‘त्यो दिन मैले बुझेँ- नेपाली फ्यानहरू टिम हार्दा घर जाँदैनन्, बरु जित्ने बाटो खोज्छन्’

‘त्यो दिन मैले बुझेँ- नेपाली फ्यानहरू टिम हार्दा घर जाँदैनन्, बरु जित्ने बाटो खोज्छन्’

हामीले अक्सर क्रिकेटको भविष्यबारे एउटा सरल तर निकै डरलाग्दो प्रश्न सोध्ने गरेका छौँ- ‘सबै कुरा ठिक छ, तर अब के त?’

आजको क्रिकेट दुनियाँसँग प्रविधि छ, अथाह पुँजी छ र लोभलाग्दो रुचि पनि छ। तर, यदि कतै केही कुराको चरम अभाव छ भने, त्यो भावनाको, जसले खेललाई केवल मनोरञ्जनबाट माथि उठाएर जीवनको हिस्सा बनाउँछ।

यदि तपाईं क्रिकेटको त्यो कच्चा, वास्तविक रूप हेर्न चाहनुहुन्छ भने परम्परागत क्रिकेटिङ देशहरूतिर नहेर्नुहोस्। लर्ड्सको ऐतिहासिक ‘लङ रूम’ मा नहेर्नुहोस्, जहाँ परम्पराको नाममा अक्सर स्थिरतालाई ढाक्ने काम गरिन्छ।

यहाँसम्म कि आईपीएलका ती चम्किला कर्पोरेट बक्सहरूमा पनि नहेर्नुहोस्, जहाँ उत्पादनलाई कृत्रिम रूपमा टल्काएर ‘ग्ल्यामर’ बेचिएको हुन्छ।

तपाईं त्यहाँ हेर्नुहोस्, जहाँ भौतिक पूर्वाधारभन्दा विश्वासको गति सयौं गुणा तीव्र छ। तपाईं त्यहाँ हेर्नुहोस्, जहाँ रंगशालाको गेट खुल्नुभन्दा घण्टौँ अघिदेखि मानिसहरूको सागर उर्लिन्छ। याद राख्नुस्- त्यो भीडलाई कुनै कर्पोरेट मार्केटिङले बोलाएको होइन, उनीहरूलाई आफ्नै ‘हुटहुटी’ले तानेर त्यहाँ पुर्याएको हो।

हो, तपाईं नेपाललाई हेर्नुहोस्।

कुनै पनि खेलकुदमा यस्ता दुर्लभ क्षणहरू आउँछन्, जहाँ कुनै देशलाई बेवास्ता गर्न असम्भव हुन्छ। जसरी सन् १९९६ मा श्रीलंकाले विश्वको ध्यान खिच्यो, २००० को दशकको सुरुमा बंगलादेशले उपस्थिति जनायो र २०१० को दशकमा अफगानिस्तान उदायो; ठीक त्यसैगरी यो २०२० को दशक नेपालको नाममा लेखिँदै छ।

विश्वका धेरै धनी क्रिकेट बोर्डहरू नेपालसँग जे छ, त्यो पाउन मरिहत्ते गर्छन्। त्यहाँ एउटा यस्तो राजधानी शहर छ, जो आफ्नो राष्ट्रिय टिमको खेल हुँदा ठप्पप्रायः हुन्छ। यहाँ यस्तो ‘फ्यानबेस’ छ, जो केवल ताली बजाउने दर्शकको समूह होइन; उनीहरू त क्रिकेटका लागि सर्वस्व हुन्

जब मैले २०१० मा नेपाललाई चिनेँ
म सानैदेखि क्रिकेट प्रेमी थिएँ। तर, मेरो सानो दुनियाँमा क्रिकेट भनेको अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड वा पाकिस्तान मात्र थियो। ‘एसोसिएट क्रिकेट’ भनेको त केवल पृष्ठभूमिमा चल्ने एउटा सामान्य र झिनामसिना कथा जस्तो मात्र लाग्थ्यो।

