चित्रकार आमाको प्रसव पीडा र खुसी : सुत्केरी व्यथा, भूकम्पको त्रास र मातृत्वको खुसी
एउटा चित्रकारले संसारलाई हेर्ने नजर बेग्लै हुन्छ। उनीहरू हरेक पीडामा पनि रङ देख्छन् र हरेक अँध्यारोमा उज्यालोको सम्भावना। चित्रकलामा दुई दशक बिताएकी रतिना बज्राचार्यले अरूलाई पनि रङहरूसँग खेल्न र क्यानभासमा भावना उतार्न सिकाइ रहेकी छन्।
निरन्तर रङ र कुचीसँग खेलिरहेकी रतिनाका लागि चित्रकला क्षेत्र केवल पेसा मात्र होइन, निरन्तर सिक्ने र सिकाउने पाठशाला पनि हो। पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमसँग जोडिएर थुप्रै विद्यार्थीहरूलाई चित्र कोर्न सिकाउँदै आएकी छन्। विद्यालयहरूमा कला सिकाएको उनको अनुभव पनि १५ वर्षभन्दा लामो भइसक्यो।
हाल उनी तीन वटा विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई रङहरूसँग खेल्न सिकाउनमा व्यस्त छन्। शिक्षणको यो लामो यात्रामा उनले कतिपय विद्यार्थी परिवारको करले त कतिपय आफ्नै प्रबल इच्छाले सिक्न आएको पाइन्। रतिनाको अनुभवमा सिकाउनु एकतर्फी प्रक्रिया होइन; उनी मान्छिन् कि स-साना बालबालिकाबाट पनि धेरै कुरा सिक्न पाइन्छ।
सानैदेखि कलामा गहिरो लगाव राख्ने उनले पछि यससम्बन्धी पढाइ हुने कलेज पनि छ भन्ने थाहा पाएपछि यसैलाई आफ्नो अध्ययन र करिअरको बाटो बनाइन्। अहिले उनीबाट प्रेरित भएर घरपरिवारका अन्य सदस्य पनि यस क्षेत्रमा रमाइरहेको देख्दा उनी खुसी छन्। चित्रकला प्रदर्शनीहरूमा पनि उनको लोभलाग्दो उपस्थिति रहँदै आएको छ।
एक कुशल चित्रकार र शिक्षिकासँगै रतिनाले आफ्नो जीवनमा पनि रङहरूजस्तै अनेक उतारचढाव देखिन्। एकातिर कुची समातेर विद्यार्थीलाई भविष्य कोर्न सिकाउने जिम्मेवारी, अर्कोतिर मातृत्वको पूर्णता। उनै आर्टिस्ट रतिनाले उकेराको साप्ताहिक स्तम्भ ‘प्रसव पीडा र खुसी’ मा आफ्नो मातृत्वको अनुभव यसरी साटेकी छन् :
बाल्यकाल, शिक्षा र विवाह
मेरो माइती असन, घर थानकोट हो। बाल्यकाल दिदीबहिनीसँग खेल्दै, पढ्दै र चित्र बनाउँदै रमाइलोसँग बित्यो। हामी पाँच दिदीबहिनीमध्ये म चौथो नम्बरमा पर्छु। पढ्दै गर्दा मैले 'आर्ट' (चित्रकला) सिकाउने काम पनि सुरु गरेँ। काम गर्दागर्दै मेरो बिहे भयो। नेवार समुदायभित्रै अन्तरजातीय विवाह भए पनि सबै कुरा सहज भयो। हामीले खासै अप्ठ्यारो महसुस गरेनौं। सन्तान जन्मिएपछि जीवनशैली अलि बदलियो। बिहेपछि पनि मैले आफ्नो पढाइ रोकिनँ। पढाउने कामलाई पनि निरन्तरता दिइरहेँ।
गर्भधारण र भूकम्पको डर
हामीले सन्तानको योजना बनाएका थिएनौं। तर, बिहेको दुई वर्षपछि गर्भ रह्यो। उमेर पुगेकाले हामी खुसी नै भयौं। सुरुमा त मलाई गर्भवती भएको पत्तै भएन। अलि सञ्चो नभएपछि दिदीले शंका गर्नुभयो। जँचाउँदा पक्का भयो। त्यसबेला मेरो स्नातक तहको परीक्षा आउँदै थियो, मलाई त्यसकै चिन्ता थियो। घरमा चाहिँ नयाँ सदस्य आउने भनेर सबै खुसी हुनुहुन्थ्यो।
म सात महिनाको गर्भवती हुँदा २०७२ को भूकम्प गयो। म बिरामी भएर घरमै थिएँ। साथमा कोही हुनुहुन्नथ्यो। तैपनि टिभीहरू सुरक्षित ठाउँमा राखेर म माथिल्लो कोठाबाट एक्लै तल निस्किएँ। त्यसबेला माइतीको धेरै याद आयो। असनको घना बस्तीमा उहाँहरू कसरी बस्नुभयो होला भन्ने पिर लाग्यो। डर र त्रास थियो। पछि खुला ठाउँमा बसेँ। थानकोटमा तुलनात्मक रूपमा खुला ठाउँ भएकाले सहज भयो।
