चौथो अंग : अनुभवी बाहिरिँदा र ज्ञान हस्तान्तरण नहुँदा ‘डिप्रेस्ड’ बन्यो नेपाली पत्रकारिता

चौथो अंग : अनुभवी बाहिरिँदा र ज्ञान हस्तान्तरण नहुँदा ‘डिप्रेस्ड’ बन्यो नेपाली पत्रकारिता
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

दुई वटा घटनाबाट शुरू गरौँ। पहिलो, केही समयअघि सुदूरपश्चिमका पत्रकार सुरेश भुल मारिए। दोस्रो, चैत १५ गते राजसंस्था पक्षधरहरूको प्रदर्शनका क्रममा फोटो पत्रकार सुरेश रजकको निधन भयो। यी दुई घटना घटेको एक वर्ष पनि भएको छैन। दुवै पत्रकारले कामकै सिलसिलामा ज्यान गुमाए। यस्तो किन हुन्छ?

यसका पछाडि दुई मुख्य कारण देखिन्छन्। पहिलो, संविधान विरोधी प्रदर्शन हुँदा सरकार र प्रदर्शनकारीबीच के सम्म हुन सक्छ भन्ने आकलन गर्न नसक्नु। दोस्रो, सूचनालाई कसरी ह्यान्डल गर्ने भन्ने सीप पत्रकारमा नहुनु।

सुरेश रजकको सवालमा केही प्रश्न छन्। जस्तो कि, जलिरहेको घरबाट अरू सबै जना झर्दासमेत उनी किन झरेनन्? मैले उनी काम गर्ने संस्थामा बुझ्दा यस्ता घटना हुँदा कसरी काम गर्ने भन्ने विषयमा उनी अरूलाई पनि सिकाउँथे रे! अनि उनी कसरी चुके त?

सुरेश भुलको सवालमा उनी स्थानीय मिडियाहरूमा लेख्थे र सूचनाको हकका अभियन्ता थिए । प्राप्त गोप्य सूचना कसरी प्रयोग गर्ने भन्नेमा उनी चुके। उनले फेसबुकमार्फत ज्यान मार्ने धम्की आएको कुरा त सार्वजनिक गरेका थिए, तर त्यो कसैले पत्याइदिएन। उनी यसै पनि पछाडि पारिएको सुदूरपश्चिम, त्यसमाथि पनि झन पछाडि धकेलिएको दलित समुदायका समेत थिए। उनले भनेका कुरालाई गम्भीर रूपमा लिइदिने कोही भएनन्।

विकसित देशहरूमा वर्षौंको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गरिन्छ, तर नेपालमा मैले त्यसको अभाव देखेको छु। विश्वविद्यालयको ज्ञान पनि पर्याप्त छैन, अग्रजबाट पनि नयाँलाई सिकाइएको छैन।

नेपाल सशस्त्र द्वन्द्वबाट निस्केको भर्खर २० वर्ष भयो। द्वन्द्वकालमा काम गरेका थुप्रै अनुभवी पत्रकारहरू हुनुहुन्छ। तर, उहाँहरूमध्ये धेरै जना अहिले सक्रिय पत्रकारिता फिल्डमा हुनुहुन्न। अनुभवी व्यक्तिहरू समाचार कक्षमा नहुँदा पनि पत्रकारले अकालमा ज्यान गुमाएका छन्।

२० वर्षअघि अन्य पेशामा लागेकाहरू त्यही पेशामा टिकिरहेका छन्। तर पत्रकारहरू टिक्न सकेनन्, किन? नेपाली पत्रकारिताले स्वतन्त्र रूपमा काम गरेको ३० वर्षभन्दा बढी भयो, तर पनि यसले अझै अपेक्षित स्वरुप लिन सकेन। अनुभवीहरू बाहिरिए, मिडिया हाउसले तालिम दिएनन् अनि नयाँ पत्रकारलाई सूचनासँग कसरी खेल्ने, विरोध प्रदर्शन तथा द्वन्द्व भइरहेको स्थानमा कसरी रिपोर्टिङ गर्ने भन्ने ज्ञान हस्तान्तरण नै भएन। यसैको असर अहिले नेपाली पत्रकारितामा स्पष्ट देखिन्छ।

