बक्स अफिसमा ‘परान’को छलाङ : नीर शाह र महेशको वाहवाही, केकी र प्रवीणको स्टारडम फिका

बक्स अफिसमा ‘परान’को छलाङ : नीर शाह र महेशको वाहवाही, केकी र प्रवीणको स्टारडम फिका

काठमाडौं : बक्स अफिसमा कीर्तिमान व्यापार गरिरहेको फिल्म ‘परान’ प्रदर्शनको छैटौं सातामा प्रवेश गरेको छ। व्यापारिक हिसाबले फिल्म ऐतिहासिक सफलतातर्फ उन्मुख भए पनि कलाकारहरूको अभिनय र प्रभावको विषयमा भइरहेको समीक्षा भने रोचक छ।

पछिल्लो समय हलमा रिलिज भएका अन्य फिल्मको तुलनामा ‘परान’मा देखिएको दर्शकको चाप लोभलाग्दो छ। फिल्मले गत साता नै १६ करोड ग्रस कलेक्सनको आँकडा पार गरिसकेको छ। सोमबार सार्वजनिक हुने बक्स अफिस रिपोर्टसम्म फिल्मले १७ करोड ग्रस कलेक्सन कटाउने प्रक्षेपण गरिएको छ।

‘स्टारकास्ट’ छायामा, चरित्र अभिनेताको जादु

फिल्मको व्यावसायिक सफलताको ग्राफ उकालो लाग्दा कलाकारहरूको प्रभावको ग्राफ भने फरक देखिएको छ। फिल्ममा 'माइला छोरा' र 'बुहारी'को महत्त्वपूर्ण भूमिकामा रहेका स्थापित कलाकार प्रवीण खतिवडा र केकी अधिकारीले खासै चर्चा बटुल्न सकेनन्।

पर्दामा दिग्गज अभिनेता नीर शाह र महेश त्रिपाठीको उपस्थिति यति सशक्त बन्यो कि, उनीहरूको अभिनयको रापमा प्रवीण र केकीको भूमिका छायामा पर्यो। हलबाट बाहिरिँदै गर्दा दर्शकले नीर शाहको अनुहार र संवादलाई झलझली सम्झिरहेका हुन्छन्। महेश र नीर शाहबीचका भावनात्मक दृश्यमा दर्शक भक्कानिएका छन्।

यता, बलियो भूमिका हुँदाहुँदै पनि प्रवीण र केकीले दर्शकको मनमा गहिरो छाप छोड्न सकेको देखिँदैन। त्यस्तै, जेठो छोराको भूमिकामा देखिएका सुब्रत आचार्य त दर्शकको 'नोटिस'मै पर्न संघर्षरत देखिन्छन्। बरु, कान्छी बुहारीको भूमिकामा देखिएकी अञ्जना बराइलीले भने तुलनात्मक रूपमा दर्शकको ध्यान खिच्न सफल भइन्।

‘लाजशरणम्’मार्फत दर्शकको मन जितेका अभिनेता महेश त्रिपाठीले ‘परान’बाट पनि राम्रो प्रशंसा बटुलेका छन्। सबै कलाकारले आ-आफ्नो ठाउँबाट मिहिनेत गरे पनि ‘क्रेडिट’ भने नीर शाह र महेशलाई नै गइरहेको छ। लगातार दुई फिल्ममा देखिएको यो प्रभावले महेश नेपाली रजतपटमा बलियो अभिनेताका रूपमा उदाउन लागेको संकेत गर्छ। यद्यपि, त्यसको जाँच्न भने उनका आगामी फिल्महरू ‘३६ को आँकडा’ र ‘ककाकीकी’बाट हुनेछ।

मंसिर १९, २०८२ शुक्रबार १७:१६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।