साइकल यात्रा दाप्चा

साइकल यात्रा दाप्चा

‘ए दाइ, एकपटक दाप्चा जाऊँ न। खै कहिले जाने ?’ पटक–पटक मित्र गोपाल श्रेष्ठले दाप्चा जान आग्रह गरिरहे। कोभिड कहरले उनको आग्रहलाई धकेल्दै पर सार्दै लग्यो। शरद ऋतुको समय।

हरेक बिहान आकाशतिर फर्किएर हेर्दा मनमा निकै उत्साह जाग्छ। निलो, सफा आकाश, न्यानो घाम। कताको गन्तव्यतिर दौड्ने? उत्साहित नहुने को नै होला र? हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार।

चाडको बेग्लै उत्साह छाइरहेको थियो। घरबाट टाढा भएकाहरु परिवार सम्झिएर फर्कने समय। हामी भने यमपञ्चकको अघिल्लो दिन दाप्चा जाने भयौँ।

सल्लाहअनुसार भक्तपुर सल्लाघारीमा जम्मा भयौँ। यात्रा निर्धारित समयभन्दा अलि ढिलो सुरु भयो। साइकल सहयात्रीहरु गोपाल श्रेष्ठ र दीपक श्रेष्ठ पालैपालो भेला भए, निकै उत्साहका साथ। काठमाडौंलाई कार्यथलो बनाएका गोपाल दाप्चामा जन्मिएका हुन्।

दाप्चाली मित्र मनभरि आफ्नो जन्मस्थलको मायाँ बोकेर हामीलाई दाप्चा लैजान निकै उत्साहित छन्। अर्का सहयात्री दीपक श्रेष्ठ भने काठमाडौं मध्य सहरमा जन्मिएका। तर मन भने साइकलमा सधैँ हिमाल, पहाड र तराईका कुनाकन्दरामा चहार्न मन पराउने। साइकल यात्राका अति नै शौखिन।
साइकलका पाउदान मार्र्दै गफिँदै अगाडि बढ््याँै। हाम्रो गन्तव्यअनुसार भक्तपुर दरबार क्षेत्र, च्यामासिं, तौथली, नाला, बनेपा हुँदै धुलिखेल पुग्ने रुट तय भयो। सोहीअनुुसार भक्तपुर दरबार स्क्वायरतर्फ लाग्यौँ। कोभिडका कारण कतिपय ठाउँमा पर्यटकहरुलाई प्रवेश निषेध गरिएको रहेछ।

भक्तपुर दरबार क्षेत्र हुँदै च्यामासिंको गेटबाट हामी बाहिरियौं। बाटोको अवस्था अपेक्षा गरेभन्दा सधैँ फरक हुन्छ। यताबाट कम धुलो उड्ने अपेक्षा थियो तर ठीक विपरीत भयो। पुराना सम्झना र अनुभव एक आपसमा बाँड्दै हामी नाला पुग्यौँ।
नाला
च्यामासिंबाट नालाको दूरी करिब आठ किलोमिटर छ। धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुराताŒिवक तथा पर्यटकीय महŒव भएको सानो सहर हो नाला। छोटो दूरीको साइकल यात्रा गर्न नाला एक आकर्षक गन्तव्य हो।

नालासम्म साइकल यात्रा गर्न रुचाउनेहरुले फर्कँदा विभिन्न रुट चयन गरी फर्कन सकिन्छ। नालामा दुई शक्ति स्वरुप— उग्रचण्डी भगवती तथा करुणामय लोकेश्वरका मन्दिर छन्। नालाको करुणामय  श्रृष्टिकान्त लोकेश्वर मन्दिर मुख्य चार करुणामयको मन्दिरमध्ये एक हो। त्यसैगरी चार मुख्य भगवती मन्दिरमध्ये नाला उग्रचण्डी भगवती एक हो। हाम्रो गन्तव्य दाप्चा भएकोले नालामा अलमलिएनौँ।

हेल्प नेपाल नेटवर्क बालगृह
हामी धुलिखेल भएर दाप्चा जान लागेको हेल्प नेपाल नेटवर्कका अध्यक्ष दाजु अरुण सिंह बस्न्यातलाई भनेको थिएँ। अरुण दाजुले हामीलाई धुलिखेलमा खाजा खाने निमन्त्रण दिनु भयो। हेल्प नेपाल नेटवर्कले  धुलिखेलमा बालगृह सञ्चालन गरेको छ। बालगृहमा हामीलाई पूर्णबहादुर कार्की, पुण्यवती घले र तीनजना विद्यार्थी बहिनीहरुले स्वागत गर्नुभयो। खाजा खुवाउनु भयो।

