युद्ध रोक्ने प्रस्ताव जेलेन्स्कीले नपढेकोमा ट्रम्प निराश, भने- ‘रुस सहमत छ तर जेलेन्स्की...’

युद्ध रोक्ने प्रस्ताव जेलेन्स्कीले नपढेकोमा ट्रम्प निराश, भने- ‘रुस सहमत छ तर जेलेन्स्की...’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग असन्तुष्टि व्यक्त गरेका छन्।

रुस-युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धी प्रस्ताव जेलेन्स्कीले अहिलेसम्म नपढेको भन्दै ट्रम्पले आफू 'केही निराश' भएको बताएका हुन्।

आइतबार प्रतिक्रिया दिँदै ट्रम्पले भने, ‘मैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की दुवैसँग कुरा गरेको छु। तर, जेलेन्स्कीले अहिलेसम्म प्रस्ताव नै नपढेको थाहा पाउँदा म निराश छु।’

उनले थपे, ‘रुस यो प्रस्तावमा सहमत छ, तर जेलेन्स्की यसमा सहमत छन् जस्तो मलाई लाग्दैन। युक्रेनी जनताले यो प्रस्ताव मन पराए पनि उनी (जेलेन्स्की) भने तयार देखिँदैनन्।’

युद्ध रोक्ने कूटनीतिक प्रयास भइरहँदा पनि रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ। रुसले शनिबार रातभर युक्रेनमा हवाई हमला गरेको छ।

युक्रेनको प्रमुख औद्योगिक सहर क्रेमेनचुकका मेयरले सहरमा 'ठूलो स्तरको' आक्रमण भएको जानकारी दिएका छन्। अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले भने विभिन्न क्षेत्रमा गरी युक्रेनका ७७ वटा ड्रोन खसालेको दाबी गरेको छ।

मंसिर २२, २०८२ सोमबार ०८:०३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।