एनपीएलको सुरक्षामा गृहमन्त्रीको चासो, राती खेल हुने भएकाले थप सजग हुन निर्देशन

एनपीएलको सुरक्षामा गृहमन्त्रीको चासो, राती खेल हुने भएकाले थप सजग हुन निर्देशन

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने एनपिएल-२ को सुरक्षा कसिलो बनाउन निर्देशन दिएका छन्। उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापालाई मन्त्रालयमा बोलाएर एनपिएलको सुरक्षा प्रबन्धबारे ब्रिफिङ लिएका थिए।

अर्यालको सचिवालयका अनुसार उनले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिने गरी सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएका हुन्। 

"रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुत र दुरुस्त हुन जरुरी छ। सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु", मन्त्री अर्यालले बैठकमा भने। 

गत वर्ष एनपिएलको उद्घाटन खेलमा दर्शकहरूको अधिक चापका कारण भागदौडहुँदा क्रिकेट हेर्न गएकाहरू भिडमा च्यापिएर घाइते भएका थिए। यस पटक टीयू क्रिकेट रङ्गशालाको भौतिक संरचनामा सुधार गरिएको छ। तर यसपालिको उद्घाटन खेलको सबै टिकट विक्री भइसकेका छन्।

क्रिकेट हेर्न चाहने दर्शकहरू क्रिकेट रङ्गशाला क्षेत्रमा भेलाहुँदा सुरक्षा चुनौती बढ्न सक्ने भएकाले क्यानका सचिव पारस खड्काले भिडियो सन्देश जारी गर्दै टिकट नपाएकाहरूले घरमै बसेर लाइभ हेर्न आग्रह गरेका थिए।

कात्तिक ३०, २०८२ आइतबार १८:००:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।