हर्कको सक्रियतामा नयाँ दल : ‘टार्गेट’मा बालेन र कुलमान

हर्कको सक्रियतामा नयाँ दल : ‘टार्गेट’मा बालेन र कुलमान

काठमाडौं : जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने प्रयास असफल भएपछि धरानका मेयर हर्क साम्पाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आलोचनामा केन्द्रित भए।

हरेक दिन सामाजिक सञ्जालमा उनी बालेनको विरोधमा लेख्न थाले भने बालेन उनलाई फकाउन ‘आई लभ यू’ लेखेर बसिरहे। जब सरकारले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर नयाँ दल दर्ता खुलायो, हर्क आफ्नै नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ दर्ता गर्न कस्सिए र दर्ता पनि गरे।

जेन-जी आन्दोलनको माहोल हेरेर अन्य नयाँ दल पनि दर्ता भएका छन्। मुख्यतः हाल क्याबिनेट मन्त्री समेत रहेका कुलमान घिसिङको योजनामा ‘उज्यालो नेपाल पार्टी’ दर्ता भयो।

पुराना दलहरू ध्रुवीकरण र एकीकरणमा लागेका छन्। ठूला दुई दल एमाले र नेपाली कांग्रेस नेतृत्व बदल्न महाधिवेशनमा केन्द्रित छन्। रास्वपा र विवेकशील साझाबीच एकता भयो।

माओवादीसहितको नयाँ दल ‘नेपाली कम्युनिस्ट पार्टी’ चुनावी सभामा उत्रिसक्यो। अन्य नयाँ हुन् या पुराना दल, अझै अलमलमै छन्।

सिधै सभामा केन्द्रित हर्क
तर, दल दर्तासँगै हर्क साम्पाङ अल्मलिएनन्, उनी सिधै सङ्गठन निर्माण र चुनाव लक्षित कार्यक्रममा केन्द्रित भए। मोरङको लेटाङमा पहिलो आमसभा गरेका उनले यसबीचमा सुनसरीको तरहरामा पनि चुनावी सभा सम्पन्न गरे।

पाँचथरको फिदिम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, दमक र वराह क्षेत्रमा सभा गरिसकेका उनी अब पूर्वबाट अन्यत्र पनि केन्द्रित हुँदैछन्।

उनले मकवानपुर, चितवन, काठमाडौं, काभ्रे, खोटाङ र बुटवलको कार्यतालिका सार्वजनिक गरिसकेका छन्। प्रत्येक टोलमा ‘श्रम संस्कृति टिम’ बनाएर सङ्गठन विस्तारको रणनीति कार्यान्वयन गरिरहेका छन्।

यसबीचमा उनले घोषणापत्र समेत ल्याइसकेका छन्। प्रचण्डपथ जस्तै आफ्नै ‘हर्कवाद’ निर्माण गरेर ल्याएको घोषणापत्रमा उनले विद्यालय शिक्षामा सीप मिसाउने भन्दै ‘तीन दिन पढाइ, तीन दिन सीप र श्रम’, आईएनजीओमाथि प्रतिबन्ध, सबैलाई अनिवार्य सैनिक तालिम तथा र शर्तरहित अन्तर्राष्ट्रिय सहयोगको अवधारणा अघि सारेका छन्।

गल्ती गर्ने कर्मचारीको सरुवा हैन सिधै बर्खास्ती, जेन-जी आयोग गठन, नागरिकतामा कडा प्रावधान राखेर नेपालीसँग विवाह गर्नेलाई पाँच वर्षपछि मात्र नागरिकता र सांसद अनि मन्त्री हुन नपाउने अवधारणा उनले ल्याएका छन्। शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको वकालत गरेका उनी अहिले यसैको प्रचारमा छन्।

मुख्य टार्गेट बालेन शाह र कुलमान घिसिङ
प्रायः नयाँ दलका नेता पुराना दललाई गाली गर्न केन्द्रित छन्। तर, हर्क भने नयाँ शक्ति र दलप्रति बढी आक्रामक छन्। उनको भाषण होस् या सामाजिक सञ्जालका भिडियो र पोस्ट, ती मुख्यतः बालेन शाह र कुलमान घिसिङप्रति केन्द्रित देखिन्छन्।

नयाँ दल दर्तासँगै उनले मुख्य रूपमा कुलमानलाई निसाना बनाउन थालेका छन्। कुलमानलाई विदेशी शक्तिका लागि काम गर्ने र आफूलाई रोक्ने प्रयास गरेको आरोप उनले लगाउन थालेका छन्।

शुक्रबार फेसबुक लाइभमा बस्दै उनले आफूलाई सरकारमा जान नदिन कुलमानको प्रयोग गरिएको र अब आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट रोक्न ‘उज्यालो नेपाल पार्टी’लाई तगारो बनाइएको दाबी गरे।