बालगृहमा विभिन्न जिल्लाका २१ सिमान्तकृत परिवारका बालिकाहरु अध्ययनरत रहेछन्। सम्झनाका लागि तस्वीर खिचायौं। यहाँबाट मनास्लु, गणेश, लामटाङ, गौरीशंकर, रोल्वालिङ, नुम्बुर हिमाली शृंखलाका लस्कर देखियो। बालगृहमा पाएको अत्मीय स्वागत र त्यहाँबाट देखिने सुन्दर दृश्यले हामीलाई अझै बस्न मन थियो। परिस्थितिअनुकूल भए सिमान्तकृत बालबालिकाहरूको सहयोगार्थ केही गर्नुपर्छ भन्ने मनमा लिएर बालगृह हाताबाट बाहिरियौँ।

धुलिखेल
धुलिखेल धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण व्यापारिक सहर हो। यति मात्र नभई काभ्रेपलाञ्चोक जिल्लाकै सदरमुकाम पनि हो। कोटेश्वरबाट धुलिखेल करिब २५ किलोमिटरको दूरीमा छ।

वर्षेनी हजारांै पर्यटकले खचाखच हुने धुलिखेलमा कोभिडको कारण खासै त्यति चहलपहल थिएन। धुलिखेलको पुरानो सहर तथा आसपासका क्षेत्रमा घुम्नलायक ठाउँहरु धेरै छन्। भगवती मन्दिर, नारायण मन्दिर, सरस्वती, वाराही, गौखुरेश्वर महादेव, काली मन्दिर यहाँका प्रसिद्ध धार्मिक स्थलहरु हुन्।

धुलिखेल नगरपालिकामा खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका सिक्नुपर्ने नमुना पर्याप्त छन्। निजी क्षेत्रबाट सञ्चालित गुण्स्तरीय शैक्षिक केन्द्र काठमाडौं विश्वविद्यालय धुलिखेलमै छ। देशकै नमुना सामुदायिक अस्पताल धुलिखेल अस्पताल पनि यही धुलिखेलमै छ। फुर्सद भए धुलिखेल बजार एक फन्को मार्नु वेश।

गन्तव्यतर्फको बाटो छोट्याउन हामी आगाडि बढ्दै गयौँ धुलिखेलबाट भट्टेडाँडा हुँदै काभ्रेभञ्ज्याङतर्फ। धुलिखेलबाट भट्टे डाँडा हुँदै काभ्रेभञ्ज्याङ करिब छ किलोमिटरको दूरीमा छ। नमोःबुद्ध हुँदै दाप्चा जान यो बाटो छोटो पर्छ। हामीलाई धेरै हेर्नु छ। साइक्लिङको अरु मज्जा लिनु छ। त्यसैले हाम्रो रोजाइमा लामो बाटो प¥यो। हामी काभ्रेभञ्ज्याङबाट दायाँतर्फ लाग्यौं। यहाँबाट फस्को हुँदै ईटे पुगिन्छ।
नमोबुद्ध
दाप्चा जाँदा नमोबुद्ध बिर्सनु हुँदैन। यात्रा अपुरो हुन्छ। एकपटक पनि घुम्नु वेश। पौराणिक कालमा भोकले शिथिल भएर मर्न लागेकी बघिनीको पाँचवटा डमरु दूध चुसिरहेको देखेर राजकुमारलाई करुणा जाग्यो।

डमरु बचाउन उनले मर्न लागेको बघिनीलाई आफ्नो रगत चुसाए। शरीरको मासु खुवाए। बघिनीले खाएर बचेको हड्डी जम्मा पारेर समाधि बनाइयो। त्यसको ३,५०० वर्षपछि गौतम बुद्ध आए। उक्त ठाउँको तीनपटक परिक्रमा गरे। पहिलेको महोत्सवले पुनः अवतार लिएको ठाउँ यही भएको बताए। यो ठाउँको नाम उनै बुद्धले नमोबुद्ध राखेको विश्वास गरिन्छ। यस धार्मिक स्थलमा बौद्धमार्गीहरु तथा अन्य पर्यटकको भीड प्रायः लागिरहन्छ। नमोबुद्धबाट चारैतर्फको दृश्य अति राम्रो देखिन्छ। नमोबुद्ध बस्न चाहनेहरुका लागि खाने बस्ने ठाउँका साथै राम्रा रिसोर्टहरु पनि छन्।
ईटे, शंखु हुँदै दाप्चा
सधैँ एउटै बाटोबाट यात्रा गर्न निकै पट्यार लाग्ने हुन्छ। हामी फरक रुटबाट दाप्चा जाने भयौँ। काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने बाटोबाट दायाँतर्फबाट ईटे पुगिन्छ। कच्ची बाटो पच्छ्याउँदै हामी ईटेतर्फ लाग्यौँ। यहाँको फाँट निकै रमाइलो छ।