राजनीतिक पत्रकारितादेखि विशेषज्ञ पत्रकारितासम्म
अहिले पत्रकारितामा आउनेहरू व्यवस्थित रूपमा सोचविचार गरेर आउँछन्। तर मैले २०४५ सालमा शुरू गर्दा कुनै सोचविचार गरेको थिइनँ, संयोगवश यसमा आइपुगिएको हो। नेपाल भाषाको ‘विश्वभूमि’ दैनिक पत्रिकाबाट पत्रकारिता शुरू भयो। मैले नेपाली भाषामै रिपोर्टिङ् गर्थें। पछि ‘न्हुगू विश्वभूमि’ पत्रिकामा काम गरेँ। सबैले कम्पोजदेखि वितरणसम्मका काम गर्ने चलन थियो ।

त्यसपछि मिडिया परिवर्तन भइरहे। पञ्चायतको अन्त्यतिर मात्र काम थालेको हुनाले मैले केही लुकीछिपी हिँड्नु र मास एरेस्टमा पर्नुबाहेक मिडियाप्रति राज्यको निरङ्कुश व्यवहार धेरै भोग्नु परेको थिएन। राजा ज्ञानेन्द्रले ०५९ साल र ०६२ सालमा ‘कु’ लादेपछि भने त्यो भोगियो। त्यतिबेला रेडियोले समाचार भन्न नदिने उनको आदेश आयो, सेनालाई समाचार कक्षमा पठाइयो, जति बेला म समाचार पढिरहेकै थिएँ।

पत्रकारलाई सामान्य पुस्तकालय किन चाहियो भनेर सोध्ने मिडिया हाउस अझै छन्। किरिया, सुत्केरी, विवाह बिदा पनि चाहिए जति नदिने अवस्था छ। पत्रकारको जीवनस्तर नबदलिएसम्म मिडिया बलियो हुँदैन।

ज्ञानेन्द्रले शुरूमा नै मिडियामाथि आक्रमण गरेका थिए। तर त्यो उनको लागि प्रत्याघाती भइदियो। राजनीति र शासन व्यवस्था जतातिर जान्छ, त्यस देशको पत्रकारिता पनि त्यतै जान्छ। राजाकालमा जोखिम मोलेर पत्रकारहरूले काम गरे। दलहरूलाई राजाले प्रतिबन्ध लगाउँदा दलहरूले मिडियालाई ‘अर्को संसद् हो’ भनेर प्रशंसा गर्थे।

यसबीचमा आइपरेका अप्ठ्याराहरूमध्ये भूकम्प र कोभिडजस्ता घटनाले पत्रकारितालाई प्रत्यक्ष असर पार्यो। लोकतन्त्र आएपछि यी दुई घटनामध्ये कोभिडले भने पत्रकारितालाई  ‘डिप्रेस्ड’अवस्थामा पुर्याएको देखिन्छ।अहिले झन् नेपाली पत्रकारिताले गर्नुपर्ने काम निकै चुनौतीपूर्ण छ।

यद्यपि, नेपाली पत्रकारितामा धेरै राम्रा काम भएका छन्। जस्तो, पहिले म कुनै मिडियामा काम गर्दा १४ वटा बिटसम्मका समाचार लेख्थेँ। अहिले जस्तो कुनै विषयमा गहिरो सूचना र ज्ञान राख्ने फुर्सद नै हुँदैनथ्यो। तर, अहिले कुनै एक बिटमा गहिरो गरी लेख्छु भन्नलाई धेरै प्लेटफर्महरू खुलेका छन्। प्रविधिमा अहिलेका मिडिया अगाडि छन्।

तर, एउटा समस्या शुरूदेखि हालसम्म जस्ताको तस्तै रह्यो- त्यो हो पेशागत सुरक्षा। यदि अहिले काम गरिरहेका पत्रकारलाई राम्रो अवसर दिने हो भने कति जना पत्रकारितामा टिक्छन् होला? नेपाली पत्रकारिताले आचरण पालना गर्न सकेन भनिन्छ। किन त? के पत्रकारले समाचार लेखेर मात्रै जीविका चल्छ? अन्य पेशामा जस्तै सेवा सुविधा पत्रकारलाई छ त? यो विषयमा समाजले नै चासो नराखुन्जेल पत्रकारितामाथि प्रश्न उठिरहन्छ। पेशागत सुरक्षा नभएको पेशामा आचरण पालना गर्न सकिँदैन।