उनले कुलमानको दोहोरो चरित्र भन्दै ‘कहिले दल मेरो हैन भन्ने त कहिले मेरै दल हो भन्ने अनि सरकारमा पनि बस्ने’ जस्ता चरित्र देखाएको भन्दै आलोचना गरे। कुलमानलाई एमसीसीसँग जोडेर विदेशीको स्वार्थमा काम गर्ने व्यक्ति भन्दै पटक-पटक आरोप लगाइरहेका छन् उनले।

आफूलाई मन्त्री बन्न सहयोग नगरेको र पार्टी खोलेपछि पनि साथ नदिएको भन्दै उनी बालेनसँग पनि रुष्ट छन्। बालेन कुलमानसँग नजिक देखिएपछि उनी झन् रिसाएको देखिन्छ।

प्रचारको मुख्य हतियार : फेसबुक र टिकटक
मेयर निर्वाचित हुनुअघि र निर्वाचित भएपछि पनि उनले आफ्नो प्रचारको मुख्य माध्यम फेसबुक र टिकटकलाई बनाएका थिए। नियमित लाइभ आएर गाली गर्नु र अनेक खालका गीत गाउनु उनको दैनिकी नै थियो।

अहिले पनि उनको यो क्रम जारी छ। यद्यपि पछिल्लो समय तुच्छ गाली गर्न छाडेका छन्, तर अराजक धारणा भने राखिरहन्छन्। उनलाई साथ दिनेहरू पनि कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा भाइरल बनेकाहरू नै बढी देखिन्छन्।

जातीय आधार र पुरानै आरोप
हर्कको पार्टीका नेता अनि उनका प्रचारक हेर्ने हो भने मुख्यतः जनजाति समुदायका सदस्यकै बाहुल्य देखिन्छ। पार्टी पदाधिकारीमा पनि जनजातिकै वर्चस्व छ। अध्यक्ष उनी आफैँ छन् भने उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ छन्।

पूर्वमा कायम जातीय पहिचानको रङ उनको दलमा पनि देखिन्छ। तर, उनी सार्वजनिक कार्यक्रमहरूमा जातीय पहिचानको मुद्दामा खासै बोल्दैनन्। बरु, जात र धर्मको आधारमा विभाजित देश जोड्ने दाबी गर्छन्।

तर, विपक्षीलाई प्रहार गर्दा उनी पुराना दल, अझ त्यसमा पनि कम्युनिस्ट पार्टीका नेताको शैलीमा आरोप लगाउँछन्। आफूलाई राष्ट्रप्रेमी दाबी गर्ने उनी अन्यलाई विदेशी शक्तिबाट परिचालित भन्छन्। यो नेपाली कम्युनिस्टहरूले विरोधीलाई लगाउने सबैभन्दा सहज आरोप हो। उनी अहिले पनि एमसीसीको विरोध गर्छन्।

उनका सामाजिक सञ्जालमा अभिव्यक्ति हेर्ने हो भने बिना तथ्यका आरोपहरूको भण्डार नै देखिन्छ। दल दर्तापछि यो क्रम केही घटेको छ, तर रोकिएको छैन। सञ्जाल प्रयोगकर्ताको ध्यान तान्न उनी अराजक दाबी र घोषणा गरिरहन्छन्।

मेयरमै असफल, कार्यकारी राष्ट्रपतिको सपना
स्वतन्त्रबाट मेयर निर्वाचित भएपछिका उनका करिब तीन वर्षको कार्यशैली परिणाममुखीभन्दा बढी विवादित देखिन्छ। खानेपानीको मुद्दादेखि श्रम संस्कृति पार्कसम्म उनी विवादमै घेरिए। सहकार्यको साटो अराजक व्यवहारका कारण धरानको बजेट समयमा आएन। उपमेयरदेखि वडाध्यक्षसम्म प्रायः झगडामै उनले आफ्नो कार्यकाल बिताइरहेका छन्।

सुम्निमा-पारुहाङ प्रतिमा निर्माण गर्न भन्दै उनले सङ्कलन गरेको चन्दाको विषय विवादित भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पत्र काट्यो।

मेयरको रूपमा हेर्ने हो भने उनी त्यति सफल देखिएका छैनन्। तर, जेन-जी आन्दोलनको प्रभावले अब बहुमत ल्याएर संविधान संशोधन गरी आफैँ कार्यकारी राष्ट्रपति हुन्छु भन्दै उनी सक्रिय छन्। आगामी निर्वाचन र त्यसको परिणामबारे उनले अहिले नै घोषणा गरिसके- ‘बहुमत आइसक्यो।’

परिणाममुखीभन्दा चर्चामुखी व्यवहार अनि अराजक कार्यशैली भए पनि जेन-जी आन्दोलनपछिको राजनीतिक माहोलमा दर्ता भएका दलमध्ये उनी सबैभन्दा बढी सक्रिय भने देखिएका छन्।

मंसिर २०, २०८२ शनिबार ०९:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।