अख्तियारले खोल्यो ठूलो भ्रष्टाचारको फाइल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब बिगो, ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ प्रतिवादी

अख्तियारले खोल्यो ठूलो भ्रष्टाचारको फाइल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब बिगो, ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ प्रतिवादी

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो भ्रष्टाचारको फाइलहरुमध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको अनुसन्धान टुंग्याउँदै विशेष अदालतमा मुद्धा दायर गरेको छ। आयोगले ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आइतबार दायर गरिएको मुद्दामा करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ। मुद्दामा पूर्वमन्त्रीदेखि उच्च प्रशासकीय अधिकृतसम्म प्रतिवादी छन्। अख्तियारले ५ पूर्वमन्त्रीलाई प्रतिवादी बनाएको छ।

प्रतिवादी बनेकाहरुमा माओवादी केन्द्रका पोस्टबहादुर बोगटी (दिवंगत), नेपाली कांग्रेसका रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र एमालेका भीम आचार्य छन्। कांग्रेस नेता रामशरण महत अर्थमन्त्रीका रुपमा र अन्य पर्यटनमन्त्रीका रुपमा प्रतिवादी बनेका हुन्।

यस्तै, १० पूर्वसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि मुद्दामा समावेश गरिएको छ। दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माणमा देखिएको अनियमितताको प्रकरणमा समेत यसअघि प्रतिवादी बनिइसकेका छन्।

सञ्चालन अध्ययन कार्यदलका प्रमुखसमेत मुद्दामा

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार तथा विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत उच्च पदस्थ १० पूर्वसचिवलाई पनि भ्रष्टाचार मुद्दामा समावेश गरिएको अख्तियारले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनामा ठूला अनियमितता

चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये एक मानिन्छ। निर्माणका चरणमै अनियमितताको आरोप उठ्दै आएको थियो।

सार्वजनिक लेखा समितिले समेत ‘ठूलो भ्रष्टाचार’ भएको निष्कर्ष निकाल्दै विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको थियो। सोही आधारमा अख्तियारले विस्तृत छानबिनपछि अब विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मंसिर २१, २०८२ आइतबार १५:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।