१४ खेल सकिँदा एनपीएलमा १४ अर्धशतक : सुदूरपश्चिम अविजित, डिफेन्डिङ च्याम्पियन जनकपुर अंकविहीन
काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो चरणका १४ खेल सकिएका छन्।
मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको हालसम्मको नतिजा हेर्दा ब्याटरहरू हाबी देखिएका छन्। १४ खेल समाप्त हुँदा एक शतक र १४ अर्धशतक प्रहार भइसकेका छन्।
जारी सिजनमा हालसम्म कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले मात्र शतक प्रहार गर्न सफल भएका छन्। लुम्बिनी लायन्सविरुद्धको खेलमा वाटले विस्फोटक ब्याटिङ गर्दै ४१ बलमै शतक पूरा गरे।
उनले ११४ रनको अविजित इनिङ खेल्दै एनपीएल इतिहासमै सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान कायम गरे।
यसअघि एनपीएलको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ५४ बलमा १०४ रन बनाउँदै शतक प्रहार गरेका थिए।
विदेशी खेलाडीको दबदबा, रवि बोपराको ह्याट्रिक अर्धशतक
जारी प्रतियोगितामा प्रहार भएका १४ अर्धशतकमध्ये ९ वटा विदेशी खेलाडीको नाममा र ५ वटा मात्र नेपाली खेलाडीको नाममा रहेको छ।
चितवन राइनोजका विदेशी खेलाडी रवि बोपरा उत्कृष्ट लयमा देखिएका छन्। उनले व्यक्तिगत रूपमा सर्वाधिक तीन अर्धशतक प्रहार गर्दै अहिलेसम्म सबैभन्दा बढी (१८३) रन बनाउने ब्याटरको सूचीमा शीर्ष स्थान ओगटेका छन्।
नेपाली खेलाडीतर्फ पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दुई अर्धशतक प्रहार गरेका छन्। यसबाहेक सुदूरपश्चिमका विनोद भण्डारी, जनकपुरका आसिफ शेख, विराटनगरका लोकेश बम र कर्णालीका प्रियान्क पन्चालले एक-एक अर्धशतक बनाएका छन्।
विदेशी खेलाडीतर्फ सुदूरपश्चिमका हर्मित सिंह र जोश ब्राउन, जनकपुरका वायन पार्नेल तथा विराटनगरका मार्टिन गुप्टिलले पनि अर्धशतक प्रहार गरिसकेका छन्।
सुदूरपश्चिम शीर्ष स्थानमा, जनकपुर अंकविहीन
अंक तालिकाको विश्लेषण गर्दा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले सानदार प्रदर्शन गरिरहेको छ। लगातार चार खेल जित्दै ८ अंकका साथ सुदूरपश्चिम शीर्ष स्थानमा छ र ‘प्लेअफ’ नजिक पुगेको छ।
दोस्रो स्थानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स छ। विराटनगरले ४ खेलबाट ६ अंक जोड्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। सन्दीप लामिछाने ९ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने बलरको सूचीमा अगाडि छन्।
यता, गत सिजनको विजेता जनकपुर बोल्ट्सको अवस्था भने दयनीय छ। अनिल शाहको कप्तानीमा रहेको जनकपुरले खेलेका तीनवटै खेल हारेर पुछारमा छ। अंकविहीन जनकपुरका लागि प्लेअफको ढोका बन्द हुँदै गएको छ।
कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज ३ खेलबाट ४ अंक सहित तेस्रो स्थानमा रहँदा ४ खेलमा दुई जितसहित चार अंक नै बटुलेको करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाज चौथो स्थानमा छ।
कर्णाली र पोखरा तीन खेलबाट समान २-२ अंक जोड्दै क्रमशः पाँचौं र छैटौं स्थानमा रहँदा ४ खेलमा १ जितसहित २ अंकका साथ लुम्बिनी लायन्स सातौं स्थानमा छ।
राष्ट्रिय टोलीको समेत नेतृत्व गरिरहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी र पुछारका अन्य टोलीहरूलाई प्लेअफमा स्थान बनाउन अबका बाँकी खेल जित्नैपर्ने दबाब छ।
कीर्तिमानी स्कोर र न्युनतम योगफल
यसपटकको एनपीएलमा सर्वाधिक टिम स्कोरको रेकर्ड पनि बनेको छ। विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रनको विशाल योगफल खडा गर्दै एनपीएल इतिहासकै उच्च स्कोर बनाएको छ। यसअघि सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो।
अर्कोतर्फ, जारी सिजनको न्युनतम स्कोर भने कर्णाली याक्सको नाममा रह्यो। सुदूरपश्चिमविरुद्धको खेलमा कर्णाली ९४ रनमै समेटिएको थियो।
मंसिर १२, २०८२ शुक्रबार १२:५७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।