त्रिवि मैदानमा एनपीएल : फ्लड लाइटमा चम्किएको क्रिकेट, कोलाहलमा डुबेको प्राज्ञिक थलो (फोटो कथा)
काठमाडौं : शान्त वातावरण, हातमा किताब र भविष्य कोरिरहेका विद्यार्थीहरू हुनुपर्ने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसर यतिबेला कुनै ठूलो मेला वा जात्रा जस्तै देखिएको छ।
मंसिर १ गतेबाट शुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणले कीर्तिपुरको माहोल फेरिदिएको छ।
मंसिर २७ गतेसम्म चल्ने यो क्रिकेट महाकुम्भले मुर्झाएको नेपाली खेल क्षेत्रमा नयाँ प्राण त भरेको छ, तर सँगसँगै देशको जेठो प्राज्ञिक थलोको शान्ति र मर्यादामाथि गम्भीर प्रश्न पनि खडा गरेको छ।

तीन दशकभन्दा लामो इतिहास बोकेको त्रिवि क्रिकेट मैदानले यसपटक आधुनिक मुहार फेरेको छ। मैदानमा जडान गरिएका ‘फ्लडलाइट’ ले कीर्तिपुरको रातलाई दिनजस्तै उज्यालो बनाएको छ। दर्शकका लागि कुर्सीसहितको व्यवस्थित प्याराफिटले अन्तर्राष्ट्रियस्तरको झल्को दिएको छ।
यही स्तर र रात्रिकालीन खेलको रोमाञ्चका कारण दर्शकको उपस्थिति थामिनसक्नु छ। अधिकांश खेलका टिकटहरू ‘सोल्ड आउट’ छन्। रात्रिकालीन खेलमा त खुट्टा टेक्ने ठाउँसमेत हुँदैन। टिकट नपाएर बाहिरैबाट चियाउँदै फर्कनेहरूको जमात पनि उत्तिकै ठूलो देखिन्छ।

भदौ २३ र २४ गतेको ‘जेन जी’ आन्दोलनले सिर्जना गरेको निराशा र अन्योललाई चिर्दै क्रिकेटले देखाएको यो सम्भावना र क्यानले गरेको आर्थिक उपार्जन पक्कै पनि लोभलाग्दो छ।
रङ्गशालाभित्र खेलको घम्साघम्सी चलिरहँदा बाहिर भने सानोतिनो व्यापारिक शहर नै बसेको छ। विश्वविद्यालयको प्राज्ञिक परिसरभित्र खुद्रा व्यापारीहरूले आफ्नो व्यापार गर्ने थलो बनाएका छन्।

खेल सुरू हुनुअघि र भइरहँदा बाहिर मःम, चाउचाउ, चटपटे र चिया बेच्नेहरूको भिड लाग्छ। क्याम्पा कोलाको स्टलदेखि लिएर सामान्य पानी बेच्नेसम्मको व्यापार फस्टाएको छ।
एनपीएलका टोलीहरूको जर्सी, क्याप, मास्क, क्लबका स्टिकर र राष्ट्रिय झन्डा बेच्नेहरूले सडक र चौर रङ्गीचङ्गी बनाएका छन्। साँझसम्मै रहने यो चहलपहलले स्थानीय व्यापारीलाई फाइदा पुगे पनि विश्वविद्यालयको वातावरण भने ‘हाटबजार’ जस्तो बनेको छ।

क्रिकेटको यो रौनकताको सबैभन्दा पीडादायी पाटो भने विद्यार्थीहरूले भोगिरहेका छन्। ‘ईश्वरी कन्या छात्रावास’को गेट अगाडि नै मेलाको जस्तो कोलाहल छ।
मैदानभित्र बज्ने डिजेको चर्को म्युजिक, हजारौं दर्शकको हुटिङ र बाहिरको कोलाहलले विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर पुर्याएको छ। शान्त भएर पढ्नुपर्ने समयमा कोठा थर्किने गरी आवाज आउँदा विद्यार्थीहरू एकाग्र हुन सकेका छैनन्।

रात्रिकालीन खेलका कारण अबेरसम्मै हल्लाखल्ला हुन्छ। तर, विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनहरूले भने यसप्रति खासै चासो देखाएको पाइँदैन। बरु आयोजकसँग २५ लाख रुपैयाँको सम्झौता तथा खेलका केही थान टिकट र पासहरूमै रमाएको देखिन्छ।
हजारौं मानिस जम्मा हुने ठाउँमा फोहोर हुनु स्वाभाविक भए पनि त्यसको व्यवस्थापन पक्ष कमजोर देखिएको छ। खेल हेर्न आउनेहरूले प्रयोग गरेका प्लाष्टिक, खानेकुराका प्याकेट र बोतलहरू चौर र सडक छेउमा यत्रतत्र छरिएका छन्।

क्यानले रङ्गशालाभित्रको व्यवस्थापनमा जति ध्यान दिएको छ, बाहिरको सरसफाइ र विश्वविद्यालयको वातावरण जोगाउनमा भने समन्वयको अभाव खड्किएको छ।
क्यानले एनपीएलमार्फत नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ। तर, विश्वविद्यालय केवल खेलमैदान मात्र होइन, यो हजारौं विद्यार्थीको भविष्य निर्माण गर्ने थलो पनि हो।

अबका दिनमा यस्ता प्रतिष्ठित प्रतियोगिताहरू आयोजना गर्दा ‘खेलको रौनक’ र ‘प्राज्ञिक मर्यादा’ बीच सन्तुलन मिलाउनुपर्ने देखिन्छ।







मंसिर २२, २०८२ सोमबार १०:०३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।