स्तब्ध बनाउने जेन-जी आन्दोलनको एक अनुहार
काठमाडौं : मुखदेखि छातीसम्म लामो आलो घाउको टाँका। सास फेर्न घाँटीमा ट्र्याकियोस्टोमी ट्युब। नाकबाट पेटसम्म पुर्याइएको नेजोग्यास्ट्रिक ट्युब (एनजी ट्युब)। सुन्निएको गालामा आफ्नै देब्रे छातीको मांसपेशीले टालिएको छ। यो जेनजी आन्दोलनका किशोर घाइते शान्तनु ढकालको अवस्था हो।
एनजी ट्युब भनेको नाकबाट पेटसम्म छिराएर राखिने पातलो पाइप हो। मुखबाट सिधै खान नसक्ने बिरामीहरूलाई यसबाट खानेकुरा दिइन्छ। दुई महिनासम्म उनले यही एनजी ट्युबबाट खाना र औषधि खाए, त्यो पनि झोल मात्रै।
अहिले भने बल्ल ट्युब निकालिएको छ। शान्तनुले बल्ल मुखबाट खाना खान थालेका छन्। नाकमा त्यो ट्युब झुन्डि रहँदाको पीडा सम्झिँदा उनलाई अहिले खाना खाँदा हुने सामान्य दुखाइ केही लाग्दैन।
"मुख पूरा खोल्न अझै मिलेको छैन। गिलो मात्र खान मिल्छ। खाँदा दुख्ने चाहिँ हटेको छैन," उकेरासँग कुरा गर्दै उनले भने, "तर यो ट्युब राख्न नपरेपछि राम्रोसँग निदाउन सकेको छु। अनुहारमा सहज भएको छ।"

अहिले उनको घाँटीमा ट्र्याकियोस्टोमी ट्युब राखिएको छ। त्यसकै कारण उनी अझै बोल्न सक्दैनन्। उनले उकेरासँग सामाजिक सञ्जालमा लेखेर आफ्नो अवस्था खुलाए।
जेनजी आन्दोलनमा घाइते भएपछि उनको दैनिकी नै घर-अस्पताल, अस्पताल-घर भइरहेको छ। उनी कहिले बोल्न सक्छु होला भनेर दिन कुरेर बसेका छन्।
अहिलेको र पहिलेको सरकारसँग धेरै प्रश्न भएको बताउने उनी बोल्न सक्ने भएपछि आफ्नो कथा आफ्नै आवाजमा सुनाउन चाहन्छन्। कलेज गएर पढ्न, साथीभाइसँग भेट्न, शिक्षकहरूसँग ज्ञानका कुरा गर्न चाहन्छन्, तर स्वास्थ्यले साथ दिएको छैन।
अहिले उनी आफ्नो घाउ सफा राख्ने, पढ्ने अनि आफ्नै स्वास्थ्यबारे भिडियो कन्टेन्ट बनाएर सामाजिक सञ्जालमा राख्दै दिन कटाइरहेका छन्।
भिडको बिचमा गालामा गोली
१८ वर्षका शान्तनु मोरङको बुढीगंगा गाउँपालिकाको बरमनिया गाउँमा परिवारसँग बस्छन्। १२ कक्षामा विज्ञान विषय लिएर पढिरहेका उनी परिवारको एक्लो सन्तान हुन्। आमाबुवासँग वृद्ध हजुरआमाहरूको हेरचाहमा हुर्किएका उनका आमाबाबु दुवै किसान हुन्। उनीहरुले केही गाई र बाख्रा पालेका छन्। गाउँकै स्कुल पढेका उनी पछि इन्जिनियर बन्ने सपना लिएर सुकुना माध्यमिक विद्यालयमा भर्ना भए।
उनले ‘नेपो बेबी’ ट्रेण्ड बारे सामाजिक सञ्जालबाटै थाहा पाए। त्यसपछि उनलाई भ्रष्टाचार र अन्याय विरुद्ध उठेको आवाजमा आफू पनि सहभागी हुनुपर्छ भन्ने लाग्यो ।
उनले कलेजका साथीहरूसँग भदौ २३ गते को प्रदर्शनका लागि इटहरीमा जानबारे छलफल गरे। साथीहरूले टाढा छ नजाने भने। कलेज बिदा भएपछि उनी एकजना साथीसँग साइकलमा इटहरी उपमहानगरपालिकातिर लागे।
"कलेज सकिएपछि घर गएँ। कलेज ड्रेसमै आन्दोलनमा जाने योजना थियो, तर साथीहरू कम भएपछि ड्रेस चाहिँ लगाएनौँ," उनले च्याटमा उकेरासँग भने, "म घर जाँदा घरमा कोही पनि थिएनन्। त्यसैले घरमा म आन्दोलनमा जाँदैछु भन्ने कसैलाई थाहा भएन।"