तर, जब म ‘वर्ल्ड क्रिकेट लिग’को व्यवस्थापनमा जोडिएँ, मेरो लागि विश्वको नक्सा एक्कासी फराकिलो भयो। सन् २०१० मा इटालीमा डिभिजन ४ को तयारी गर्दै गर्दा, काठमाडौंमा भएको अघिल्लो प्रतियोगिताको चर्चा जताततै थियो। सबैको जिब्रोमा नेपाल र अमेरिकाबीचको खेलको कुरा झुन्डिएको थियो, जहाँ भीडले खेल रोकेको थियो।

सुरुमा एक प्रशासकको आँखाले हेर्दा मैले सोचेँ- ‘सायद यो कुनै प्राविधिक विवाद थियो होला। रन रेटको हिसाब नमिलेर वा अम्पायरको गल्तीले दर्शक रिसाए होलान्। आखिर रन रेटको दशमलव हिसाबमा कसले दङ्गा गर्छ र?’

तर म गलत थिएँ, शत प्रतिशत गलत। मैले एउटा ‘फ्यान’को नजरले त्यसलाई हेरेकै थिइनँ। सत्य निकै गहिरो र भावनात्मक थियो। उनीहरूले दशमलवको हिसाब नमिलेर दङ्गा गरेका थिएनन्। उनीहरू आफ्नो टिमले हार्दै छ भन्ने कुरा स्वीकार गर्न नसकेर आक्रोशित थिए।

त्यो फेब्रुअरी २०१० को डिभिजन ५ को निर्णायक मोड थियो। अमेरिका जितको नजिक थियो र नेपाल डिभिजन ४ मा उक्लने सपनाबाट बञ्चित हुँदै थियो। कीर्तिपुरको मैदानमा उपस्थित हजारौँ दर्शकका लागि यो हार केवल खेलको नतिजा थिएन; यो त उनीहरूको राष्ट्रिय स्वाभिमानमाथिको प्रहार जस्तै थियो।

जब हार निश्चित जस्तै देखियो, दर्शकले केवल हुटिङ गरेनन्, हस्तक्षेप नै गरे। ढुङ्गामुढा भयो, प्रहरी आयो। बाहिरका मान्छेका लागि त्यो अराजकता थियो होला। तर, नेपाली दर्शकका लागि त्यो ‘आफ्नो सपना मर्न नदिने जिद्दी’ थियो।

रोचक कुरा के भयो भने, खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियम लागू भयो र संयोगवश गणितीय हिसाब नेपालको पक्षमा आयो। नेपाल रन रेटको आधारमा अघि बढ्यो। त्यो घटना विवादास्पद पक्कै थियो, तर मेरो लागि एउटा अमिट पाठ बन्यो- ‘नेपाली फ्यानहरू अर्कै धातुले बनेका छन्।’

संसारका अन्य ठूला देशहरूमा आफ्नो टिम हार्न थालेपछि ट्राफिक जाम छल्न दर्शकहरू खेल नसकिँदै घरतिर लाग्छन्। तर नेपालमा? उनीहरू खेल जित्ने कुनै न कुनै बाटो नभेटिएसम्म मैदान छोड्दैनन्।

अर्गानिक उदय अनि  क्रमिक विकास
नेपालको क्रिकेट विकास कुनै कोलोनाइज लिगेसी होइन। यो त २००० को दशकको अन्त्यतिर महसुस गरिएको एउटा यथार्थबाट सुरू भएको मौलिक यात्रा हो।

त्यतिबेला सायद उनीहरूलाई लाग्यो होला- ‘क्रिकेट नै एउटा यस्तो विश्वव्यापी खेल हो, जसमा नेपालले आफ्ना धनी र शक्तिशाली छिमेकीहरूसँग आँखामा आँखा जुधाएर प्रतिस्पर्धा गर्न सक्छ र जित्न पनि सक्छ।’

