बालेनको युट्युबमा गीत नचलेपछि ओएसआरबाट आयो ‘झरिपछिको इन्द्रेणी’को ट्रेलर
काठमाडौं : आगामी पुस ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘झरिपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक भएको छ।
हास्य टेलिश्रृंखला ‘सक्किगोनी’का चर्चित कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको यस फिल्मको ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिएको छ। तर, ट्रेलर रिलिजको सन्दर्भ भने फिल्मको गीत र बालेन शाहको युट्युब च्यानलसँग जोडिएर चर्चामा आएको छ।
यसअघि निर्माण टिमले फिल्मको प्रमोसनल गीत ‘फसायो लमी’ काठमाडौंका मेयर तथा र्यापर बालेन शाहको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरेको थियो।
बालेनको ‘हाइप’ र चर्चाका कारण गीतले राम्रो भ्युज पाउने अपेक्षा निर्माण पक्षको थियो। तर, तीन साता बितिसक्दा पनि गीतले अपेक्षा अनुसारको नतिजा दिन सकेन। हालसम्म उक्त गीतले करिब ३ लाख ७३ हजार मात्र भ्युज पाएको छ।
लोकलय र टिपिकल शब्द हुँदाहुँदै पनि गीत दर्शकमाझ व्यापक रूपमा पुग्न नसकेपछि निर्माण टिम झस्किएको देखिन्छ। गीतको कमजोर प्रदर्शनपछि फिल्मको प्रचारमा असर पर्ने डरले निर्माण पक्षले ट्रेलर भने ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।
आइतबार आयोजित ट्रेलर रिलिज कार्यक्रममा पत्रकारहरूले ‘बालेनको च्यानलमा गीत नचलेको डरले ट्रेलर अन्यत्रबाट ल्याउनुभएको हो?’ भन्ने प्रश्न गरेका थिए। जवाफमा निर्देशक घिमिरेले यसलाई स्वीकार्दै भने, ‘तपाईँले भनेकै हो, बालेनको युट्युबमा गीत नचलेको डरले ट्रेलर अन्तबाट हालेका हौँ।’
फिल्ममा बालेन शाहको लगानी रहेको हल्ला चले पनि निर्देशक घिमिरेले यसको खण्डन गरेका छन्।
‘बालेनको लगानी छैन। यसमा कलाकारहरू र अन्य साथीभाई मिलेर थोरै-थोरै लगानीमा निर्माण गरेका हौँ’, उनले भने। यद्यपि, फिल्ममा बालेनको एउटा गीत भने समावेश रहेको बताइएको छ।
सार्वजनिक २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलरमा जेन-जी युवाहरूको कथा र उनीहरूको सेरोफेरोलाई देखाइएको छ।
भ्रष्टाचार र बेथितीविरुद्ध एक युवाले काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेको आन्दोलनको कथावस्तु ट्रेलरमा देख्न सकिन्छ। विदेश गएर उच्च शिक्षा हासिल गर्ने सपना पूरा नहुँदा युवाहरू कसरी व्यवस्थाविरुद्ध उत्रिन्छन् भन्ने विषयलाई फिल्मले उठान गरेको छ।
पछिल्लो समय काठमाडौंमा देखिएको जेन-जी आन्दोलनको झ-झल्को ट्रेलरमा देखिए पनि निर्देशक पाँडेले यो केवल संयोग मात्र भएको बताए।
‘हामीले जेन-जी आन्दोलन अगावै फिल्म खिचेका थियौँ, घटना मिल्न गए त्यो संयोग मात्र हो’, उनले स्पष्ट पारे।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई र बाल कलाकार दिप्सन चिलवालको अभिनय रहेको छ। गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिएका छन्।
निर्देशक घिमिरेकै कथा रहेको फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। बुद्ध थापाले खिचेको फिल्ममा अनिशा सेन्दाङ लिम्बु, अनु थापा, पंकज खड्का, सिर्जना खड्का र सुवास शर्माको लगानी रहेको छ।
मंसिर २३, २०८२ मंगलबार १०:०८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।