बालकोटमा डढेको घर हेर्दै ओलीले भने “जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र”
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधवार अवलोकन गरेपछि उनले बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे।
‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन्। यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने।
ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदाहुँदै पनि सरकार अपराधीहरूलाई जोगाउन लागिपरेको छ। गृहमन्त्रीको अभिव्यक्तिबाट सरकारको मनसाय प्रस्ट देखिन्छ।’
उनले आन्दोलनका क्रममा अदालतका मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्ताबेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाइएको उल्लेख गर्दै यो घटनालाई ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको बताए।
उनले भने, “पटक पटक मलाई टार्गेट गरिएको नै थियो। देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन्, एमाले पार्टी कार्यालयहरू जलाइएका छन्।”
भदौ २४ गतेको आन्दोलनकोक्रममा प्रदर्शनमा सहभागी समूहले बालकोटमा रहेको उनको घरमा तोडफोड, लुटपाट गरेर पछि आगजनी गरेको थियो। घटनापछि उनको श्रीमती घर हेर्न गए पनि ओली भने पुगेका थिएनन्। उनी बुधवार बालकोट गएका हुन्।
उनले यसको तयारी पहिलेदेखि गरिएको र टार्गेटमा एमाले रहेको दाबी गरे। जेनजीका नाममा सरकारी र निजी सम्पत्ति लुटपाट र आगजनी गरिएको, अदालतमा मुद्दाका मिसिलहरू जलाइएको भन्दै उनले सिंहदरबारमा ऐतिहासिक दस्ताबेज मिसिलहरू जलाइएको बताए।
“यो नेपालका विरुद्ध भएको भयानक षडयन्त्र थियो। उद्योग व्यवसायहरूका उद्योग कलकारखानाहरू जलाइएँ। व्यवसायहरू जलाए, केवलकार जलाए, अरू विभिन्न कुराहरू जलाए। हुँदाहुँदै स्कुलहरू जलाइए” उनले भने।
उनले आफ्नै निवासको सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको दाबी गरे। ओलीले आफूलाई अझै व्यक्तिगत रूपमा लक्षित गरिन सक्ने गम्भीर आशङ्का रहेको भन्दै राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाए।
‘सरकार अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ,’ उनले भने । ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरे।
कात्तिक ५, २०८२ बुधबार १९:१६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।