एनपीएलमा आज दुई खेल, दोस्रो स्थानमा पुग्नका लागि विराटनगरले सुदूरपश्चिमलाई हराउनैपर्ने

एनपीएलमा आज दुई खेल, दोस्रो स्थानमा पुग्नका लागि विराटनगरले सुदूरपश्चिमलाई हराउनैपर्ने

काठमाडौं : काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन् भने दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेल विराटनगर किङ्ग्सका लागि निकै महत्त्वपूर्ण रहेको छ। सुदूरपश्चिम रोयल्स यसअघि नै ६ खेलबाट १२ अङ्क जोड्दै अपराजित रहन सफल भई शीर्ष स्थानसहित ‘क्वालिफायर १’ मा पुगिसकेको छ। तसर्थ, सुदूरपश्चिम दबाबरहित भएर मैदान उत्रनेछ।

यता, ८ अङ्कसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको विराटनगरका लागि भने आजको खेलले प्लेअफको समीकरण तय गर्नेछ। यदि विराटनगरले सुदूरपश्चिमलाई राम्रो रनरेटमा पराजित गरेमा उसले सुदूरपश्चिमसँगै ‘क्वालिफायर १’ खेल्ने मौका पाउनेछ।

पराजित भएको खण्डमा वा रनरेट कम भएमा विराटनगरले लुम्बिनी लायन्ससँग ‘इलिमिनेटर’ खेल्नुपर्नेछ। त्यस्तो अवस्थामा सुदूरपश्चिमले काठमाडौं गोर्खाजसँग पहिलो क्वालिफायर खेल्नेछ।

उता चितवन र पोखरा भने शीर्ष चारमा पर्न नसक्ने भएपछि प्रतियोगिताबाटै बाहिरइसकेको छ। उनीहरूका लागि आजको प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।

मंसिर २०, २०८२ शनिबार ०७:४१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।