गर्भावस्था, शारीरिक परिवर्तन र मानसिक तयारी
त्यसपछिका दिनमा मेरो गर्भावस्था सहज बित्यो। सुरुका तीन महिना अलि गाह्रो भएको थियो। तैपनि गाडीमा हिँडडुल र काम निरन्तर गरिरहेँ। म सक्रिय नै भएँ। शारीरिक रूपमा धेरै परिवर्तन आयो। बिहेअघि पातली थिएँ, गर्भावस्थामा म राम्रैसँग मोटाएँ। खुट्टाहरू पनि निकै सुन्निएका थिए। दिनभर गाडीमा हिँड्नुपर्ने हुँदा अलि गाह्रो हुन्थ्यो। तर, भूकम्पपछि घरमा धेरै सहयोग पाएँ, मज्जाले आराम गरेँ।
त्यतिबेला मेरो साथी अमेरिका जाँदै थियो। सबै साथी उनलाई पुर्याउन जाँदा म भने जान नपाउँदा मन अलि खिन्न भएको थियो। बाँकी सब सामान्य रह्यो। बच्चाको तौल धेरै भएकाले 'अप्रेसन' नै गर्नुपर्छ भन्ने पहिलै भनिएको थियो। त्यसैले म मानसिक रूपमा तयार थिएँ। घरमा दिदीहरूको अनुभव देखेकीले मैले धेरै कुरा जानिसकेकी रहेछु। कपडादेखि सबै तयारी पूरा थियो।
प्रसव र अनौठो संयोग
डाक्टरले भनेकै समयमा अस्पताल गयौं। मलाई व्यथा लागेको थिएन। एक पटक 'नर्मल' हुन्छ कि भनेर व्यथा लाग्ने औषधी चढाइयो। रातभर दुखाइ भयो, तर बच्चा प्राकृतिकरूपमा जन्मिन सकेन। अन्ततः अप्रेसन नै गर्नुपर्यो। एनेस्थेसिया दिएपछि आधा शरीर लट्ठियो। जापानी डाक्टर हुनुहुन्थ्यो। कुरा गर्दागर्दै नानी निकालिहाल्नुभयो। देख्दा ठूलो ज्यानकी, ४ किलोकी थिइन्। त्यहीँ स्तनपान गराएँ। एउटा संयोग नै भन्नुपर्छ, सुत्केरी भएलगत्तै मैले स्नातकको परीक्षा पनि दिएँ।
सुत्केरी स्याहार र करियरमा 'ब्रेक'
चार दिन अस्पताल बसेर घर फर्कियौं। नानी मज्जाले निदाउँथिन्, दूध खान पनि उठाउनुपर्थ्यो। राम्रोसँग नखुवाए आफैँलाई गाह्रो हुने रहेछ। सुत्केरी स्याहार राम्रो भयो। दिदीहरूको हेरेर सिकेकाले आफैँले पनि धेरै काम गरेँ। हिँड्न सक्ने भएपछि दिनहरू सामान्य हुँदै गए।

नानी जन्मेपछि करिब पाँच वर्ष म 'आर्ट फिल्ड' बाट टाढा भएँ। त्यसबीचमा केही समय 'ग्रेड टिचिङ' गरेँ। नानी र मन्टेश्वरी स्कुलतिर व्यस्तता बढ्यो। दुई वर्ष त नानीलाई नै पूरै समय दिएँ।
नानीको हुर्काइ र रुचिको विकास
नानी दुई वर्षको भएपछि मन्टेश्वरीमा काम गर्न थालेँ। उसलाई पनि सँगै लैजान्थेँ। फुर्सदमा आफ्नो व्यक्तिगत आर्ट गर्थेँ। सायद त्यही देखेर नानी पनि आर्टमा आकर्षित भइन्। स्कुलका कार्यक्रममा उनी राम्रो भाग लिन्छिन्। सानोमा हामीले उसको पहिलो पाइला, बोली सबै भिडियोमा कैद गरेका छौं। त्यो देखाउँदा उनी मख्ख पर्छिन्। पहिला अलि चकचके थिइन्, अहिले शान्त छिन्। समयसँगै स्वभाव फेरिने रहेछ।
जीवन व्यवस्थापन र मातृत्वको अनुभूति
घर, काम र सन्तान- समय मिलाउन सुरुमा गाह्रो हुने रहेछ। तर गर्दै जाँदा बानी पर्यो। अहिले नानी ५ कक्षामा पढ्छिन्। आफ्नो पढाइ आफैँ हेर्छिन् । सानोमा प्रशस्त समय दिएकाले अहिले सजिलो भएको छ। उनी भएपछि हामीले अर्को सन्तानको बारेमा सोचेनौं। समाजले अर्को सन्तान चाहिन्छ भने पनि हामीले एउटालाई नै राम्रो संस्कार दिने निधो गर्यौं। अहिले हाम्रो प्राथमिकता उनको पढाइ हो।

आमा बन्नु सुरुमा गाह्रो भए पनि यो एउटा सुन्दर यात्रा रहेछ। आफैँ बच्चा हुनु र बच्चाको आमा हुनुमा धेरै फरक छ। हाम्रो आमा सानैमा बित्नुभएकाले, म आमा भएपछि उहाँको महत्त्व अझ बढी बुझ्दै छु। उहाँलाई झन् धेरै सम्झिएँ।
मंसिर २१, २०८२ आइतबार १३:४४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।