तिनाउमा आकर्षक ‘सिग्नेचर पुल’ : पर्यटन र विकासमा नयाँ सम्भावना

तिनाउमा आकर्षक ‘सिग्नेचर पुल’ : पर्यटन र विकासमा नयाँ सम्भावना

बुटवल : मुलुकको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित बुटवलको तिनाउ नदीमा आकर्षक 'सिग्नेचर पुल' बन्ने भएको छ। त्यसको आर्किटेक डिजाइन तयार भएसँगै निर्माणका लागि बोलपत्र आव्हान समेत भइसकेको छ। चिनिया, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार गरिएको हो।

भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टीङले यो पुलको आर्किटेक डिजाइन तयार पारेको छ। पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ। यी दुवै पश्चात सडक विभागको विकास सहयोग कार्यान्वयन महाशाखाले उक्त पुल निर्माणका लागि टेन्डर आव्हान गरेको हो।

सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयाँ प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ। झट्ट देख्दा नेटवर्क आर्क ब्रिज जस्तै देखिने भएपनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुने भनिएको छ। मानिसले सिग्नेचर गर्दा जसरी अक्षरहरूलाई घुमाएर बांगोटिंगो बनाउँछन्, सिग्नेचर ब्रिजको डिजाइन पनि त्यही प्रकृतिले गरिन्छ।

पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले सहजीकरण गरेसँगै सिग्नेचर पुल निर्माणका लागि टेन्डर आव्हान भएको हो। अहिलेको पुल नभत्काई त्यसको साइडमा बन्ने यो पुल ४२१ मिटर लम्बाइ र ४ लेनको बन्ने छ।

प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिँड्नका लागि फराकिलो फुटपाथ समेत रहने छ। यसका साथ पुलबाट बुटवलको उत्तर दक्षिणसँगै जितगढी किल्लाको दृश्य अवलोकन गर्नका लागि आकर्षक पार्क र कफिसपहरु सञ्चालन गर्ने गरी डिजाइन बनाइएको छ।

शहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरूका लागि आकर्षण बनाउन तिनाउमा पानीका फोहोरा तथा आकर्षक लाइटहरूको व्यवस्था हुने छ। महाशाखाका अनुसार यस्ता पुलहरूले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ। युरोपका धेरै देशहरूमा यस्ता पुलहरू बनेको र त्यहाँ लोकप्रिय भएकाले नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको हो।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रको सवारी चापसमेत अत्यधिक बढेका कारण नयाँ सिग्नेचर ब्रिज निर्माण गर्न लागिएको हो।

सडक विभागअन्तर्गत पुल महाशाखाले भविष्यमा बुटवलको सवारी व्यवस्थापन र जितगढी किल्लाको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुर्याउने गरी पुल बनाउन लागेको हो। यो पुलको निर्माण सँगै बुटवलको पर्यटन विकासमा र प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास बुटवलका पर्यटन व्यवसायीहरूको छ। 

हेर्दै आकर्षक र विकसित मुलुकमा भएका आइकोनिक पुल जस्तै देखिने गरी निर्माण गर्न लागिएको यो पुलले बुटवलको विकास मात्रै होइन, नेपालको पूर्वाधार विकास र समृद्धिमा फड्को मारेको सन्देश दिने विश्वास लिइएछ। पुलको किनारमै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्लासमेत रहेकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर सिग्नेचर ब्रिज निर्माण गर्ने गरी डिजाइन गरिएकोले बुटवलमा पर्यटकहरूको आकर्षण हुने अपेक्षा छ। सिग्नेचर पुलको निर्माणसँगै बुटवलको विकासमा महत्त्वपूर्ण इँटा थपिने बुटवलका बासिन्दाहरूको विश्वास छ। 

यसरी अघि बढ्यो आयोजना

सरकारले २०७५ सालमा आधुनिक र कलात्मक ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैंकसँग सहकार्य अगाडि बढाएको थियो। सोहीअनुरूप विश्व बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमति जनाएपछि चितवनको नारायणी र बुटवलको तिनाउलगायत स्थानमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो।

सरकार परिवर्तन र आर्थिक स्रोतको व्यवस्थापनमा देखिएको केही अन्योलकाबीच पनि अर्थ मन्त्रालय र सडक विभागको निरन्तर समन्वयपछि यो आयोजनाले गति लिएको छ। बजेटको सुनिश्चितता भएसँगै अब निर्माण प्रक्रिया अघि बढेको हो।

पर्यटन र यातायातको एकीकृत विकास

कालिगण्डकी डाइभर्सन गरेर वा ड्याम बनाएर तिनाउको जलसतह बढाउने योजना अनुरूप नै जलपर्यटनको विकास गर्ने उद्देश्यसहित यो पुलको परिकल्पना गरिएको बताइएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले पुल निर्माणले यातायात व्यवस्थापनसँगै पर्यटनमा समेत टेवा पुर्याउने बताए।

‘पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्लासमेत रहेकाले पर्यटनको अथाह सम्भावनालाई ध्यानमा राखेर सिग्नेचर ब्रिज निर्माण गर्ने योजना बनाइएको हो। यो पुललाई मुलुकमा हालसम्मको सबैभन्दा नयाँ, आकर्षक र अत्याधुनिक प्रविधिसहित डिजाइन गरिने छ। त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका सिग्नेचर ब्रिज डिजाइनरहरूबाट डिजाइन र स्टिमेटको भइरहेको छ,’ उनले भने।

विश्वका अन्य मुलुकमा जस्तै आकर्षक पुलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य बुटवलमा पनि राखिएको पौडेलको भनाइ छ। उनले साँघुरो पुलका कारण हुने सवारी चाप घटाउन र भविष्यमा जीतगढी आउने पर्यटकलाई तिनाउमा जलविहार गराउनसमेत यो आयोजना कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।

मंसिर २१, २०८२ आइतबार ०९:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।