दिउँसो तीन बजेतिर उनी साथीसहित इटहरी उप-महानगरपालिकाको भवन नजिक पुगे। त्यसबेला त्यहाँको प्रदर्शन झडपमा बदलिसकेको थियो। त्यहाँ पुगेको लगभग दश मिनेटपछि उप-महानगरपालिकाको भवनमा प्रदर्शनकारीहरूले आगो लगाए।
"केपी चोर देश छोड भन्ने नारा लागिरहेको बेला गोलीको आवाज आउन थाल्यो," भदौ २३ को इटहरीको अवस्था सम्झँदै उनले सुनाए, ‘टियर ग्यास पनि आँखै पोल्ने गरी आइरहेको थियो।"

प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले साढे तीन बजेदेखि इटहरी क्षेत्रमा कर्फ्युको सूचना जारी गर्यो। तर, यसबारे शान्तनुले जानकारी पाएनन्। भिड निकै भएकाले कहाँ जाने भन्ने पनि चाल पाएनन्। सँगै गएको साथी पनि छुटिसकेको थियो।
गोली चलेको आवाज आइरहेको थियो। उनी भिडको बिचमा थिए। उनले कता जाने, के गर्ने केही मेसो पाएनन् र अल्मलिए। एक्कासी उनले आँखा अगाडि कालो देख्न थाले। उनलाई गोली लागिसकेको थियो।
"एकछिन त पूरा ब्ल्याङ्क भएँ। अनि आफूलाई सम्हाल्न खोजेँ। मेरो जिउभरि रगत थियो, तर के भयो भन्ने थाहै भएन," उनले भने, ‘गोली चल्छ भन्ने नै थाहा थिएन। विद्यार्थीको आन्दोलन यस्तो हुन्छ भन्ने सोचेकै थिइनँ।"
रगतले लत्पतिएको शान्तनुलाई देखेर भिड डरायो। धन्य, केही व्यक्तिहरूले उनलाई समातेर नजिकैको मेडिकलमा लगे। गोलीले उनको देब्रे गालामा प्वाल पारेर जबडा र बंगाराको तल्लोपट्टिको हड्डी भाँचिएको थियो।
त्यसबेला डर लागेन? भन्ने प्रश्नमा उनले भने, "म भन्दा बढी त मलाई देख्नेहरू डराउनुभयो। एकछिन त के भयो भन्ने नै थाहा पाइनँ। गोली लागेको थाहा पाएपछि आफूलाई नियन्त्रणमा राखेँ।"
गोलीले बनाएको घाउ सामान्य थिएन। मेडिकलमा उपचार सम्भव भएन। प्राथमिक उपचार गरेर तुरुन्तै एम्बुलेन्समा राखेर विराट मेडिकल कलेज लगियो। एम्बुलेन्सभित्र गोली लागेका अरू घाइतेहरू पनि थिए।
अस्पताल लगेपछि मात्र कति गम्भीर चोट लागेको रहेछ भन्ने थाहा भयो। सास फेर्नै गाह्रो भएकाले तत्काल अपरेसन गरेर ट्र्याकियोस्टोमी ट्युब राखियो। ट्र्याकियोस्टोमी भनेको घाँटीको अगाडि सानो प्वाल पारेर श्वास-नलीमा ट्युब राख्ने अपरेसन हो। भदौ २३ गते पाँच बजे सुरु भएको उनको अपरेसन बिहान तीन बजे सकिएको थियो।
गोली लागेको गालाको छाला तर मासु कामै नलाग्ने भएको रहेछ। त्यसैले छातीको मांसपेशी निकालेर टालियो। उनी २२ दिन अस्पतालमा बसे। त्यस बेलासम्म उनको मुखको प्लेट इम्प्लान्टको अपरेसन पनि भयो। प्लेट इम्प्लान्ट भनेको हड्डी भाँचिएको ठाउँमा हड्डी जोड्न राखिने फलामे प्लेट हो।

त्यस्तै पीएमएमसी (पेक्टोरलिस मेजर मायोक्यूटेनियस) फ्लाप सर्जरी पनि भयो। पीएमएमसी फ्लाप सर्जरी भनेको आफ्नै छातीको मांसपेशीले बंगाराको भाग पुनर्निर्माण गर्ने सर्जरी हो। यति धेरै अपरेसन र सर्जरीले गर्दा पछि गाह्रो हुन्छ हुँदैन, उनलाई केही थाहा छैन।
‘अझै मुख्य अपरेसन गर्न बाँकी छ। यी सब त जीवन बचाउने अपरेसन मात्र हुन्’, उनले भने।
फलामको प्लेटको ठाउँमा खुट्टाको एफएफएफ (फिबुला फ्री फ्लाप) को अपरेसन गर्नुपर्ने हुन्छ। एफएफएफ भनेको खुट्टाको तल्लो भागको हड्डी काटेर नयाँ बंगाराजस्तै बनाउनु हो।
