इन्डिगोका दुई हजार उडान रद्द हुँदा तीन लाख यात्रु प्रभावित, उड्डयन मन्त्रीले भने- एयरलाइन्सको गल्ती गर्यो, कारबाही गर्छौँ
एजेन्सी : भारतको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी इन्डिगोको उडान सेवामा शनिबार लगातार पाँचौं दिन पनि सुधार देखिएको छैन। दिल्ली, मुम्बई, बेङ्गलुरु र चेन्नईजस्ता प्रमुख विमानस्थलहरूमा रातभर यात्रुहरू अलपत्र परेका छन्।
पछिल्लो चार दिनमा मात्रै इन्डिगोका २ हजारभन्दा बढी उडान रद्द भइसकेका छन्, जसका कारण करिब ३ लाख यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। कोलकाता विमानस्थलमा घण्टौसम्म फसेका कारण केही महिला यात्रुहरू रोइरहेको दृश्यसमेत देखिएको थियो।
शनिबार र आइतबार इन्डिगोका २५ देखि ३० प्रतिशत उडान रद्द वा ढिला हुने सम्भावना रहेको छ। पछिल्लो ४ दिनमा दैनिक औसत ५०० उडानमा ढिलाइ भइरहेकोमा शनिबार र आइतबार यो सङ्ख्या बढेर ६०० सम्म पुग्न सक्ने अनुमान छ।
सप्ताहन्त भएकाले अन्य दिनको तुलनामा शनिबार र आइतबार उडान चाप बढी हुने गर्छ। इन्डिगोले उडान सेवा पूर्ण रूपमा सामान्य हुन डिसेम्बर १५ सम्म लाग्ने जनाएको छ।
यता, नागरिक उड्डयन मन्त्री राम मोहन नायडूले भने नोभेम्बर १ देखि लागू भएको नयाँ नियमका कारण अन्य एयरलाइन्सलाई कुनै समस्या नभएको भन्दै यो पूर्ण रूपमा इन्डिगोको कमजोरी भएको बताएका छन्।
उनले एयरलाइन्सको लापरवाहीमाथि छानबिन गरी कारबाही गरिने स्पष्ट पारेका छन्।
नागरिक उड्डयन महानिर्देशनालयले यात्रुको सुरक्षा बढाउन पाइलट र क्रु मेम्बर्सलाई पर्याप्त आराम दिने उद्देश्यले नयाँ नियम लागू गरेको छ। यसलाई ‘फ्लाइट ड्युटी टाइम लिमिटेसन’ नाम दिइएको छ।
यो नियमको दोस्रो चरण नोभेम्बर १ देखि लागू भयो। पाइलट र कर्मचारीलाई बढी आराम दिनुपर्ने भएपछि एयरलाइन्स कम्पनीसँग अचानक जनशक्तिको अभाव खड्किएको छ, जसले गर्दा उडानहरू रद्द भइरहेका छन्।
यद्यपि, सङ्कट गहिरिएपछि नागरिक उड्डयन महानिर्देशनालयले इन्डिगोलाई साप्ताहिक बिदासम्बन्धी नियममा केही लचकता अपनाउँदै १० फेब्रुअरी २०२६ सम्मका लागि अस्थायी राहत दिएको छ।
मंसिर २०, २०८२ शनिबार ०९:५४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।