पोखरा विमानस्थल भ्रष्टाचार : छिनेडाँडादेखि परामर्शदाता नियुक्तिको २ अर्ब ९८ करोड खर्चबारे अख्तियार अनुसन्धानमै

पोखरा विमानस्थल भ्रष्टाचार : छिनेडाँडादेखि परामर्शदाता नियुक्तिको २ अर्ब ९८ करोड खर्चबारे अख्तियार अनुसन्धानमै

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकोक्रममा भएको भ्रष्टाचारबारे थप तीन विषयमा अख्तियारले छुट्टै अनुसन्धान गर्ने भएको छ।

अख्तियारले आइतबार ठेक्का सम्झौता र लागत बढाउन संलग्नहरूबारे अनुसन्धान गरेर ५५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गर्यो।

अभियोग पत्रमा खुलाए अनुसार विमानस्थलमा भएको भ्रष्टाचारको अन्य पक्ष भने अझै अख्तियारको अनुसन्धानमा छ। अभियोग पत्रमा अख्तियारले विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता/भ्रष्टाचार गरेकोबारे छुट्टै अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान गर्दैछ।महालेखापरीक्षकको प्रतिवेदनमा अर्थ मन्त्रालयले २ अर्ब २२ करोड ४० लाखभन्दा बढी कर छुट दिएको उल्लेख छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन सबै सुविधा/पूर्वाधारहरू निर्माण गरी सञ्चालनमा ल्याउने दायित्व ठेकेदारको भए पनि छिनेडाँडा/रिट्टेपानी डाँडा कटानबारे समेत अख्तियारले अनुसन्धान गरिरहेको छ।

विमानस्थल निर्माण भइसकेपछि परीक्षण उडानका क्रममा उडान र अवतरणमा समस्या देखिएपछि विमानस्थलनजिकको छिने डाँडा ४० मिटर काट्नुपरेको थियो।

निर्माण कम्पनीले धावनमार्ग होचो बनाउँदा डाँडा काट्नुपरेको थियो। ठेक्का पाएको चिनिया कम्पनीले नै डाँडा काट्नुपर्ने भए पनि प्राधिकरणले मूल कम्पनीको साटो छुट्टै व्यवसायीलाई ३२ करोड ३ लाख भुक्तानी गर्ने गरी सम्झौता गरेको थियो।

सम्झौता विपरीत प्राधिकरणले ३२ करोड २ लाखमा छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी दिई अनियमित/भ्रष्टाचार गरेको विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने अभियोग पत्रमा उल्लेख छ।

तेस्रोमा नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इन्जीनियरिङबीच भएको सम्झौतामा उल्लेख २८ लाख अमेरिकी डलरबाट परामर्शदाता नियुक्त नगरी प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गरेकोबारे समेत अख्तियारले अनुसन्धान गरिरहेको छ।

मंसिर २१, २०८२ आइतबार १९:३१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।