गोवाको नाइट क्लबमा आगलागीमा मृत्यु हुनेमध्ये चार जना नेपाली नागरिक

गोवाको नाइट क्लबमा आगलागीमा मृत्यु हुनेमध्ये चार जना नेपाली नागरिक

काठमाडौं : भारतको गोवाको अरपोरा क्षेत्रस्थित एक नाइट क्लबमा शनिबार मध्यराति भएको भीषण आगलागीमा परी चार जना नेपाली नागरिकको मृत्यु भएको छ।

उक्त घटनामा कुल २५ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुने २० जना सोही क्लबका कर्मचारी हुन्। तीमध्ये ४ जना नेपाली नागरिक रहेको गोवा सरकारले पुष्टि गरेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा थर नखुलेका सविन र सुदीप रहेका छन्।

उनीहरू नेपालको कुन ठाउँका हुन् भन्ने विस्तृत ठेगाना भने खुलिसकेको छैन। गोवा सरकारले मृतक नेपालीहरूको शव नेपाल पठाउन आवश्यक व्यवस्था मिलाइने जनाएको छ।

शनिबार मध्यराति क्लबमा नाचगान चलिरहँदा ‘इलेक्ट्रोनिक फायरक्राकर’ चलाउँदा आगलागी सुरू भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार आगो लागेको केही मिनेटमै क्लबको पूरै संरचना जलेर नष्ट भएको थियो।

आगो फैलिएपछि ग्यास सिलिण्डर समेत विष्फोट हुँदा स्थिति भयावह बनेको थियो।

क्लब जाने बाटो साँघुरो भएका कारण दमकल समयमै पुग्न नसक्दा धेरै मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्।

धेरैजसो मानिस भुइँतला र भान्सातिरै थुनिएका थिए। उनीहरूको निसास्सिएर तथा जलेर मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानमा उक्त नाइट क्लब सुरक्षा मापदण्ड विपरीत र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ।

घटनापछि गोवा प्रहरीले क्लबका मालिकसहित व्यवस्थापन पक्षका चार जनालाई पक्राउ गरेको छ भने नियमविपरीत अनुमति दिने तीन सरकारी अधिकारीलाई निलम्बन गरिएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई जनही ५ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

मंसिर २२, २०८२ सोमबार ११:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।