स्थानीयहरु धमाधम धान भिœयाउँदै थिए। ईटे पुरानो बजार हो। पहिले पूर्वका विभिन्न भेगबाट ईटे हुँदै उपत्यका भित्रन्थे। अहिले भने सुनसान छ। बजारका धेरै बासिन्दा अन्यत्र बसोबास गर्छन्। स्थानीय किसान खेतमा धान भिœयाएर आलु रोप्ने तरखरमा छन्। पाखाबारीमा सुन्तला लटरम्म फलेका छन्। शंखुबाट नमोबुद्ध हुँदै दाप्चा जाने बाटो छोटो छ। तर हामीले रोशिको किनारै किनारको बाटो भएर दाप्चा जाने बाटो रोज्यौँ।
शंखुबाट एक्ले खेततर्फ जाँदा तल खोचमा रोशी बगेको देखियो। एक्ले खेतबाट विमिरे, भालुखर्क हँुदै गहते पुग्यौँ। शंखुबाट गहतेसम्मको दूरी करिब १६ किलोमिटर छ। दुई पहाडको खोंचमा  फराकिलो बनाउँदै गरेको बाटोमा हामी तीनजनाले साइकल हुइकायौं। निकै रोमाञ्चक बाटो माउन्टेन बाइकिङका लागि। मोडबाट रोशिको सानो फराकिलो उपत्यका, बाक्लो बस्ती देखियो। दिवा खाना खाने साहित जुरेको थिएन। गहते पुगेपछि हामीले चिया विश्राम लियौँ। दीपक दाइले आकस्मिक प्रयोजनका लागि भनेर केही खानेकुरा बोकेका थिए। त्यसले अलिकति ऊर्जा दियो।गहतेमा चिया विश्रामपछि हामी दाप्चातर्फ लाग्यौं। हिउँदका छोटा दिन। उकालो बाटो जति अघि बढ्दै गयौँ साँझ पनि छिप्पिँदै गयो। नौ किलोमिटर कच्ची धुले उकालो बाटोेले निकै चुनौती दियो। भोक, प्यास र थकानसँग जुध्दै गहतेबाट नेपाने पुग्दा साँझ झमक्कै भयो। झमक्क हँुदै गर्दा उत्तरतर्फको हिमाल भने निकै चहकिलो देखियो।

नेपानेबाट केही बेरको साइकल चढाइपछि हामी दाप्चा पुग्यौँ। गहते करिब समुद्र सतहबाट १,२०० मिटरमा छ। पटक–पटक दाप्चा गए पनि यो पटकको अनुभव छुट्टै र≈यो।
पुरानो दाप्चा बजार पुगेपछि गोपाल श्रेष्ठ निकै रोमाञ्चित भए। ‘लौ दाइ दाप्चा बजार आइपुगियो।’ दाप्चामा होम स्टे सुरु हुँदै रहेछ। बसोबास ‘दाप्चा होम स्टे’ मै भयो। बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिकामा अवस्थित छ दाप्चा।

दाप्चा बजार

बिहान सबेरै होम स्टेका शिव श्रेष्ठ भाइले दाप्चा बजार वरपर घुमाए। पाको इँटाले बनेका लस्करै अग्ला घरका बीचबाट हामी अगाडि बढ्यौँ। २०७२ सालको भूकम्पले धेरै क्षति पु¥याएको छ। नेपाली वास्तुकला झल्कने संरचना थोरै भए पनि बाँकी छ। काठका बुट्टेदार झ्याल, ढोका, झिंगटीका छानो। वास्तवमा निकै सुन्दर छ पुरानो दाप्चा बजार। बजारमै कृष्ण मन्दिर छ। कृष्ण अष्टमीमा सिन्दुरे जात्रा गरी धुमधामका साथ मनाइन्छ।

पुरानो दाप्चा बजारलाई माथिल्लो हटियाको नामले पनि चिनिन्छ। बजार कटेपछि दायाँतर्फको थुम्कोमा देवीको सानो मन्दिर छ। जसलाई देवीस्थान डाँडाको नामले चिनिन्छ। मन्दिरको दक्षिणतर्फ कोत छ। कोतमा दसंैको नवमीको दिन राँगा काटेर कोत पूजा गरिन्छ। पहिले त यहाँ मेला नै लाग्थ्यो रे। यहाँ आउनेहरु समूह–समूहमा नाचगान गरेर मनोरञ्जन गर्थे रे।