पत्रकारले पत्रकारिता मात्रै गरेर चिसो चुलो बाल्न नसकिने भएकोले पढाउनुपर्ने, अन्यत्र लेखन, अनुवाद, सम्पादन, मिडिया सहजीकरण जस्ता अनेक काम गरिदिनुपर्ने बाध्यता छ। शुद्ध पत्रकारिता मात्रै गर्न अहिले धेरैजसो पत्रकारले सकिरहेका छैनन्। प्रतिकूल समयमा पनि विशेषज्ञ पत्रकारितातर्फ लम्किरहेका नेपाली पत्रकारहरूको यदि पेशागत सुरक्षा हुने हो भने अहिलेभन्दा बढी खारिएका र गुणस्तरीय समाचारहरू आउँछन्।

ज्ञान हस्तान्तरणको अभाव

विकसित भनिएका मुलुकहरूसँग तुलना गर्न खोजेको त होइन, तर त्यहाँ पत्रकारिता मात्रै गरेर जीविका चलिरहेको अनि वर्षौँको आफ्नो अनुभव र ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण भइरहेको पाइन्छ । नेपालमा त्यसको अभाव छ। शुरूमै मैले भनेका दुईवटा घटना यसका ज्वलन्त उदाहरण हुन्। यो अवस्था आउनु नेपाली पत्रकारिताको दुर्भाग्य हो। पेशा सुरक्षित हुन्थ्यो भने अहिले ज्ञान हस्तान्तरणको वातावरण पनि हुन्थ्यो।

तत्कालीन विद्रोही माओवादी पक्षले मुलुकको ८० प्रतिशत भूभाग कब्जा गरेको छु भन्ने र राज्य प्रशासन सदरमुकाममा मात्रै सीमित भएको बेलामा पनि पत्रकारहरूले जोखिम मोलेर द्वन्द्वग्रस्त क्षेत्रका कथाहरू बाहिर ल्याएका थिए। तर त्यसरी काम गरेका पत्रकारहरू अहिले न्यूजरूपमा निकै कम मात्र छन् । तालिम छैनन्, विश्वविद्यालयहरूबाट व्यावहारिक ज्ञान हस्तान्तरण कम छ, न त अग्रजबाट हस्तान्तरण। मिडिया हाउसहरूले कुनै खास व्यासायिक विज्ञमार्फत पत्रकारिता सिकाएको पाइँदैन, काम गर्दै जान्दै गरेको अवस्था छ। मानव संशाधनको विकास आकाशको फल छ ।

नेपाली सम्पादकहरू खारिएका र स्रोतमा पहुँच राख्ने भइसकेका छन्, यो राम्रो पक्ष हो। तर आउने कन्टेन्ट हेर्दा उहाँहरूको सम्पादकीय स्वतन्त्रता नभएको जस्तो देखिन्छ। ‘सबैको प्रिय हुने हो भने आइसक्रिम बेच’ भन्ने उखान छ। पत्रकारिता सबैको प्रिय बन्न गर्ने पेशा होइन।

यसको परिणाम पत्रकारितामा देखिएको छ। समाजमा अहिले पनि द्वन्द्व छ, तर के हामीले त्यसलाई गहिरो गरी नियालेका छौँ त? अहिले पनि लैङ्गिकताका सवालका मुद्दाहरू छन्, भाषाका सवालहरू छन्, जात व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष भइरहेको छ। हतियार उठाउनु मात्रै द्वन्द्व हुनु होइन। अहिले भइरहेको सङ्घर्षबारे हामी मिडियाले कति गम्भीर भएर रिपोर्टिङ गरेका छौँ? पत्रकारिता भनेको सिक्ने र सिकाउने दुवै हो।

पत्रकारले आचरणमा रहेर उठाएका ‘इश्यूहरू’मा अहिले पनि उत्तिकै बहस र छलफल हुने गरेका छन् र उस्तै परे ऐन नियम नै परिवर्तन भएका छन्। तर, के हामीले भुइँ तहमै रहेर काम गर्न सकेका छौँ?

