चुनाव आउन ८८ दिन बाँकी : आयोगले कसरी मिलाउँदैछ तारतम्य ?

चुनाव आउन ८८ दिन बाँकी : आयोगले कसरी मिलाउँदैछ तारतम्य ?

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारी तीव्र पारेको छ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तय गरिएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले पनि आन्तरिक तयारी बढाएका छन्।

आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु गरेको छ। आयोगले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक प्रणालीका लागि राजनीतिक दलले निवेदन दिने समय तोकेको छ। यसरी आवेदन दिएका दलहरूको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ।

निवेदन दिएका दलहरूले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची माघ ३० गते प्रकाशित हुनेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

त्यस्तै, प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ।

आयोगका अनुसार माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।

मंसिर २१, २०८२ आइतबार १०:१८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।