यही सोचले ‘ग्रासरुट’बाट क्रान्ति ल्यायो। यो आईसीसीको लाखौं डलर अनुदानले बनेको होइन, यो देशका धुलाम्मे मैदानहरूबाट निस्किएका प्रतिभाहरूको पसिनाले सिञ्चित उपज हो।

हामी त्यसलाई निर्धक्कसँग ‘स्वर्ण पुस्ता’ भन्न सक्छौँ। जसमा विनोद दासले बलिङ आक्रमण सम्हाल्दै टिमलाई विश्वसनीयता दिलाए भने सन् २००९ मा कप्तानी सम्हालेका पारस खड्का ‘फेस अफ द नेसन’ बने। उनले क्रिकेटलाई केवल एउटा ‘सोख’बाट ‘राष्ट्रिय पहिचान’मा बदलिदिए।

र, यो यात्रामा छुटाउनै नहुने अर्को नाम हो- श्रीलङ्काली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके। उनले नेपाली टिमलाई व्यावसायिक बनाए। उनले एउटा मन्त्र दिएका थिए- ‘हामीसँग भारत वा अष्ट्रेलियाको जस्तो पैसा र स्रोतसाधन नहोला, तर हामी फिटनेस र फिल्डिङमा उनीहरूलाई पछाडि पार्न सक्छौँ।’

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा छनोट हुनु यसैको प्रमाण थियो। त्यतिबेला विश्वले देख्यो- नेपाल यहाँ आइपुग्न लायक थियो।

सफलतापछिको प्रशासनिक झमेला
नेपालको क्रिकेट कथा कहिल्यै सिधा र सहज रेखामा चलेन। सन् २०१४ देखि २०१६ को बीचमा नेपालले आधुनिक क्रिकेटको सबैभन्दा ठूलो विवादको सामना गर्यो।

मैदानभित्र टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको थियो, तर मैदानबाहिर क्रिकेट संघ (क्यान) भताभुङ्ग हुँदै थियो। चरम राजनीतिक हस्तक्षेप र आर्थिक अनियमितताका कारण सन् २०१६ मा आईसीसीले क्यानलाई निलम्बन गर्यो।

कुनै पनि एसोसिएट राष्ट्रका लागि यो मृत्युदण्ड सरह हुन्छ। बोर्ड निलम्बन हुनु भनेको खेल सकिनु हो। तर, अचम्म! नेपाली क्रिकेट टिम ढलेन। क्यान ढले पनि क्रिकेट बच्यो। किनकि फ्यानहरूले यसलाई मर्न दिएनन्।

निजी क्षेत्र अघि सर्यो, धनगढी प्रिमियर लिग (डीपीएल), एभरेष्ट प्रिमियर लिग (ईपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) जस्ता प्रतियोगिताहरू चले। बोर्ड निलम्बनमा हुँदा पनि रंगशाला खचाखच भरिए। व्यापारिक भाषामा भन्दा- यो नै ‘प्रोडक्ट-मार्केट फिट’को असली परिभाषा हो।

वर्तमान र भविष्य: एक नयाँ शक्ति
यदि २०१० को दशक अस्तित्व रक्षाको लडाइँ थियो भने, २०२० को दशक विश्व मञ्चमा ‘आगमन’ को उद्घोष हो।

सेप्टेम्बर २०२५ मा भएको टी-२० सिरिजमा नेपालले वेस्ट इन्डिजलाई केवल हराएन, ध्वस्त बनायो। दोस्रो खेलमा दुई पटकको विश्व च्याम्पियनलाई ८३ रनमा अलआउट गर्दै ९० रनको फराकिलो अन्तरले जित्नु कुनै संयोग थिएन।

