शान्ति प्रस्तावमाथि असन्तुष्टि चुलिएपछि ट्रम्पले भने : ‘यो अन्तिम अफर होइन’

शान्ति प्रस्तावमाथि असन्तुष्टि चुलिएपछि ट्रम्पले भने : ‘यो अन्तिम अफर होइन’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्नका लागि अमेरिकाले ल्याएको प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन्। ट्रम्पले युक्रेनलाई २८ बुँदे योजना स्वीकार गर्नका लागि २७ नोभेम्बरसम्मको समय दिएका थिए। अमेरिकाको यो शान्ति प्रस्तावलाई लिएर युक्रेनका सहयोगी राष्ट्रहरूले चिन्ता व्यक्त गरेका छन्।

ट्रम्पको यो शान्ति योजना रुसतिर ढल्केको मानिँदै छ। शनिबार युरोप, क्यानडा र जापानका नेताहरूले यस योजनामा ‘न्यायसङ्गत र दिगो शान्ति’का लागि महत्त्वपूर्ण भए पनि ‘अझै काम गर्न आवश्यक’ रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिमानामा हेरफेर (बदलाव) र युक्रेनको सेनाको संख्या घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरेका छन्।

आइतबार बेलायत, फ्रान्स, जर्मनी, अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरूले जेनेभा (स्विट्जरल्यान्ड) मा भेटवार्ता गर्नेछन्। यस योजनाबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश ‘सङ्कटको नयाँ चरण’मा प्रवेश गरिरहेको उल्लेख गर्दै भनेका छन्, 'युक्रेन अब अत्यन्तै चुनौतीपूर्ण निर्णयको घडीमा छ- या त गरिमा गुमाउने जोखिम, वा प्रमुख साझेदार गुमाउने भय। या त २८ बुँदे कठोर प्रस्ताव स्वीकार्ने, वा अर्को कठोर जाडो सहने।'

यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने यो योजना सम्झौताको ‘आधार’ बन्न सक्ने बताएका छन्। शनिबार जब ट्रम्पलाई 'के यो विद्यमान मस्यौदा युक्रेनका लागि उनको अन्तिम प्रस्ताव हो?' भनी सोधिएको थियो, ह्वाइट हाउसमा उनले पत्रकारहरूसँग भने, "होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।"

उनले अगाडि थपे, 'कुनै न कुनै तरिकाले हामीले यो युद्धलाई अन्त्य गर्नु छ, त्यसैले हामी यसमा काम गरिरहेका छौं।'
 

मंसिर ७, २०८२ आइतबार १०:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।