सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरको 'ब्रेक', आक्रामक जितसहित दोस्रो स्थानमा उक्लियो

सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरको 'ब्रेक', आक्रामक जितसहित दोस्रो स्थानमा उक्लियो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार पुनरागमन गरेको हो।

यसअघि लगातार ६ खेल जितेर शीर्ष स्थान पक्का गरिसकेको सुदूरपश्चिमलाई हराउँदै विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

यो जितसँगै दुवै टोलीको समूह चरणका खेलहरू सकिएका छन् भने यो दुई टोलीबीच नै पहिलो क्वालिफायर खेल हुनेछ।

जितका लागि १४८ रनको लक्ष्य पछ्याएको विराटनगरले विस्फोटक ब्याटिङ गर्दै मात्र ११.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

अङ्क तालिकाको दोस्रो स्थानमा उक्लनका लागि विराटनगरले यो लक्ष्य १३.४ ओभरभित्र पूरा गर्नुपर्ने समीकरण थियो। सो समीकरणलाई ध्यानमा राख्दै ब्याटिङ गरेको विराटनगरले १.५ ओभर अगावै खेल सकायो।

विराटनगरको जितमा ओपनर साम हेजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय इनिङ खेले।

हेजलेटले २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन बनाए भने डु प्लेसिसले मात्र २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए।

मार्टिन गप्टिलले ९ बलमा तीन छक्कासहित २२ रन जोडे। अन्त्यमा प्रतिस जिसीले ३ बलमा २ छक्का प्रहार गर्दै १३ रनमा अविजित रहँदै टोलीलाई जिताए।

बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले २ तथा हरमित सिंहले १ विकेट लिए। महँगा सावित भएका कप्तान दीपेन्द्रसिंह ऐरीले २ ओभरमा ३८ रन खर्चिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४५, इशान पाण्डेले ३८ र जोस ब्राउनले २४ रन बनाए।

विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। यस्तै प्रतिस जिसीले २ र बसिर अहमदले १ विकेट हात पारे।

मंसिर २०, २०८२ शनिबार १४:१९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।