केपी ओलीको शैलीमा सत्ता छाड्ने दिन गन्दै कार्की

केपी ओलीको शैलीमा सत्ता छाड्ने दिन गन्दै कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीमा सत्ता हस्तान्तरणको दिन गन्न थालेकी छन्।

नेपाली कांग्रेससँग सत्ताको नेतृत्वको समयसीमा तोकेर प्रधानमन्त्री बनेका ओलीले सार्वजनिक कार्यक्रमहरूमा यति महिनापछि शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु भनिरहन्थे। सत्ता बुझाउने दिन आउनु अगाडि नै जेनजी पुस्ताको आन्दोलनको प्रभावले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भाग्नु पर्यो।

छ महिनामा निर्वाचन गर्ने सर्तमा प्रधानमन्त्री बनेकी कार्कीले पनि सत्ता नेतृत्व गरेको दुई महिनामै आफ्नो दिन गन्ती गन्न सुरु गरिसकिन्।

ओलीले सहमतिअनुसार देउवालाई प्रधानमन्त्री पद छाड्ने बताउँथे। कार्की निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने दाबी गरिरहेकी छिन्।

सोमबार सीमित नागरिक अगुवासँगको भेटमा उनले दिन गनेरै अबको तीन महिना २१ दिनमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन्।

नागरिक समाजका १७ जनासँगको भेटमा उनले फागुन २१ को निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभई संवैधानिक रिक्तता टार्न अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी थिइन्।

केही पक्षले अन्योल सिर्जना गरे पनि अन्योल चिरेर निर्वाचन गर्ने दाबी गरिन्। विश्वसनीयताका लागि दलहरूलाई १० मंसिरभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउने सर्त रहेको र यो समयसीमा निर्वाचन सुनिश्चितताको प्रमुख सूचक रहेको बताइन्।

‘म दलहरूसँग संवादमा छु। चुनावपछि मलाई एकछिन पनि सरकारमा बस्नु छैन। चुनाव सकिएपछि सरकार हस्तान्तरण गरेर फेरि नागरिक समाजमा फर्किन्छु," उनले भनिन् " जनताको बिचमा थिएँ, जनताको मुद्दा उठाएँ। अब पनि सरकार हस्तान्तरण गरेर तपाईंहरूसँगै फर्किन्छु,’ उनले भनिन्। 

मंसिर २, २०८२ मंगलबार १५:२१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।