नागरिकताको झमेलामा बाबु-छोरीको आत्महत्या, प्रधानमन्त्रीले ‘माफी’ माग्दै दिइन् छानबिनको निर्देशन
काठमाडौँ : बर्दियामा नागरिकता नपाएर एकै परिवारका बाबु–छोरीले आत्महत्या गरेको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा ‘माफी’ मागिन्।
न्यायिक र प्रशासनिक झमेलाले दुई नागरिकको ज्यान गएको घटनाप्रति शनिवार माफी माग्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई घटनाबारे तत्काल छानबिन गर्न निर्देशन समेत दिइन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत लेखेकी छन् “न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु।”
घटना के हो ?
बर्दियाको बढैयाताल–४ की २२ बर्सिया अन्जु थारुले जति प्रयास गरे पनि नागरिकता बनाउन नसकेपछि कात्तिक २२ मा आत्महत्या गरिन्। अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण उनले श्रीमानबाट पाएको अंश आफ्नो नाममा ल्याउन सकेकी थिइनन्। नागरिकता नहुँदा उनको छोरीको जन्मदर्ता भएन। अंश दिने न्यायिक प्रक्रिया अवरुद्ध भयो।
अदालतले अंश दिन आदेश गरे पनि वडा कार्यालयले नागरिकताको सिफारिस नै गरेन। आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि उनले सात वर्षकी छोरीको जन्म दर्ता गर्न सकिनन्। वडाले वडाले ‘बुबाको नागरिकता चाहिन्छ’ भन्दै जन्मदर्ता अड्कायो।
माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो। स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अञ्जुले माइतीमै आत्महत्या गरिन्। उनले आत्महत्या गरेको चार दिनमै छोरीको मृत्युको शोकमा रहेका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरे।
मंसिर २०, २०८२ शनिबार २१:३८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।