एमालेमा हस्तान्तरणको बहस पेचिलो : ओलीलाई 'रेष्ट', पोखरेललाई 'टेस्ट'

एमालेमा हस्तान्तरणको बहस पेचिलो : ओलीलाई 'रेष्ट', पोखरेललाई 'टेस्ट'

काठमाडौं : एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज बलियो बन्दै गएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा सोमबार आयोजित एक अन्तरसंवाद कार्यक्रममा संस्थापन इतर पक्षमा शीर्ष नेताहरूले विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न नेतृत्व परिवर्तन अपरिहार्य रहेकोमा जोड दिए।

कार्यक्रममा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफूहरूका तर्फबाट वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सार्ने तयारी भइरहेको जानकारी दिए। उनले अन्य पदाधिकारीहरूको उम्मेदवारीबारे पनि सरसल्लाह चलिरहेको बताए।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्माणमा पुर्याएको योगदानको उच्च कदर गर्दै अब पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखे।

यसैगरी, स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्रको व्यक्तिवादी र एकाधिकारवादी सोच अन्त्य गर्न नयाँ नेतृत्वको आवश्यकता औँल्याए। उनले विधानमा रहेको दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान हटाउन नहुनेमा विशेष जोड दिए। नेताहरू परशुराम मेघी गुरुङ र विनोद ढकालले पनि जनताको बहुदलीय जनवादको मर्मअनुरूप पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापित हुनुपर्ने माग गरे।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौं उपत्यकामा आयोजना हुँदैछ।

मंसिर २२, २०८२ सोमबार १६:२९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।