नागरिकता र आत्महत्याबारे बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

नागरिकता र आत्महत्याबारे बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ : गृह मन्त्रालयले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले सचिवस्तरीय निर्णयमा सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई घटनाको जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। 

किशोर उमेरमै गर्भ बसेर पछि छोडपत्र भएर अंश मुद्दा जिते पनि नागरिकता नहुँदा र सात वर्षकी छोरीको जन्मदर्ता गर्न स्थानीय प्रशासन र जिल्ला प्रशासनले अनेक बहानामा दुख दिएको भन्दै एक युवतीले आत्महत्या गरेकी थिइन्।

छोरीको आत्महत्यापछि बाबुले पनि आत्महत्या गरेको घटना सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले शनिवार माफी माग्दै घटनाको छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएकी थिइन्।

मंसिर २१, २०८२ आइतबार १४:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।