डिशहोमले ल्यायो नेपालकै पहिलो एआई सेवा ‘खुशी’, ग्राहकले पाउनेछन् यस्ता सुविधाहरू
काठमाडौं : डिशहोमले नेपालमा पहिलो पटक दुईतर्फी कुराकानी गर्न मिल्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा ‘खुशी’ सार्वजनिक गरेको छ।
ग्राहकलाई डिजिटल प्रविधिसँग जोड्दै सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले डिशहोमले यो नवीन प्रविधि ल्याएको हो।
भोइस-एआई प्रविधिमा आधारित ‘खुशी’ ले मानवजस्तै आवाजमा नेपाली भाषामै ग्राहकसँग दोहोरो संवाद गर्न सक्नेछ।
खुशीले सेवा निष्क्रिय भएका ग्राहकलाई फोन गरेर नवीकरणका लागि सम्झाउने र नयाँ अफरबारे जानकारी दिनुका साथै कुराकानीका क्रममा ग्राहकको प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी सम्बन्धित विभागमा पुर्याउनेछ।
यसका अलावा नेटवर्कमा समस्या आउँदा वा सेवा अवरुद्ध हुँदा ग्राहकलाई कारण, समाधान हुने समय र प्रगतिको वास्तविक जानकारी दिनेछ साथै ग्राहकसँगको कुराकानीको विश्लेषण गरी भावनात्मक प्रतिक्रिया सहितको प्रतिवेदन तयार गर्नेछ।
कम्पनीले आगामी चरणमा ‘खुशी’ मार्फत ग्राहकको विवरण प्रमाणीकरण गर्ने, डाटाबेस अद्यावधिक गर्ने र जडान तथा मर्मतको समय व्यवस्थापन गर्ने योजना बनाएको छ।
साथै, अहिले फेसबुक मेसेन्जर र वेबसाइटमा सीमित च्याटबोट सेवालाई ह्वाट्सएप र भाइबरमा पनि विस्तार गरिनेछ।
डिशहोमका प्रवक्ताका अनुसार नेपाली भाषाको संवाद क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय एआई अनुसन्धान संस्थाहरू सँग सहकार्यको तयारी भइरहेको छ।
यसअघि डिशहोमले ‘भर्चुअल प्रिभिलेज कार्ड’ र ‘डिशहोम गो’ ओटीटी एपमार्फत एनपीएलको प्रत्यक्ष प्रसारण जस्ता डिजिटल सेवाहरू सुरू गरिसकेको छ।
मंसिर २२, २०८२ सोमबार १४:००:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।