३० भन्दा बढी देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको तयारी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० भन्दा बढी देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरेका छन्। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले फक्स न्युजसँगको कुराकानीमा यो जानकारी दिएकी हुन्।
नोएमले भनिन्, ‘संख्या ठ्याक्कै कति हुन्छ भन्ने अहिले नै भन्न सकिँदैन, तर यो ३० भन्दा बढी छ। राष्ट्रपतिले ती देशहरूको मूल्याङ्कन गरिरहनुभएको छ।’
नोएमले हालै राष्ट्रपति ट्रम्पसँग भेट गरेकी थिइन्। त्यसपछि उनले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै अमेरिकामा अपराध बढाइरहेका देशहरूमाथि पूर्ण यात्रा प्रतिबन्ध लगाउनुपर्ने माग गरेकी थिइन्।
यसअघि ट्रम्पले १९ देशका नागरिकलाई अमेरिकी नागरिकता र ग्रिन कार्ड दिने प्रक्रिया रोकिसकेका छन्। गत महिना ह्वाइट हाउस नजिकै नेसनल गार्ड्समाथि एक अफगान शरणार्थीले गोली चलाएपछि ट्रम्पले यो कडा कदम चालेका थिए।
प्रतिबन्धित सूचीमा अफगानिस्तान, म्यानमार, बुरुन्डी, चाड, कङ्गो, क्युबा, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लाओस, लिबिया, सियरा लियोन, सोमालिया, सुडान, टोगो, तुर्कमेनिस्तान, भेनेजुएला र यमन रहेका छन्।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका अनुसार, यी १९ देशका आप्रवासन, नागरिकता र ग्रिन कार्डसम्बन्धी सबै आवेदनहरू हालका लागि रोक्का (होल्ड) गरिएको छ। ट्रम्पले यी देशहरूमा यसअघि नै यात्रा प्रतिबन्ध लगाइसकेका छन्।
राष्ट्रपति ट्रम्पले अवैध आप्रवासी र समस्या सिर्जना गर्ने मानिसहरूको सङ्ख्या घटाउन यस्ता कदम चालिएको बताएका छन्। उनले दोस्रो विश्वयुद्धपछि अमेरिकामा यस्तो सामाजिक समस्या नभएको तर गलत आप्रवासन नीतिका कारण अहिले अपराध र अव्यवस्था बढेको दाबी गरे।
ट्रम्पले भने, ‘प्राविधिक विकास भए पनि गलत नीतिका कारण आम अमेरिकीको जीवन बिग्रिएको छ। यसको एउटै समाधान भनेको ‘रिभर्स माइग्रेसन’ अर्थात् मानिसहरूलाई उनीहरूको आफ्नै देश फर्काउनु हो।’
मंसिर १९, २०८२ शुक्रबार १३:५५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।