क्वालिफायरको मुखमा सुदूरपश्चिम रोयल्समा फेरबदल, ब्राउन र लिन बाहिरिँदा भारतीय ब्याटर भित्रिए

क्वालिफायरको मुखमा सुदूरपश्चिम रोयल्समा फेरबदल, ब्राउन र लिन बाहिरिँदा भारतीय ब्याटर भित्रिए

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको महत्त्वपूर्ण ‘प्लेअफ’ चरण सुरू हुनै लाग्दा सुदूरपश्चिम रोयल्सले आफ्नो टोलीमा ठूलो परिवर्तन गरेको छ।

टोलीका प्रमुख विदेशी खेलाडीहरू जोस ब्राउन र क्रिस लिन स्वदेश फर्किएका छन् भने उनीहरूको स्थान पूर्ति गर्न भारतीय ब्याटर सेल्डन ज्याक्सन टोलीमा अनुबन्ध भएका छन्।

सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अस्ट्रेलियन विष्फोटक ब्याटरद्वय जोस ब्राउन र क्रिस लिनलाई बिदा गरेको जनाएको छ।

उनीहरू अस्ट्रेलियामा हुने प्रतिष्ठित ‘बिग ब्यास लिग’ खेल्नका लागि स्वदेश फर्किएका हुन्। लिग चरणमा सुदूरपश्चिमलाई शीर्ष स्थानमा पुर्याउन यी दुवै खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए।

ब्राउन र लिन बाहिरिएसँगै रोयल्सले भारतका अनुभवी विकेटकिपर ब्याटर सेल्डन ज्याक्सनलाई टोलीमा भित्र्याएको छ। ३८ वर्षीय ज्याक्सन भारतीय घरेलु क्रिकेटका सशक्त खेलाडी मानिन्छन्।

रोयल्सले उनलाई स्वागत गर्दै उनको ७ हजारभन्दा बढी फस्ट क्लास रन, टी-२० मा शतक र आईपीएलको अनुभवले टोलीलाई प्लेअफमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। उनी कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु जस्ता टिममा आबद्ध भइसकेका छन्।

यो खेलाडी परिवर्तन यस्तो समयमा भएको छ, जतिबेला सुदूरपश्चिमले भोलि पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सको सामना गर्दैछ। लिग चरणका सबै खेल सकिँदा सुदूरपश्चिम र विराटनगर अंक तालिकाको शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्न लागेका हुन्।

रोचक कुरा के छ भने, लिग चरणको अन्तिम खेलमा पनि यी दुई टोली नै आमनेसामने भएका थिए। उक्त खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उसको अपराजित यात्रामा ‘ब्रेक’ लगाइदिएको थियो।

मंसिर २२, २०८२ सोमबार ११:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।