एमाले कार्यालय च्यासलमा तनाव, प्रतिनिधि छनोटमा असन्तुष्टि
काठमाडौं : एमालेको महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा विवाद उत्पन्न भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरूले प्रतिनिधि छनोटमा असन्तुष्टि जनाएपछि दिउँसो कार्यालयमा तनावको स्थिति सिर्जना भएको हो।
विवाद बढ्दै जाँदा कार्यकर्ताहरूबीच धकेलाधकेल समेत भएको थियो। महासंघका असन्तुष्ट सदस्यहरू आफ्ना गुनासा लिएर संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसमक्ष पुगेका थिए। सोही क्रममा उनीहरूले चर्को स्वरमा असन्तुष्टि पोखेपछि दुई पक्षबीच भनाभन र विवाद चर्किएको हो।
एमाले महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन्। यद्यपि, केही स्थानमा प्रतिनिधि चयनलाई लिएर असन्तुष्टिहरू देखा परिरहेका छन्। एमाले महाधिवेशनमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघबाट ७ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ। एमालेको महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ।
मंसिर १९, २०८२ शुक्रबार १५:१६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।