मिडिया जसले चलाइरहनु भएको छ, उहाँहरूको जीवनशैली हेर्दा मिडिया सन्तुलनमै रहेको देखिन्छ। तर पत्रिका र प्रोडक्ट हेर्दा कन्टेन्टमा लगानी भएको देखिँदैन। बासी समाचार अहिले कसैले पढ्दैन।

पत्रकारहरूले दलगत सीमित घेराबाहिर रहेर रिपोर्टिङ गर्नुपर्ने हो। तर हामी पत्रकारहरूले वडा वडा त के, प्रदेश सरकारको समेत साङ्गोपाङ्गो रिपोर्टिङ गर्न सकेका छैनौँ। पहुँचको हिसाबले धेरै विकास भएको छ। त्यो तुलनामा सामग्रीको विकास हुन सकेको देखिँदैन।

सूचनाको स्वतन्त्रता बढ्दै गयो, तर हामीले त्यसको उपयोग गर्न सकिरहेका छैनौँ। किनभने, मिडियाको कन्टेन्टमा लगानी नै भएन। कानुनी रूपमा शासन व्यवस्था फेरिएपछि सूचना त सहजै पाइएला, तर पत्रकारले सूचना मात्रै होइन, शासन व्यवस्था बदलिएपछि आम व्यक्तिको जीवनशैली बदलियो कि बदलिएन भनेर हेर्नु पनि उसको काम हो। राजाको शासन कालमा गिट्टी कुट्ने र अहिले गिट्टी कुट्नेको दैनिकीमा के फरक भयो? पत्रकारिताका ‘इश्यू’ यी पनि त हुन्।

अर्को महत्त्वपूर्ण कुरा, सामाजिक सञ्जाल र मिडियाको भेद कसरी थाहा पाउने? हामी कसरी फरक हुने हो? कन्टेन्ट त कन्टेन्ट क्रिएटरले पनि दिएका छन्। कतिपय मिडिया सोसल मिडियाले जस्तै भाषा प्रयोग गर्दै त्यस्तै कन्टेन्ट उत्पादन गर्न लहसिएका देखिन्छन्। यसरी मिडियाले आफ्नो आचारसंहिता बिर्सन मिल्दैन। अहिलेका सामाजिक सञ्जाल भनेका हिजोका चौतारी र पँधेरा हुन्। त्यहाँ सबै नराम्रा कुरा मात्रै हुन्छन् भन्ने त होइन, तर त्यही अनुकरण गरेर सामग्री उत्पादन गर्ने हो भने हामी चुक्छौँ, चुकिरहेका छौँ।

मिडिया व्यवस्थापन नसुध्रि सुखै छैन

मिडिया व्यवस्थापनमा धेरै काम हुनुपर्ने देख्छु। पुस्तकालयको माग गर्दा ‘किन चाहियो पत्रकारलाई पुस्तकालय?’ भन्ने सञ्चालकका मिडिया हाउस पनि चलिरहेकै छन्। किरिया विदा लिँदा समस्या हुने, सुत्केरी विदा लिनुअघि नै कामबाट हात धुनुपर्ने र विवाह गर्न समेत डराइडराइ विदा माग्नुपर्ने अवस्था छ।

समाचारका लागि हाम्रो देश ‘फर्टाइल’ उर्बर छ। पत्रकारको सङ्ख्याभन्दा मिडिया धेरै छन्। मिडिया मर्ज गरेर व्यवस्थितरूपबा चलाउँदा हुन्छ। मिडियामा विदेशी प्रत्यक्ष लगानी ल्याउन नदिएकोले अरू उत्पादनका तुलनामा नेपाली मिडिया उद्यमीका लागि बजार सुरक्षित छ । रिपोर्टिङ गर्न मिल्ने विषय धेरै छन्। पछिल्लो समय मिडिया हाउस र पत्रकारको सम्बन्ध झनझन कम सन्तुलित देखिँदै गएको छ। मिडिया भनेको सिर्जनात्मक सामग्री पस्किने ठाउँ हो र त्यो काम मान्छेले मात्रै गर्न सक्छ। यसमा मिडिया व्यवस्थापकहरूले ख्याल गर्नुपर्छ।

