यौन काण्डमा मुछिएपछि राजा चार्ल्सद्वारा भाइ एन्ड्र्युको पदवी खोसियो, दरबारबाट पनि निकालियो
लन्डन : बेलायतका राजा चार्ल्सले यौन शोषणको गम्भीर आरोपमा मुछिएका आफ्ना भाइ प्रिन्स एन्ड्र्युलाई उनको राजकीय पदवीबाट हटाएका छन्।
साथै, उनलाई विन्डसरस्थित शाही निवासबाट पनि निष्कासन गरिएको छ।
बकिङ्घम प्यालेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै बदनाम अमेरिकी अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धका कारण शाही परिवारले एन्ड्र्युबाट दूरी बनाउन चाहेको स्पष्ट पारेको छ।
प्रिन्स एन्ड्र्युको नाम लामो समयदेखि नाबालिगहरूको यौन शोषणका आरोपी अमेरिकी अपराधी जेफ्री एपस्टिनसँग जोडिएको थियो।
भर्जिनिया गिफ्रे नामक एक पीडित महिलाले सन् २००१ मा आफू १७ वर्षकी हुँदा प्रिन्स एन्ड्र्युले आफ्नो यौन शोषण गरेको आरोप लगाएकी थिइन्। यही आरोपका कारण एन्ड्र्यु लामो समयदेखि विवादमा तानिँदै आएका थिए।
यो निर्णयसँगै ६५ वर्षीय एन्ड्र्युले अब ‘प्रिन्स’ वा ‘ड्युक अफ योर्क’ जस्ता शाही उपाधिहरू प्रयोग गर्न पाउने छैनन्। बकिङ्घम प्यालेसका अनुसार अब उनको परिचय ‘एन्ड्र्यु माउन्टबेटन-विन्डसर’ हुनेछ।
यो नाम बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीय र उनका पति प्रिन्स फिलिपको पारिवारिक नामहरू मिलाएर बनाइएको हो।
दुःखको कुरा, प्रिन्स एन्ड्र्युमाथि यौन शोषणको आरोप लगाउने भर्जिनिया गिफ्रेको गत अप्रिलमा ४१ वर्षको उमेरमा मृत्यु भइसकेको छ। रिपोर्टका अनुसार उनले आत्महत्या गरेकी थिइन्।
भर्जिनियाले सन् २०११ मा अमेरिकाको एक हाइ-प्रोफाइल यौन तस्करी सञ्जालको पर्दाफास गरेर संसारलाई चकित पारेकी थिइन्।
उनले आफू १५ वर्षको उमेरमा एपस्टिनको सञ्जालमा फसेको र प्रिन्स एन्ड्र्यु लगायत थुप्रै शक्तिशाली व्यक्तिहरूसँग यौन सम्बन्ध राख्न बाध्य पारिएको खुलासा गरेकी थिइन्। उनले सन् २०२१ मा एन्ड्र्युविरुद्ध मुद्दा समेत दायर गरेकी थिइन्।
कात्तिक १४, २०८२ शुक्रबार ०८:०८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।