जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीका साना छालहरू आउन सुरु

जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीका साना छालहरू आउन सुरु

एजेन्सी : जापानको आओमोरी प्रान्त नजिकै ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

भूकम्प लगत्तै जापानको मौसम विज्ञान विभागले आओमोरी, इवाते र होक्काइडो प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ।

भूकम्प स्थानीय समय अनुसार राति ११:१५ बजे गएको हो। सुरुमा यसको तीव्रता ७.६ म्याग्निच्युड बताइए पनि पछि ७.५ मापन गरिएको थियो।

भूकम्पको केन्द्रविन्दु जापानको तटभन्दा ७० किलोमिटर टाढा समुद्रमा ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

आओमोरीमा सुनामीका साना छालहरू आउन सुरु भइसकेका छन्, जसको उचाइ हाल ४० सेन्टिमिटरसम्म छ। तर, एजेन्सीले जापानको उत्तर-पूर्वी तटहरूमा ३ मिटरसम्म अग्ला खतरनाक छालहरू आउन सक्ने चेतावनी दिएको छ।

भूकम्पका कारण आओमोरी प्रान्तका २७ सय घरमा बिजुली आपूर्ति बन्द भएको छ। आओमोरी सहरमा आगलागीका दुईवटा घटनाहरू पनि रिपोर्ट गरिएका छन्।

यसका साथै, आओमोरीमा सडक भत्किँदा एक जना घाइते भएका छन् भने होक्काइडोमा लडेर दुई जना घाइते भएको खबर प्राप्त भएको छ।

मंसिर २३, २०८२ मंगलबार ०७:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।