आसिफ शेखको ब्याटिङ र आदिल आलमको बलिङले प्रमाणित गर्यो कि नेपालको ‘स्वर्ण पुस्ता’ अब विश्वका ठूला टिमहरूलाई हराउन तयार छ। अहिले क्यानको निलम्बन हटेको छ। क्यान आफ्नो लयमा फर्किएको छ र पहिलेभन्दा धेरै व्यवस्थित र महत्त्वकांक्षी देखिन्छ।

आज कीर्तिपुर मैदान छिर्दा यो कुनै टेस्ट राष्ट्रको रंगशाला जस्तै लाग्छ। टिकटहरू हटकेक बनिसकेका छन्। अहिले जारी ‘नेपाल प्रिमियर लिग’ कुनै स्थानीय प्रतियोगिता मात्र रहेन, यो क्षेत्रीय पावरहाउस बनेको छ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सजस्ता टिमहरूले जसरी क्षेत्रीय एकता र जोस सिर्जना गरेका छन्, त्यो देख्न अन्य देशका लिगहरूलाई दशकौं लाग्छ। मैदानमा जडान गरिएको ‘फ्लडलाइट’ले नेपाली क्रिकेटलाई ‘डे-टाइम’ सोखबाट ‘प्राइम-टाइम’ मिडिया प्रडक्टमा परिणत गरिदिएको छ।

लगानीका लागि नेपाल क्रिकेट निर्विकल्प ‘टेम्प्लेट’
लगानीको दृष्टिकोणबाट हेर्ने हो भने, नेपाली क्रिकेट अहिले विश्वकै उत्कृष्ट स्थानमा छ। यहाँ अमेरिकाको जस्तो अर्बौं पुँजी खर्चेर फ्यान बनाउनुपर्ने बाध्यता छैन। न त मध्यपूर्वको जस्तो पैसा भएर पनि आप्रवासी दर्शकहरूको भर पर्नुपर्ने अवस्था छ।

नेपालसँग त त्यो चिज छ जुन हजारौं डलर तिरेर किन्न पाइँदैन- फ्यानहरू। यहाँका बच्चा जन्मँदै क्रिकेटको भोक लिएर जन्मिएका छन्।

नेपाल बाहिर रहेका लाखौं डायस्पोराको शक्ति अझै प्रयोग हुन बाँकी छ। यहाँ टिकट बेच्नका लागि मार्केटिङमा धेरै खर्च गर्नुपर्दैन, किनकि फ्यानहरू पहिल्यै लाइनमा बसिसकेका हुन्छन्।

नेपालले विश्वलाई प्रमाणित गरेको छ कि महत्त्वपूर्ण हुनका लागि सय वर्षको टेस्ट इतिहास वा अर्बौंको प्रसारण सम्झौता चाहिँदैन। चाहिन्छ त केवल- अन्तिमसम्म लड्ने टिम र आफ्नो टिमका लागि मरिहत्ते गर्ने दर्शक।

त्यसैले, नेपाल अब उदाउँदो बजार होइन। नेपाल उदाइसकेको बजार हो। विश्वले मात्र यसको सही मूल्य तोक्न सकेको छैन।

यदि हामीले नेपालमा सही लगानी गर्यौं भने, यो खेलकुदको विश्वव्यापी विकासको सबैभन्दा ठूलो प्रमाण बन्नेछ। र, चलाख लगानीकर्ताका लागि यो विश्वको नक्सामा रहेको सबैभन्दा कम मूल्य तोकिएको बहुमूल्य सम्पत्ति बन्नेछ।

(आईसीसीको ‘वर्ल्ड क्रिकेट लिग’को व्यवस्थापनमा जोडिएका एडि फिट्जगिबन क्रिकेट-प्रविधि र खेल व्यवसायका सल्लाहकार तथा विख्यात संस्था विसडनका बोर्ड सदस्यसमेत हुन्। यो उनले अंग्रेजीमा लेखिएको लेखको नेपाली अनुवाद हो।)

मंसिर १९, २०८२ शुक्रबार ०९:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।