कानुन व्यवसायीको अनुरोधमा सुनुवाइ स्थगित गर्ने क्रम जारी छ। यता रास्वपाका नेता सरकारलाई प्रभाव पार्न सक्रिय भएसँगै नख्खु यात्रामा पनि सक्रिय छन्।

मंसिर २३, २०८२ मंगलबार १५:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।