प्लेटको अवस्था हेरेर यो अपरेसन गर्ने भनिएको उनी बताउँछन्। उनका अनुसार यो अपरेसन तीन/चार वर्षपछि पनि हुन सक्छ, दश/पन्ध्र वर्ष पनि लाग्न सक्छ। यो अपरेसनलाई बंगारा पुनर्निर्माणको सबैभन्दा राम्रो विकल्प मानिन्छ।
एकातिर स्वास्थ्य अवस्था अनि अर्कोतिर इन्जिनियरको सपना। आफ्नो स्वास्थ्य पहिले जस्तो होला कि नहोला भन्ने चिन्ता हुने नै भयो। त्यसमा अब पढाइ के होला भन्ने थप चिन्तामा देखिए उनी।
घाइतेको कार्ड पाए, औषधि खर्च पाएनन्
उनीजस्तै घाइते मात्र हैन, ४५ जना शहीदको रगतको बलमा जेनजीको प्रतिनिधि बन्दै सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो। तर, उनले नयाँ सरकारको नयाँ शैलीको त्यति अनुभव गर्न पाएका छैनन्। उनी घाइते भएको १२औं दिनमा अर्थमन्त्री रामेश्वर खनाल भेट्न पुगेका रहेछन्। त्यसपछि सरकारका कुनै प्रतिनिधिले नभेटेको उनी बताउँछन्।
कार्की नयाँ प्रधानमन्त्री बनेको सुन्दा कस्तो लाग्यो भन्ने उकेराको जिज्ञासामा मेसेन्जरमा उनले लेखे, "पहिलाको भन्दा राम्रै हो भन्ने लागेको थियो।"
केन्द्रमा जेनजीको सरकार बन्यो। सरकारले कहिले घाइतेको वर्गीकरण भन्छ त कहिले सबै उपचार निःशुल्क भन्छ। अस्पतालमा भएको उपचारको खर्च तिर्नु परेन। तर, डिस्चार्जपछि पनि औषधि भने छुटेको छैन। त्यो आफैंले किन्नु परेको उनले सुनाए।

उनी केही दिनअघि जिल्ला प्रशासन कार्यालय गएर जेनजी घाइतेको कार्ड पनि बनाए। तर, कार्ड बने पनि औषधि लगायतको उपचार निःशुल्क हुनु त परको कुरा, छुटसमेत पाएका रहेनछन्। उनको थप मुख्य उपचार नै बाँकी छ। बाँकी मुख्य उपचारको खर्च आफैंले गर्नुपर्ने हो कि भन्ने चिन्तामा छन् उनी।
"ब्यक्तीगत केही आशा राखेर हामी घाइते भएका होइनौ। परिवर्तनको जुन उद्देश्यका साथ आन्दोलन भएको थियो, त्यो पूरा हुनुपर्यो," उनले उकेरासँग भने, "मेरो दीर्घकालीन स्वास्थ्यमा पनि राज्यको ध्यान जाओस्। पछि गर्नुपर्ने अपरेसन, औषधिहरूमा सहयोग गरिदेओस्।"
चुनावबाट परिवर्तनको आशा
जेनजी आन्दोलनसँगै नयाँ सरकार बनेको दुई महिनाभन्दा बढी भइसक्यो। राजनीतिक माहोल झन् बिग्रँदैछ। सरकारको गति सुस्त छ। पुरानै सरकारझैँ नयाँ सरकारका निर्णय र व्यवहार पनि विवादित बनिरहेका छन्। यी सबै देख्दा उनलाई नराम्रो लागेको छ।
उनी शान्तिपूर्ण आन्दोलनमा जाँदा गोली लागेर ज्यान गुमाएका र आफू जस्तै गोली लागेर घाइते भएकाहरूको न्यायका लागि जसले शान्तिपूर्ण आन्दोलनमा गोली चलाउन आदेश दियो उसलाई कारबाही भएको हेर्न चाहन्छन्। तर कारबाही कहिले हुने हो एकिन छैन।
सरकारले आगामी निर्वाचनका लागि नयाँ मतदाताहरूलाई नाम दर्ताका लागि आव्हान गरे अनुसार उनी पनि सहभागी भएर आफ्नो नाम दर्ता गरिसकेका छन्। उनी आफ्नो परिवर्तनको चाहना मतदानमार्फत व्यक्त गर्ने तयारीमा छन्। उनलाई अब परिवर्तन पनि चुनावको नतिजाबाट मात्र सम्भव छ भन्ने लाग्छ।
"सकारात्मक समाचार सुन्न पाएको छैन। अब मुख्य आशा चुनावबाट मात्र छ,’ उनले भने, ‘फागुनमा चुनाव गर्ने भनेपछि मतदाता नामावलीमा नाम पनि दर्ता गराइसकेँ।"
मंसिर २, २०८२ मंगलबार ११:४६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।