वर्तमान सरकारबाट धेरै आशा नराख्नुस् : मन्त्री घिसिङ

वर्तमान सरकारबाट धेरै आशा नराख्नुस् : मन्त्री घिसिङ

रामेछाप : अन्तरिम सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले वर्तमान सरकारबाट धेरै आशा नराख्न नागरिकलाई आग्रह गरेका छन्। रामेछापको सुनापतिमा आयोजित एक कार्यक्रममा उनले अबको निकास आगामी निर्वाचन र त्यसपछिको नयाँ नेतृत्वले मात्र दिने बताए।

आगामी फागुन २१ गते हुने निर्वाचनपछि बन्ने सरकारले धेरै काम गर्नुपर्ने भएकोले निर्वाचनमा जिम्मेवार निर्णय गर्न आग्रह गरे। परिवर्तनलाई संस्थागत गर्न चुनाव आवश्यक रहेको बताउँदै उनले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको उनले दाबी गरे। 

‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु,’ उनले भने। 

देशभरि बिजुलीको उज्यालो आफूले पुर्याएको दाबी गर्दै उनले रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न योग्य मानिसलाई चुन्न आग्रह गरे। निर्वाचनमा देशभरिबाट उज्यालो नेपाललाई जिताएर आफूलाई देशको नेतृत्वमा पुर्याउन उनले आग्रह गरे। 

समग्र देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा आउन खोजेको उनको भनाई थियो। उनले आफूले नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए। घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन्। 

मंसिर १९, २०८२ शुक्रबार १७:५२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।