अञ्जनासँग हिमानीको फोटो, ‘परान’का निर्देशक दीपक दंग
काठमाडौं : पहिलो साता अपेक्षित व्यापार गर्न नसकेको ‘परान’ले पछिल्ला दिनमा भने 'दिन दुई गुना रात चार गुना'को व्यापार गरिरहेको छ। पहिलो हप्ता एक करोड ग्रसको व्यापार गरेको यो फिल्मले दोस्रो हप्ता ३ करोड ७१ लखको व्यापार गरेको थियो। तेस्रो हप्तामा प्रवेश गरेको अर्थात् गत शनिबार रातीसम्मको सिनेमा बक्स अफिसमा ९ करोड ८६ लाख ९४ हजार ७ सय ६४ रुपैयाँ ग्रस कलेक्सन गर्यो।
यो तीन हप्ताको ग्रस कलेक्सन हो। फिल्मले दैनिक जसो करोडको व्यापार गर्न थालेपछि दंग देखिएका यस फिल्मका लेखक तथा निर्देशक दीपकप्रसाद आचार्य (काकु) यति बेला दंग छन्। फिल्मको व्यापारले उत्साहित बनेका उनी सोमबार बेलुका ८ बजे पूर्व युवराज्ञी हिमानी शाहले दरबार मलस्थित क्यूएफएक्स चेनको दरबार सिनेप्लेक्समा फिल्म ‘परान’ हेरेर राम्रो प्रतिक्रिया दिएपछि उनको मुहारमा छुट्टै चमक देखियो।
त्यति मात्र होइन, हिमानीले फिल्मका कलाकार तथा निर्देशकसँग फोटो खिचाएपछि निर्देशक आचार्य निकै खुसी देखिन्थे। उनले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै हिमानीले फिल्म मन परेको र ‘परान’मा नेपालीपन भएको प्रतिक्रिया दिएपछि उनी दंग छन्। पूर्व राज परिवारका सदस्यहरू राम्रो समीक्षा पाएको नेपाली फिल्म हेर्न बेलाबेलामा दरबार मार्गको हलमा पुग्ने गरेका छन्। यो फिल्मको चर्चा भएसँगै शाह फिल्म हेर्न हलमा पुगेकी हुन्। जहाँ उनले फिल्मकी मुख्य पात्र अञ्जना बराइलीसँग पनि फोटो खिचाएकी छन्।
यस फिल्मको मुख्य भूमिकामा अञ्जनासँगै नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजाचन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य लगायतको अभिनय रहेको छ। फिल्मलाई व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले लगानी गरेका हुन्।
मंसिर २, २०८२ मंगलबार १७:१५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।