बजार क्षेत्रमा गणेश, भिमसेन मन्दिर आदि मठ मन्दिर, पाटी पौवा लस्करै छन्। माथिल्लो हटिया जाने दाप्चा बजार करिब एक घण्टाको पैदल हिँडाइमा घुम्न सकन्छि। पुराना संरचना, वरिपरिका डाँडा, उपत्यका र उत्तर हिमालको दृश्य बिछट्टै राम्रो छ।

दाप्चाको नामकरण कसरी भयो भन्ने रोचक किंवदन्ती सहयात्री मित्र गोपाल श्रेष्ठले सुनाए। ‘किंवदन्ती अनुसार पूर्वतिरबाट सामानका भारी बोकेर चरंखे फेदी हुँदै उक्लिएका भरियालाई प्यास लागेछ। वेतको जरा पच्छ्याउँदै जाँदा दुईकोश पर काली कुवासम्म पुगेछन्। प्यास मेटाएर अघि लौरो काट्न झिकेको खुकुरीको दाप भेटिएन छ। दाप नभेटेपछि दाप् जा भने छन्। दाप्जाको अपभ्रंश दाप्चा भएर यो ठाउँको नाम दाप्चा रहन गयो।’
बाल्यकालका स्मरण अनुभव सुनाए। ‘पहिले–पहिले यो बजारको रौनक नै छुट्टै थियो। चौबीसै घण्टा चहल–पहल। दसैं तिहारताका त अझै रमाइलो। पूर्वी पहाड र तराईबाट राजधानी प्रवेश गर्नेहरुको लामा लस्कर यतैबाट हिँड्थे।’ सडक यातायातको विकास भएपछि भने बजार निकै सुनसान छ। प्रायः सबै बनेपा, धुलीखेल, काठमाडौंतिर बसाइ सरे। सुनसान बजारका अधिकांश ढोका बन्द छन्।  

सगरमाथा, नुम्बुर, दोर्जे लाक्पा, गौरी शंकर, लाङटाङ, गणेश, मनास्लु,  हिमालका लस्कर देखियो। पहिले घुम्न गएका बखत बादलले ओझेल पारेको हिमालतर्फ देखाउँदै ‘हिमाल खुलेको बेला फेरि आउनुपर्छ।’ भनेका थिए गोपाल श्रेष्ठले। त्यसबखत मनमनै संकल्प गरेको थिएँ एकपटक मात्र पर्याप्त छैन दाप्चा भ्रमण पटक–पटक पक्कै आउँछु। पहिले गरेको संकल्प पुनः एकपटक पूरा भयो। दाप्चा बजारको घुमफिर पछि हामी अर्को गन्तव्य काफल डाँडा साइकल यात्राको तयारीमा लाग्यौँ।

कसरी पुग्ने

कोटेश्वर, सूयविनायक, जगाते, साँगा, बनेपा पनौती, शंखु, नमोबुद्ध, स्यामपाटी हुँदै दाप्चा पुग्न सकिन्छ। अर्को बनेपा, धुलिखेल, काभ्रेभञ्ज्याङ, नमोबुद्ध हुँदै पनि जान सकिन्छ। यात्रालाई अलि रोमाञ्चक बनाउने हो भने ग्वार्खु, लुभु लामाटार, ढुगिन बसपार्क, लाकुरी भञ्ज्याङ, माने दोभान, पर्खाल चौर, पनौती बजार, नमोबुद्ध हुँदै दाप्चा बजार करिब ४६ किमी समय करिब ५ घण्टा।

दाप्चा होम स्टेमा बास बस्ने हो भने सञ्चालक शिवलाल श्रेष्ठलाई सम्पर्क गरेर जानु वेश। यहाँ प्रतिव्यक्ति सादा खानाको १७५ रुपैयाँ, कुखुरा वा बफ मासुसहितको खाना २५० रुपैयाँमा खुवाउँछन्।  एट्याच बाथरुम नभएको कोठाको भाडा एक रातको पाँच सय रुपैयाँ पर्छ।  शिवलालको सम्पर्क नं. ९८४१०४९९६९।
अर्को हप्ता काफलडाँडा साइकल यात्राको अनुभव लिएर पुनः आउँला।  
[email protected]

६ मंसिर, २०७७, १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।