बेमौसमी वर्षाले लुम्बिनीमा १३ करोडभन्दा बढीको धानबाली नष्ट

बेमौसमी वर्षाले लुम्बिनीमा १३ करोडभन्दा बढीको धानबाली नष्ट

बुटवल : लुम्बिनी प्रदेशमा गत हप्ता परेको बेमौसमी वर्षाका कारण ८९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यसबाट किसानहरूले १३ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति बेहोरेका छन्।

निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसाको समर्थन मूल्य र प्रतिहेक्टर ४.३३ मेट्रिक टन उत्पादकत्वको आधारमा क्षतिको मूल्यांकन गरिएको जानकारी दिए।

यस वर्ष लुम्बिनी प्रदेशमा कुल २ लाख ९८ हजार १० हेक्टरमा धान खेती गरिएको थियो, जसमध्ये ०.३० प्रतिशत बालीमा क्षति पुगेको हो। वर्षाले प्रदेशका दाङ, बाँके, रोल्पा, प्यूठान र रुकुम पूर्वमा भने कुनै क्षति नपुर्याएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयको तथ्यांकअनुसार हालसम्म प्रदेशभर करिब १ लाख ६९ हजार ३१५ हेक्टरको धान काटिसकिएको छ भने ७ हजार २५० हेक्टरको काटेको धान खेतमै भिजेको छ। अझै १ लाख २१ हजार २१५ हेक्टरमा धान काट्न बाँकी रहेको गैरेले बताए।

वर्षाका कारण सबैभन्दा बढी क्षति रुपन्देही, गुल्मी र नवलपरासीमा भएको छ। ५९ हजार ९६१ हेक्टरमा धान खेती गरिएकोमा रुपन्देहीमा २४० हेक्टरमा पूर्ण क्षति भएको छ। जिल्लामा ३१ हजार १८० हेक्टरको धान भित्र्याइएको छ भने ३६० हेक्टरको धान खेतमै भिजेको छ।

यस्तै पहाडी जिल्ला गुल्मीमा पनि वर्षाले ठूलो क्षति गरेको छ। कुल ७ हजार ३८७ हेक्टरमध्ये २२२ हेक्टरको धानबाली पूर्ण रूपमा नष्ट भएको छ। जिल्लामा ४ हजार ९४९ हेक्टरमा धान काट्न बाँकी छ।

त्यसैगरी नवलपरासी (पश्चिम)मा २० हजार ७० हेक्टरमध्ये २०१ हेक्टरमा पूर्ण क्षति पुगेको छ। यहाँ १२ हजार ६४४ हेक्टरको धान भित्र्याइएको छ र ४१० हेक्टरको धान खेतमा भिजेको छ।

यसका अलावा कपिलवस्तुमा ६५ हजार ५४१ हेक्टरमध्ये १४४ हेक्टरको धानबालीमा क्षति पुगेको छ। जिल्लामा अझै ३९ हजार १८८ हेक्टरमा धान काट्न बाँकी छ। त्यस्तै, अर्घाखाँचीमा ५३ हेक्टर, पाल्पामा ३२ हेक्टर र बर्दियामा ५ हेक्टर क्षेत्रफलको धानबालीमा पूर्ण क्षति भएको तथ्यांक छ।

कात्तिक २२, २०८२ शनिबार ११:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।