पत्रकारिता ‘प्यासन’ पनि हो। त्यसकारण रिपोर्टरमा फिल्ड जाने हुटहुटी जहिले हुनुपर्छ। यसमा हामीले अहिले सुधार गर्नुपर्ने कुरा नै यही हो।

अर्को, मिडिया साक्षरतामा पनि मिडियासँगै नागरिक समाज र विद्वत् क्षेत्रले काम गर्नुपर्छ। किनभने, मन्त्री, प्रधानमन्त्री तहमै पुगेकाहरूले समेत ‘मिडियाले नकारात्मक कुरा मात्रै लेख्छ’ भनिरहेका छन्। लोकतन्त्र र मिडियाको स्वभाव र सम्बन्ध नबुझेर वा बुझ्न नचाहेर त्यस्तो भन्ने हुन्। बदमासी भएको देखेको छ भने मिडियाले प्रश्न उठाउने हो। जनताको कर सदुपयोग नगर्नेलाई जवाफदेही बनाउनु मिडियाको धर्म हो। नबुझेकालाई यो बुझाउन मिडियाले के गर्छ, के गर्दैन भनेर मिडिया साक्षरता फैलाउनुपर्ने देखिन्छ।

अन्त्यमा, नेपाली सम्पादकहरू खारिएका पेशागत व्यक्ति बन्दै गइरहेका छन्। स्रोतमा पहुँच छ, तर आउने कन्टेन्टले सम्पादकीय स्वतन्त्रता नभएको जस्तो देखिन्छ। एउटा उखान छ, ‘सबैको प्रिय हुने हो भने आइसक्रिम बेच।’ पत्रकारिता सबैको प्रिय बन्नका लागि गरिने पेशा नै होइन।

रिपोर्टरलाई प्रविधिले धेरै सहज त बनाएको छ, तर यससँगै फिल्ड रिपोर्टिङ् मर्दै गएको देखिन्छ। साधनस्रोत नभएर पनि होला, रिपोर्टरहरू अल्झिएका छन्। एउटा उदाहरण दिन्छु, राजाका पालामा रेडियोलाई समाचार दिनबाट रोकियो । हामीले आन्दोलन गर्यौँ। यतिसम्म कि, विरोध स्वरूप टेम्पोमा माइक राखेर समाचार भन्दै हिँड्यौँ।

त्यसरी ल्याएको स्वतन्त्रताको सदुपयोग गर्नका लागि पत्रकारिता ‘प्यासन’को क्षेत्र पनि हो। त्यसकारण रिपोर्टरमा फिल्डमा जाने हुटहुटी जहिले पनि हुनुपर्छ। त्यसो भएमा एआईको चुनौतीसँग डराउनेहरूले पनि पत्रकारितामा संभावना देख्छन् । यसका लागि व्यवस्थापक र पत्रकार दुवैले अहिलेको व्यवहारमा सुधार गर्नुपर्ने देखिन्छ।

(‘विश्वभूमि’ बाट पत्रकारिता शुरु गरी ‘दृष्टि’, ‘जनआस्था’, ‘काठमाडौं टुडे’, ‘जनता’, ’प्रतिपक्ष’, ‘नेपालसमाचारपत्र’ हुँदै ‘कम्युनिकेशन कर्नर’ र ‘नेपाल एफएम नेटवर्क’ को सम्पादक तथा ‘हिमालय टेलिभिजन’को प्रधान सम्पादक भएका तथा आधा दर्जन पुस्तकका लेखक तथा सोभन्दा बढी पुस्तकका सम्पादक विनोद ढुङ्गेलसँग उकेराकर्मी प्रजु पन्तले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र ज्ञान हस्तान्तरणबारे गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला :

असार १०, २०८२ मंगलबार १४:०३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।