बक्स अफिस रिपोर्ट : ‘परान’ १७ करोड नजिक पुग्दा खगेन्द्र र वर्षाको ‘हर्ष’ २८ लाखमै सीमित
काठमाडौं : चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शन भएका स्वदेशी फिल्महरूको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले सोमबार शनिबार राति ११:५९ सम्मको आधिकारिक ग्रस कलेक्सन विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार, बक्स अफिसमा फिल्म ‘परान’ ले सर्वाधिक कमाई गरेको छ भने अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ कमजोर सावित भएको छ।
दीपकप्रसाद आचार्य(काकु)को निर्देशनमा बनेको फिल्म ‘परान’ बक्स अफिसमा आक्रामक देखिएको छ। कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले हालसम्म १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
अघिल्लो साता १६ करोड १६ लाख कलेक्सन गरेको फिल्मले एक सातामा करिब ७७ लाख रुपैयाँ थप गर्दै १७ करोडको आँकडा नजिक पुगेको हो।
यसलाई यो वर्षकै अहिलेसम्मको सर्वाधिक कमाउने फिल्मको रूपमा हेरिएको छ। फिल्ममा नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, बुद्धि तामाङ लगायतको अभिनय छ।
प्रदर्शनको ५१ औं दिन मनाइसकेको फिल्म ‘जेरी अन टप’ ले १२ करोड १६ लाख ६ हजार २ सय ४० रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
सुयोग गुरुङको निर्देशन र सरोज न्यौपानेको प्रस्तुति रहेको यस फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी लगायतको अभिनय छ।
कार्तिक ६ गते भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको ‘जारी २: सङ्स अफ च्याब्रुङ’ अझै हलमा चलिरहेको छ। उपेन्द्र सुब्बा निर्देशित तथा दयाहाङ राई र मिरुना मगर अभिनित यो फिल्मले ६ करोड २३ लाख ६९ हजार २ सय रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
संगीतकार टंक बुढाथोकी निर्देशित फिल्म ‘मनबिनाको धन’ ले ३ करोड ७९ लाख २ हजार ८ सय ७९ रुपैयाँ कलेक्सन गरेको छ। कार्तिक २१ देखि प्रदर्शनरत यस फिल्मको व्यापार अब सुस्त हुँदै गएको देखिन्छ।
अर्कोतर्फ, मंसिर १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ बक्स अफिसमा असफल देखिएको छ। एकता पौडेल निर्देशित यो फिल्मले हालसम्म जम्मा २८ लाख २ हजार ३ सय ४६ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त लगायतका कलाकारहरूको अभिनय रहे पनि फिल्मले दर्शक तान्न सकेन।
त्यस्तै, मंसिर ५ गते रिलिज भएको ‘पहिचान’ को कलेक्सन नगण्य रहेको छ भने मंसिर १८ बाट प्रदर्शनमा आएको ‘अभिमन्यु: च्याप्टर १’ को बक्स अफिस रिपोर्ट आगामी साता आउने बोर्डले जनाएको छ।
मंसिर २३, २०८२ मंगलबार ०९:५२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।