एनपीएलमा आज दुई खेल हुँदै, शीर्ष स्थानको सुदूरपश्चिम र पुच्छारको जनकपुरबीच ‘हाई भोल्टेज’ भिडन्त

एनपीएलमा आज दुई खेल हुँदै, शीर्ष स्थानको सुदूरपश्चिम र पुच्छारको जनकपुरबीच ‘हाई भोल्टेज’ भिडन्त

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच विहान ११ बजे पहिलो खेल हुँदैछ।

प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीका लागि यो खेल ‘गर वा मर’ को स्थितिमा छ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले चार खेलमध्ये एकमा मात्र जित हात पारेको छ। उता, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक जित निकालेको छ।

अङ्क तालिकामा पोखरा छैटौँ र लुम्बिनी सातौँ स्थानमा छन्। अघिल्लो चरण प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ।

आजको दोस्रो तथा मुख्य आकर्षणको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

तालिकाको शीर्ष र पुछारमा रहेका टोलीबीचको यो प्रतिस्पर्धा रोचक हुनेछ । जारी लिगमा सुदूरपश्चिम अपराजित यात्रामा छ।

चारवटै खेल जितेर शीर्ष स्थानमा आसिन सुदूरपश्चिम आजको खेल जितेर प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ। साथै, गत संस्करणको फाइनलमा जनकपुरसँग व्यहोरेको हारको बदला लिने दाउमा समेत सुदूरपश्चिम रहेको छ।

यता, साविक विजेता जनकपुरको अवस्था भने नाजुक छ। तीन खेल खेल्दा पनि अङ्कविहीन रहेको जनकपुर अङ्क तालिकाको पुच्छारमा छ।

प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको जनकपुरका लागि आजको खेल नजिते प्लेअफ दौडबाट बाहिरिने खतरा बढेको छ।

मंसिर १३, २०८२ शनिबार ०७:४४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।